घरका धारामा पानी आउँदैन, कुवामा पालो पाइँदैन

वीरेन्द्रनगर ५, गणेशचोक नजिक रहेको सार्वजनिक कुवामा पानी भर्नेको भिड । तस्बिरः नन्दराम जैशी/हिटा

Read Time = 9 mins

-नन्दराम जैशी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित झण्डै ३७ हजार घरधुरीमध्ये २० हजार पाँच सय घरधुरीमा खानेपानीका धारा जडान छन् । तर यी धाराहरुमा भने नियमित पानी आउँदैन । घरमा जडान भएका धारामा हप्तौदिनसम्म पनि पानी नभएपछि यहाँका नागरिक अन्य पानीका स्रोतमा निर्भर हुनुपरेका हो ।

घरका धारामा पानी नआएपछि खानेपानीकै लागि वीरेन्द्रनगरबासी सार्वजनिक स्थलमा रहेका कुवा र खोलाको धारामा लाइनबस्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगर बजार क्षेत्रको गणेशचोक, बुलबुले, पीपीरालगायत विभिन्न टोलमा रहेका सार्वजनिक कुवाको धारामा घण्टौ लाइन बसेर खानेपानी भर्ने गर्दछन् ।

‘घरका धारामा कहिलेकाँही दुई हप्तासम्म पनि पानी आउदैन । कुवामा पालो नै पाइदैन’ वीरेन्द्रनगर ५ का माधव शाहीले भन्नुभयाे, ‘नियमित पानी नआउँदा नुवाउन, कपडा धुन त टाढाकै कुरा भयो । खाना पकाउन र सौच गर्न समेत सकस परेको छ ।’

प्रदेश राजधानीपछि अभाव चुलियो

वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै खानेपानीको अभाव चुलिदै गएको हो । २०५९ सालमा वीरेन्द्रनगरमा प्रयोगमा आएका खानेपानीका स्रोतहरुको प्राविधिक अध्ययनका अनुसार इत्राम खोला, खोर्के खोला, बुलबुले र झुप्रा खोलाबाट एक सय चार लिटर प्रतिसेकेण्ड खानेपानी ५२ हजार ६ सय २७ जनालाई पुग्ने गरी सुर्खेत उपत्यका खानेपानीको डिजाइन गरिएको थियो । उती बेला नै झुप्रा खोलाबाट प्रतिसेकेण्ड एकसय ५३ लिटर पानी ल्याउन सकिने गरी आयोजनाको डिजाइन गरियो । तर हाल झुप्रा खोलामा पर्याप्त पानी हुँदा पनि संरचनाका कारण माग अनुसारको पानी आपूर्ति भएको छैन ।

बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै वीरेन्द्रनगरमा १५ वर्षमा बृद्धि हुनेसक्ने सम्भावित एक लाख चार हजार दुई सय २९ जनसंख्यालाई पुग्ने गरी पानी वितरण गर्ने आयोजनाको लक्ष्य भएपनि २०६२ देखि २०७७ सम्म डिजाइन अवधि रहेको आयोजनाको हाल उक्त अवधि समाप्त भईसकेको छ । हाल वीरेन्द्रनगरको जनसंख्या दुई लाख बढी रहेको छ । भने पाँच लाखसम्म मानिस दैनिक बसोवास गर्ने अनुमान छ ।

उपत्यकामा बढ्दो सहरीकरणसँगै जनसंख्या बृद्धि हुँदै जादा खानेपानीको माग अनुसार आपूर्तिमा सन्तुलन कायम गर्न नसकिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा बताउँनुहुन्छ । हाल सेवा क्षेत्रभित्र बसोवास गर्ने जनसंख्या डिजाइन अवधिमा अनुमान गरिएको भन्दा झण्डै ५० प्रतिशतले बृद्धि भएकोले आयोजनाको स्तरोन्ती हुनुपर्ने भएपनि संघ, प्रदेश र वीरेन्द्रनगर नगरपालिकाले कुनै चासो नदिएको अध्यक्ष देवकोटको भनाई छ ।

२५ वर्ष पुरानो खानेपानीको स्रोतले वीरेन्द्रनगरमा माग अनुसारको खानेपानीको आपूर्ति धान्न नसक्ने भन्दै २०६८ सालबाटै आयोजनाको पुनरावलोकनका लागि आवाज उठाउँदै आएको भएपनि सरकारी तवरबाट हालसम्म कुनै सुनुवाई नभएको उहाँले पनि गुनासो गर्नुभयाे ।
हाल सञ्चालनमा रहेका खानेपानीका स्रोतबाट हिउँद र वर्षाको समयमा प्रतिदिन औषत एक करोड ३५ लाख लिटर र सुख्खा खडेरीको समयमा औषत ८६ लाख लिटर आपूर्ति हुँदै आएको अध्यक्ष देवकोटाले बताउनुभयाे । दैनिक खानेपानी सहज आपूति गर्न हिउँद र वर्षायाममा एक करोड पाँच लाख र खडेरीमा एक करोड ५४ लाख लिटर पानी अपुग हुने गरेको उहाँकाे भनाइ छ ।

उहाँकाअनुसार जलवायु परिवर्तनका कारण लामो समयसम्म वर्षा नहुँनु, पानीका स्रोतहरु दिनानुदिन सुक्दै जानु, बाढीपहिरोलगायतका समस्याले खानेपानी अभाव बढेको हो । वीरेन्द्रनगरको दीर्घकालिन खानेपानीको समस्या समाधानका लागि भेरी लिफ्ट खानेपानी आयोजनालाई यथासिघ्र अगाडि बढाउनु पर्ने र हालको सुर्खेत उपत्यकामा वितरण हुँदै आएको आयोजनाको स्तरोन्ती गरिनुपर्नेमा उहाँले जोड दिनुभयाे ।

दैनिक दुई करोड लिटर पानी अभाव

वीरेन्द्रनगरमा हाल दैनिक दुई करोड ५२ लाख लिटर पिउने पानीको अभाव हुँदै आएको छ । दैनिक तीन सय ४७ लिटर प्रतिसेकण्ड अर्थात तीन करोड लिटर पानीको माग हुँदा हाल प्रतिसेकेण्ड ७० लिटर पानी मात्रै आपुर्ति हुने गरेको छ ।

खडेरी बाहेक अन्य समयमा दैनिक सरदर एक सय १६ लिटरप्रति सेकेण्ड पानी वितरण हुँदै आएकोमा हाल खडेरी र पहिरोका कारण प्रशारण लाइनमा क्षति पुग्दा दैनिक ७० लिटर प्रतिसेकण्ड अर्थात ६० लाख ४८ हजार लिटर पानी आपूर्ति हुँदै आएको छ ।

उपत्यकामा खानेपानी वितरणको जिम्मा पाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जेष्ठ २५ गतेसम्म दैनिक ६८ लिटर प्रतिसेकेण्ड अर्थात ५८ लाख ७५ हजार दुई सय लिटर पानी वितरण गर्दै आएको थियो । असार १२ गते राति परेको वर्षाका कारण आएको बाढीले प्रशारण लाइनमा क्षति पुर्‍याएपछि झण्डै दुई साता बन्द भएको पानीको आपूर्ति बुधबारको पहिरोले सोही ठाउँमा पुनः क्षति पुर्‍याएपछि वीरेन्द्रनगरका प्राय क्षेत्रहरुमा खानेपानी वितरण रोकिएको छ ।

बुधबार आएको बाढीले वीरेन्द्रनगरमा आपूर्ति हुने खानेपानीको मुख्य स्रोत झुप्रा खोला प्रशारण लाइनमा क्षति पुर्‍याएपछि खानेपानीको समस्या झनै चुलिएको हो । बाढीले प्रशारण लाइनको झण्डै ३० मिटर पाइप बगाएपछि खानेपानी वितरणमा समस्या आएको छ । क्षति पुगेको प्रशारण लाईन बनाउँन कम्तिमा १० दिन लाग्ने देखिन्छ ।

बुधबार यता झुप्रा खोलाको पानी पूर्णरुपमा बन्द भएको छ भने, खुर्सानी बारी बैकल्पिक स्रोतबाट २० लिटर, खरीबोरी खोला ३० लिटर, इत्राम खोला १५ लिटर र खोर्के खोलाबाट दैनिक पाँच लिटर गरीप्रति सेकण्ड ७० लिटर पानी आपूर्ति हुँदै आएको संस्थाले जनाएको छ ।

वीरेन्द्रनगर क्षेत्रको माग अनुसार यो संख्या निकै कम हो । पानीको अभाव भएपछि समानुपातिक तवरले वितरण गर्न संस्थाले अहिले पानी वितरणका लागि निश्चित समय निर्धारण गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?