बेनी–जोमसोम सडकको रुप्से झरनामा बेली व्रिज निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएपछि आज (बिहीबार) देखि नियमित यातायात संचालन भएको छ ।

उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिजआजदेखि नियमित पूर्णरुपमा सञ्चालन भएको हो ।

तीन वर्षअघि बि.स २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायाममा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुने गरेको थियो ।

बेलिब्रिज निर्माण सहित दुई सय पचास मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एक वर्षमा निर्माण सक्नेगरी गत पुसमा तीन करोड ५९ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्काको सम्झौता समय एक वर्षको भएपनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम ६ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताउनुभयो ।

बेलिब्रिज जडानको काम तीन महिनामा सम्पन्न भएको छ । पुल संरक्षणका लागि वारिपारि आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा बाढी आएपनि पुल सुरक्षित हुने आयोजना प्रमुख प्रजापतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘झरनाको वारीपारीको सडक फराकिलो बनाएर ढुङ्गाको सोलिङ गरिएको छ । अघिल्लो वर्ष जस्तो सडक हिलो र माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम कम भएको छ । अब रुप्से खण्डमा सडक सहज भएको छ ।’

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा काली गण्डकीमा पक्की मोटरेबल पुल निर्माण भएसँगै उपयोगविहीन भएको ४८ मिटर लामो बेलिब्रिजलाई रुप्सेमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । पुलमाथि गाडी गुडाएर प्रेसर (चाप) नाप्ने कामसमेत भएकाले एकपटकमा १७ टनभन्दा माथिका मालबाहक सवारीलाई भने आउजाउमा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।

बेलिब्रिज निर्माणका लागि दुबैतर्फ ग्याविक वाल र आरसीसी वाल निर्माण गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बेलिब्रिज निर्माण सकिएको छ । बर्खायाममा रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै यो समस्या हटेको छ । यातायातका साधनहरूलाई सहज हुने भएको छ ।’

पुलको भारवहन क्षमताले थेग्न सक्ने सवारी मात्रै आवतजावत गर्न मिल्ने भएकाले तोकिएको क्षमताभन्दा बढीको सवारीसाधन गुडाएमा कारवाही गरिने उनले जानकारी दिनुभयो । बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

पक्की पुल निर्माणको क्रममा रहेको रुप्सेमा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेपछि बेलिब्रिज बनाइएको थियो । गत आवमा म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने र अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ खोलामा बेलिब्रिज जडान गरिएको थियो ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।

विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?