‘राष्ट्रसेवामा अर्घाखाँची’ एउटा पठनीय पुस्तक

सुशीला घिमिरे
Read Time = 8 mins

अहिले मेरा हातमा एउटा पुस्तक छ ‘राष्ट्रसेवामा अर्घाखाँची’ शीर्षकमा । यो पुस्तक जस्तै अर्को एउटा पुस्तक पनि मलाई सँगै प्राप्त भएको थियो ‘अर्घाखाँचीका आमाहरू’ शीर्षकमा । त्यसको समीक्षा हिमालय टाइम्समा मैले नै गरिदिएकी थिएँ । यी दुवै पुस्तकको स्वरूप तथा सन्दर्भ उस्तै छ र यी दुई पुस्तक हेरिसकेपछि एउटा निष्कर्ष के निकाल्न सकिन्छ भने अर्घाखाँची जिल्लाका केही जागरुक मानिसहरूले आफ्ना जिल्लाका आमाहरू तथा राष्ट्रसेवकहरूलाई अभिलेखबद्ध गर्नलाई निकै ठूलो प्रयास गर्नुभएको छ । सबै जिल्लामा यस्ता मानिसहरू छन् तर सबैले यस प्रकारको प्रयास गर्न सकेका छैनन् । अरू जिल्लाका मानिसले पनि यस्तो प्रयास गर्नुपर्छ भन्ने सन्देश यी दुई पुस्तकको अध्ययनबाट प्राप्त गर्न सकिन्छ ।

यस पुस्तकको शीर्षक छ ‘राष्ट्रसेवामा अर्घाखाँची’ । यसलाई संस्मरण विधा भनिएको छ किनभने यहाँ उल्लेख भएका मासिहरूले आआफ्ना संस्मरणहरू आआफैंले लेखेर प्रस्तुत गर्नुभएको छ अरूले उहाँहरूका बारेमा लेखिदिएको होइन । त्यस अर्थमा यो जीवनी नभएर संस्मरण बन्न पुगेको छ । तुलसी-चन्द्र स्मृति प्रतिष्ठान गठ्ठाघर भक्तपुर यसको प्रकाशक रहेको छ । यस पुस्तकको सम्पादन समूहमा डा.युवराज पाण्डे, नारायण भट्टराई, इ.चन्द्रकान्त आचार्य र हेमराज पाण्डे रहनुभएको छ । लुम्बिनी प्रिन्टिङ सर्भिसेज प्रा.लि.मा मुद्रण भएको यो पुस्तक १००० प्रति छापिएको जानकारी यही पुस्तकमै दिइएको छ ।

यस पुस्तकमा कानुन व्यवसायी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न संघसंस्थाका उच्चपदस्थ अधिकारी, इन्जिनियरहरू, विश्वविद्यालयका प्राध्यापकहरू, राजधानीमा रहेर शिक्षणमा संलग्न जिल्लावासी, केही समाजसेवी व्यक्तिहरू तथा जिल्लाका विभिन्न मावि तथा उच्च माविहरूका शिक्षक तथा प्रधानाध्यापक यस पुस्तकका समेटिनु भएको छ ।

पुस्तकको छपाइ स्तरीय छ, स्तरीय पहेंलो तौलयुक्त कागजमा यो पुस्तक छापिएको छ । केही अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकको भूमिका खण्डमा आठ र पाठ्य खण्डमा ४७२ गरी जम्मा ४८० पृष्ठको छ यो पुस्तक । मूल्य उल्लेख भएको नपाइएको कारण यो पुस्तक बिक्रीका लागि होइन भन्ने अर्थ गर्नुपर्ने हुन्छ । यस पुस्तकको लेआउट सुजन वैरागीले तयार गर्नुभएको छ । डिएमआई साइजको यस पुस्तकको आवरण आकर्षक छ । माथि नीलो आकाश र सेतो हिमाल रहेको छ । सर्वोच्च शिखर सगरमाथा र त्यसको शिखरमा फरफराइरहेको नेपालको राष्ट्रिय झण्डा छ ।

त्यसमुनिको भाग सेतो रङमा छ र त्यसमा नेपालको नक्सा नीलो रङमा दिइएको छ । त्यहीभित्र सानो आकारमा र बाहिर ठूलो आकारमा अर्घाखाँची जिल्ला देखाइएको छ । पुस्तकको शीर्षक त्यही सेतो भागमा राता ठूला अक्षरमा ‘राष्ट्रसेवामा अर्घाखाँची भनेर राखिएको छ । यससँगै साना अक्षरमा ‘संस्मरण ग्रन्थ’ भनिएको छ । पृष्ठ आवरण सादा नीलो रङमा रहेको छ र तल थोरै भाग सेतो रङमा छ । त्यही सेतो भागमा प्रकाशक संस्था तुलसी-चन्द्र स्मृति प्रतिष्ठानको लोगोसहित नाम ठेगाना र सम्पर्क नम्बर दिइएको छ ।

पुस्तकको भूमिका खण्डमा प्रकाशकीयबाहेक अरू कुनै मन्तव्यहरू छैनन् । त्यही प्रकाशकीय पृष्ठको अन्तिममा सम्पादक मण्डलको धारणा रहेको छ र यस पुस्तकमा रहेका लेखहरूमा उल्लेख भएका विचार र धारणा लेखकहरूकै निजी विचार हुन् भनिएको छ । त्यसपछि विषयसूची रहेको छ । अर्घाखाँचीका ३१ जना राष्ट्रसेवकहरूले आ–आफ्नो योगदान, संलग्नता र अनुभव समेटी आआफैंले लेखेर प्रस्तुत गर्नुभएको छ ।
यसरी यस पुस्तकमा संलग्न हुनुभएका अर्घाखाँची जिल्लाका विभिन्न क्षेत्रका राष्ट्रसेवकहरूमा इ.चन्द्रकान्त आचार्य, विष्णुराज अर्याल, हिम्मतबहादुर टण्डन, कृष्णचन्द्र पन्थी, प्राडा. होमनाथ भट्टराई, वासुदेव मरासिनी, भरतमणि ज्ञवाली, इ.बाबुराम पोखरेल, सीता कोइराला, भट्टराई बन्धु, राजेन्द्रकुमार आचार्य, डा.युवराज पाण्डे, इ.विष्णुबहादुर सिंह, डा.दिनेश भट्टराई, शारदा बस्याल, तुलसीदास गौतम, विनोद आचार्य, डा.मुक्ति रिजाल, इ.विश्वमणि ज्ञवाली तथा डा.सुदनराज पन्थी रहनुभएको छ । यसैगरी यस पुस्तकमा समेटिनुभएका अन्य व्यक्तिमा प्रा. गुणनिधि न्यौपाने, काशीनाथ मरासिनी, डा.दामोदर ज्ञवाली, कुलराज ज्ञावली, हेमराज पाण्डे, शंकर अधिकारी, छन्दबहादुर भुसाल, डा.मुक्ति श्रेष्ठ, इ.शङ्करमणि ज्ञवाली, डा.खिमानन्द पाण्डे र डा.लोकनाथ पौडेल रहनुभएको छ ।

यस पुस्तकमा कानुन व्यवसायी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न संघसंस्थाका उच्चपदस्थ अधिकारी, इन्जिनियर, विश्वविद्यालयका प्राध्यापकहरू, राजधानीमा रहेर शिक्षणमा संलग्न जिल्लावासी, केही समाजसेवी व्यक्ति तथा जिल्लाका विभिन्न मावि तथा उच्च माविहरूका शिक्षक तथा प्रधानाध्यापकहरू समेटिनु भएको छ । यसरी यी विभिन्न व्यक्तिको संलग्नता, योगदान, अनुभव र विचार पढ्न पाइने र त्यसबाट धेरै ज्ञान प्राप्त गर्न सकिने भएका कारण पुस्तक धेरै उपयोगी छ । अर्घाखाँचीवासी लेखकहरूका साथै यसरी यो पुस्तकलाई यस रूपमा सबैसामु ल्याउन सहयोग पुर्‍याउने सम्पादकहरूको समूहलाई धन्यवाद । यस पुस्तकको सफलताको शुभकामना । उहाँहरूबाट यस्ता प्रयास फेरि फेरि पनि हुनु आवश्यक छ, हार्दिक शुभकामना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?