आजको सन्दर्भमा प्रजातान्त्रिक विचार समाज

Read Time = 14 mins

✍️ गोकर्ण अर्याल

प्रजातान्त्रिक विचार समाज मुलुकमा मानव अधिकार, कानुनी राज्य, बहुलवादमा आधारित संसदीय शासन प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा क्रियाशील भई लोकतान्त्रिक संस्कार र पद्धतिको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूको साझा मञ्चको रूपमा खडा भएको संस्था हो ।

विचार र दृष्टिकोणले मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग निकटता रहे पनि यसले पार्टीको भ्रातृ संस्थाको रूपमा नभई स्वतन्त्र तथा वैचारिक संस्थाको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । यसै कारण पनि यो सम्पूर्ण लोकतन्त्रवादीहरूको आस्थाको केन्द्रका रूपमा उभिन सफल भएको छ ।

विशेष गरेर प्रजातन्त्रको मूलभूत आदर्श र मान्यताको अभिवृद्धि गराउन, संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गर्न÷गराउन, लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संसदीय पद्धतिलाई संस्थागत गर्न र आफ्नो सैद्धान्तिक विचारसँग मेल खाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं बुद्धिजीवीसँग विचारको आदान प्रदान र पारस्परिक सहयोग उपलब्ध गराउने यस समाजको प्रमुख उद्देश्य रहेको छ । यिनै उद्देश्यका साथ २०५२ साल जेठ ३ गते विधिवत रूपमा दर्ता भएर सञ्चालनमा रहेको यस समाजका संस्थापक अध्यक्ष प्रा.स्वर्गीय वासुदेवचन्द्र (बिसी मल्ल) हुनुहुन्छ ।

कुनै राजनीतिक वादमा आधारित नभई विचार र दृष्टिकोणमा आधारित रहेर यसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यसैले पनि विभिन्न पेशा व्यवसायमा आबद्ध विचारवान व्यक्तिहरूको ठूलो जमात यस संस्थामा जोडिन पुगेको छ ।

संख्यात्मकभन्दा पनि गुणात्मकतालाई ध्यानमा राखेर अघि बढाइएको यस समाजलाई हालसम्म वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक होमनाथ दाहाल, प्रा.वसन्तकुमार गौतम, स्वर्गीय हरिबहादुर कार्की, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, डा.भरत झा, प्राडा.जीवराज पोखरेल, प्रा.चन्द्रलाल श्रेष्ठ र डा.केदारनरसिंह केसीले नेतृत्व प्रदान गरिसक्नु भएको छ भने गत जेठ ३ र ४ गते काठमाडौंमा सम्पन्न समाजको १२ औं राष्ट्रिय महाधिवेशनले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

विधानतः यस समाजको सदस्यता शिक्षण अध्यापन, पत्रकारिता, चिकित्सा, कानुन, कला र साहित्य, इन्जिनियरिङ, विज्ञान र प्रविधि, बौद्धिक परामर्श अनुसन्धान एवं यस्तै पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूलाई प्रदान गर्नसक्ने व्यवस्था छ । एक हिसाबले यस समाजलाई हाम्रा यी पेशागत संस्थाहरूको संस्थागत प्रतिनिधित्व हुने छाता संगठनको रूपमा लिएको छ । यस सन्दर्भमा यस संस्थाको नेतृत्व तहमा रहनेले यसको गरिमा र महत्व बुझेर काम गर्नुपर्ने हुन्छ । कुनै राजनीतिक वादमा आधारित नभई विचार र दृष्टिकोणमा आधारित रहेर यसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यसैले पनि विभिन्न पेशा व्यवसायमा आबद्ध विचारवान व्यक्तिहरूको ठूलो जमात यस संस्थामा जोडिन पुगेको छ ।

समाजको नेतृत्व ती संस्था र व्यक्तिमा रहेका दक्षता र क्षमताको पहिचान गरी लोकतान्त्रिक गणतन्त्रको जरा समाजको तल्लो निकायसम्म पुग्नसक्ने विभिन्न किसिमका वैचारिक बहसका कार्यक्रम सञ्चालनमा लागिपरेको छ । यस संस्थाको गतिविधिलाई अझ सशक्त र प्रभावकारी रूपमा आफ्ना विचार र दृष्टिकोण समाजको तल्लो तहसम्म पु¥याउन प्रदेश अध्यक्षमार्फत् जिल्ला शाखालाई परिचालन गरिएको छ । हाल ६५ भन्दा बढी जिल्लामा समाजको शाखाहरू क्रियाशील रहेका छन् । समाजको जिल्ला र प्रदेशहरूमा भइरहेका छलफल, बहसका कार्यक्रमले समग्र लोकतान्त्रिक विधि र प्रक्रियालाई मजबुत तुल्याउनमा केही हदसम्म सहयोग पुगेको विश्वास छ ।

समाजको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूको योगदानको कदर स्वरूप प्रत्येक वर्ष समाजको साधारणसभामा लोकतान्त्रिक योद्धा सम्मान अर्पण गरिँदै आइएको छ । २०७१ सालमा स्थापना गरिएको यो सम्मानबाट हालसम्म विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला, पुरुषोत्तम बस्नेत, नूतन थपलिया, सुश्री मैयाँदेवी श्रेष्ठ, कमल चित्रकार, होमनाथ दाहाल र डा.सुरेश मल्ल सम्मानित भइसक्नुभएको छ । यो सम्मानका लागि समाजले दश लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेको छ ।

मुलुकको यस परिस्थितिमा लोकतन्त्रको मूलभूत आदर्श र मान्यता पालना गराउनमा प्रयत्नशील तथा लोकतान्त्रिक संस्कार र पद्धतिको विकासमा झण्डै २७ वर्षदेखि वकालत गर्दै आएको प्रजातान्त्रिक विचार समाजको भूमिका अझ सशक्त र प्रभावकारी हुनु जरुरी छ । हुन त कतिपय यस्ता संस्था राजनीतिक दलका सहयोगी वा शुभेच्छुकका रूपमा काम गरिरहेका पनि छन् । यस्ता संस्थाको भूमिका र प्रभाव निश्चित राजनीतिक दलमा सीमित हुने गरेको देखिन्छ । तर सिद्धान्ततः लोकतान्त्रिक विधि र पद्धतिका पक्षमा रहेको विचार समाज कुनै पनि दलको शुभेच्छुक संस्थाको रूपमा आबद्ध नरहे पनि मुलुकको प्रजातान्त्रिक आन्दोलनको मियो बनेर रहेको नेपाली कांग्रेसको भूमिकालाई फराकिलो बनाउन सहयोग पुर्‍याउने नै हो ।

मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति कमजोर हुनु भनेको देशको समग्र अवस्था र परिस्थिति कमजोर हुनु हो । तसर्थ प्रजातान्त्रिक विचारजस्ता संस्थाको भूमिका नेपाली राजनीतिको ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई विचार र दृष्टिकोणका आधारमा त्यही रूपमा स्थापित गराउने हुनुपर्दछ ।

देशलाई विधि र पद्धति अनुरूप अगाडि बढाउने कार्यमा समाजको भूमिका पहरेदारको रूपमा रहनुपर्दछ । र, यसमा समाजका सबै निकायको सक्रियता जरुरी रहन्छ । यसका साथै समाजले बोकेको राष्ट्रिय दायित्व र महत्वलाई समाजको सबै तहको नेतृत्वले आत्मसात गरेर अगाडि बढ्ने वातावरण निर्माण गर्नुपर्दछ ।

नेपाली लोकतान्त्रिक विधि र पद्धतिमाथि कही कतैबाट अवरोध हुनथाल्यो भने त्यसका विरुद्ध सशक्त आवाज उठाउन सक्ने शक्तिका रूपमा स्थापित गराउनुपर्दछ भन्ने अवधारणा अनुरूप खडा भएको यो संस्थाले यतिबेला आफ्नो उद्देश्य र सिंगो चरित्रको विश्लेषण गर्नुपर्ने अवस्था पनि आएको छ । समाजको विकासका लागि विभिन्न वर्ग र समुदायबाट राखिने जिज्ञासा र प्रश्नले समाजको नेतृत्मा रहनेहरूलाई थप जिम्मेवार बनाइरहेको छ । निश्चय पनि विचार प्रवाह गर्ने संस्थाले निष्पक्ष र तटस्थ रूपमा विचार प्रवाह गर्नसक्यो भनेमात्र यसको सान्दर्भिकता र अर्थ रहन्छ । हुन त कतिपय संस्था किन र कुन उद्देश्यका लागि खडा भएका हुन् भन्ने सामान्य हेक्कासमेत नराखी ती संस्थाको नेतृत्वमा पुग्ने होडबाजी हुने गरेको पाइन्छ ।

देशलाई विधि र पद्धतिअनुरूप अगाडि बढाउने कार्यमा समाजको भूमिका पहरेदारको रूपमा रहनुपर्दछ । र, यसमा समाजका सबै निकायको सक्रियता जरुरी रहन्छ । यसका साथै समाजले बोकेको राष्ट्रिय दायित्व र महत्वलाई समाजको सबै तहको नेतृत्वले आत्मसात गरेर अगाडि बढ्ने वातावरण निर्माण गर्नुपर्दछ । यसको वैचारिक चिन्तनको पक्षलाई अझ फराकिलो ढंगबाट विचार विमर्श गरेर यस संस्थालाई सम्पूर्ण लोकतन्त्रवादीहरूको चिन्तनको साझा चौतारी बनाउने अभियानमा समाजका सबै सदस्यको सक्रियताको त्यत्तिकै आवश्यक पर्दछ ।

संख्यामा भन्दा पनि विचारमा आधारित संस्थाको रूपमा अघि बढाउन सकियो भनेमात्र यस संस्थाको गरिमा र महत्व बढेर जानेछ ।
वास्तवमा यतिबेला समाजको हरेक क्षेत्रमा बढेर गएको बेथितिलाई राजनीतिक तहलेमात्र सम्हाल्न सक्ने स्थिति छैन । हुन त सबैको अगुवाई गर्ने नीति भनेको राजनीति नै हो । महाजनो येन गतः स पन्था : पनि भनिएको छ । समाजको अगुवाई गर्ने व्यक्तिले जुन किसिमको आचरण व्यवहार अपनाउन छ सर्वसाधारणले पनि त्यसैको अनुशरण गर्ने हो, सिको टिप्ने हो । राजनीतिक नेतृत्वमा रहेका केही व्यक्तिका आचरण र चरित्रले सिंगो राजनीतिक प्रणालीप्रति नै औला ठड्याउने अवस्था किन आयो ? यस्ता प्रश्नको उत्तर खोज्ने आँट राजनीतिक नेतृत्वबाटै हुनुपर्दछ ।

वास्तवमा मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने सामथ्र्य राजनीतिक शक्ति र नेतृत्वमा नै रहने हुनाले राजनीतिलाई सिद्धान्त, निष्ठा र समाज सेवाको भावनाले प्रेररित तुल्याएर अगाडि बढाउने हो नागरिक स्तरबाट यस किसिमका गम्भीर प्रश्नहरू उठ्नुपर्ने अवस्था आउने पनि थिएन । यस अवस्थामा प्रजातान्त्रिक विचार समाज जस्ता संस्थाको भूमिकालाई अझ सशक्त र प्रभावकारी तुल्याउन आवश्यक छ । यस अर्थमा पनि समाजमा हुने सबै किसिमका विसंगतिविरुद्ध खबरदारी गर्दै मुलुकलाई विधि, स्थिति र पद्धतिमा अगाडि बढाउन यस्ता संस्थाको आवश्यकता र सान्दर्भिकता अझ बढेर गएको छ । (पत्रकार अर्याल प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)
aryalgokarna2017@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?