भारतको मजबुद ब्याटिङ

Read Time = 3 mins

दिल्ली । भारतले दोस्रो टेष्ट खेलमा घरेलु टोली वेष्ट इण्डिजविरुद्ध मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको खेल सकिँदा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ८४ ओभरमा ४ विकेट गुमाउँदै २८८ रन बनाएको हो ।

भारतका विराट कोहली १६१ बलमा ८ चौकासहित ८७ रनमा हुनुहुन्छ । उहाँलाई रविन्द्र जडेजाले ८४ बलमा ४ चौकासहित ३६ रनमा साथ दिइरहनुभएको छ । ओपनर यशस्वी जैसवाल र रोहित शर्माले पहिलो विकेटका लागि १३९ रनको साझेदारी गर्दै भारतको पारी अघि बढाउनुभएको थियो । जैसवाल ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा क्याच आउट हुनुभयो ।

रोहित शर्मा १४३ बलमा ९ चौका र २ छक्कासहित ८० रनमा बोल्ड आउट हुनुभयो । शुभमन गिल १० र अजिंक्या रहाणे ८ रनमा आउट हुनुभयो । वेष्ट इण्डिजका केमार रोच, शेनोन गेब्रिएल, जोमेल वारिकन र जेसन होल्डरले समान एक विकेट लिनुभयो । दुई टेष्ट खेलको सिरिजमा भारत १-० ले अघि छ ।

यता टी-२० विश्वकपको युरोप छनोटमा टेष्ट टोली आयरल्याण्डले पहिलो खेलमा इटालीमाथि ७ रनको कठिन जित हात पारेको छ । जितका लागि १५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इटालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । ग्यारेथ बर्ग र जियान पिएरो मीडले सर्वाधिक २६ रन बनाउनुभयो । आयरल्याण्डका मार्क आदिरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिनुभयो । जोश लिटिल र बेन हृवाइटले समान दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाउनुभएको थियो । आयरल्याण्डका कर्टिस क्याम्फरले ३९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाउनुभयो । हृयारी टेक्टरले ३१ बलमा ३ चौका र २ छक्कासहित ४१, एण्डी बालबर्नी २६ र जर्ज डोकरेलले १२ रन बनाउनुभयो ।

युरोप क्वालिफायरमा जर्सी, आयरल्याण्ड, इटाली, अष्ट्रिया, डेनमार्क, जमर्नी र स्कटल्याण्ड छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?