युवा उद्यमी शिखर सम्मेलन हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । युवा नवप्रवर्तन लगानी र समृद्धि भन्ने मूल नाराका साथ नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा भदौ ८ गते काठमाडौंमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करण हुने भएको हो । सो सम्बन्धी समझदारीपत्रमा बुधबार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको छ ।

युवालाई उद्यमी बन्न प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत् समृद्धि हासिल गर्न युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निर्माण एवं कार्यान्वयनका लागि सम्मेलन उपलब्धिमूलक हुने आयोजक संस्थाले जनाएको छ । सम्मेलनमा ६० जिल्लाका पाँच सय युवा उद्यमी सहभागी हुनेछन् ।

एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरेले कोरोना र पछिल्लो वित्तीय चुनौती समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवा आकर्षण बढाउन सम्मेलन गर्न लागिएको बताउनुभएको छ ।

सम्मेलनमा युवा उमेर समूहका उद्यमी बन्न चाहने युवा, उद्यम गरिरहेका युवा र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय सञ्जालीकरण हुने बताइएको छ । सम्मेलनमा युवा उद्यमशीलता विकास, प्रवद्र्धन र विस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, सफलताका कथा आदानप्रदान, समूहगत छलफल, सफल युवा उद्यमीको प्रस्तुति, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत् परामर्श, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रदर्शनी, लगानी सम्झौतालगायतका कार्यक्रम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?