कांग्रेस बैठकमा नेताहरू एजेण्डाभन्दा आरोप-प्रत्यारोपमा केन्द्रित

अपेक्षाविपरीत सभापतिको प्रशंसा, महामन्त्रीद्वयको आलोचना

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नेपाली कांग्रेसको गत मंगलबारदेखि सुरु केन्द्रीय समितिको बैठक आज(आइतबार) पुनः बस्दै छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ । पार्टी सभापति शेरबहादुर देउवाकै प्रस्तावमा पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले छलफलका लागि १० वटा एजेण्डा प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये एउटा सांगठनिक कार्ययोजना र कार्यतालिकामा अर्का महामन्त्री गगनकुमार थापाले एकवर्षे कार्यतालिका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । महामन्त्री शर्मासँग मिलेर प्रस्ताव गरिएको वार्षिक क्यालेण्डरले पार्टीलाई ऊर्जा प्रदान गर्ने महामन्त्री थापाले तर्क गर्नुभएको थियो । महामन्त्रीद्वयको प्रस्ताव सभापति देउवाको मनमौजी बाँध्ने अस्त्रको रूपमा व्याख्या गरिएको थियो । किनकि महामन्त्रीद्वयले तयार पारेको सांगठनिक कार्ययोजना र कार्यतालिकाअनुसार चल्दा केन्द्रदेखि, तल्लो समिति, भ्रातृ तथा शुभेच्छुक संगठनसमेत विधानमा बाँधिनेछ ।

पार्टीका केन्द्रीय नेताहरू वर्ष दिनमा ११ महिना व्यस्त हुनेछन्, कांग्रेस पंक्ति चलायमान रहेछन् । निरन्तर जनतासँग जोडिनेछ । यसबाहेक पार्टी विधानले प्रष्ट व्यवस्था गरेको र कांग्रेस नेतृत्वले गर्न नसकिरहेको क्षेत्रलाई पनि प्रस्तावमा उल्लेख गरिएको छ । जसअनुसार, १५ भदौभित्र विभागको गठनलाई पूर्णता दिइसक्नु पर्नेछ । १५ भदौभित्रै सबै भ्रातृ संस्थालाई पूर्णता दिने र ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरिएको छ ।

महामन्त्रीद्वयले अघि सारेको सांगठनिक कार्ययोजना र कार्यतालिकाले कांग्रेसमा सभापति देउवा भने दबाबमा पर्ने विश्वास गरिएको थियो । अझ क्रियाशील सदस्यता वितरणदेखि कार्यालय सञ्चालनको निर्णय पनि केन्द्रीय समिति बैठकले गर्ने गरी ल्याइएको प्रस्तावले सभापतिको मनमौजी चल्दै आएको कांग्रेसभित्र हलचल देखिने पक्काजस्तै थियो । तर, जारी बैठकमा पार्टीमा रूपान्तरण अभियान चलाएका संस्थापन इतरका नेताहरूले नेतृत्व परिवर्तनको मुद्दा र महामन्त्री गगनकुमार थापाले सार्वजनिक मञ्चहरूबाट लगातार संसदीय दलको नेताबाट समेत हटाउने प्रयास गर्ने अभिव्यक्तिले महामन्त्रीद्वयलाई ‘ब्याक फायर’ जस्तै भएको छ । यी दुई विषयका कारण बैठकमा अधिकांश सदस्यले सभापति र महामन्त्रीको कार्यशैलीलाई लिएर गुटगत पक्षपोषण र आरोप÷प्रत्यारोपमा समय खर्चिएका छन् । पाइलैपिच्छे नेतृत्वको कमजोरी औँल्याएका सदस्यहरूले समेत पार्टीको भावी रणनीति र कार्यदिशाबारे सिर्जनात्मक प्रस्ताव र सुझाव राख्न सकेका छैनन् ।

संस्थापन पक्षका अधिकांश नेताहरूले सभापति देउवाको नेतृत्वमा स्थानीय तहदेखि केन्द्रसम्म पार्टी विजयी भएको, गुमिसकेको सत्ता फर्काएको र पार्टीमा सबैलाई समेटेर लैजान सकेको भन्दै प्रशंसा गरेका छन् । त्यस्तै, महामन्त्रीद्वय थापा र शर्मासहित युवा नेताले सामाजिक सञ्जालमार्फत पार्टी सभापतिका विषयमा जथाभावी बोलेर सभापतिलाई मात्र नभएर पार्टीलाई नै कमजोर बनाउन भूमिका खेलेको उनीहरूले आरोप लगाएका छन् । रूपान्तरण अभियान र संसदीय दलको नेता बदल्ने विषयले बैठकमा तय गरिएका एजेण्डा ओझेलमा परेका छन् । अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको प्रशंसा गर्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका छन् । केन्द्रीय सदस्य तथा पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभापति देउवा र गठबन्धनका कारण कांग्रेस पहिलो दल भएको दाबी गर्दै भन्नुभयो, ‘एउटा ठूलो उपलब्धि गरेका छौँ । नेपाली कांग्रेस तीन तहको सरकारमा सबैभन्दा ठूलो पार्टी भएको छ । यो गठबन्धनको राजनीतिक नेतृत्व कांग्रेसले गरेको छ । यो गठबन्धनको स्थिरता र स्थायित्वका लागि के निर्णय गर्छौं, त्यसले पनि ठूलो अर्थ राख्छ ।’

संस्थापन इतरका केन्द्रीय सदस्य बलबहादुर केसीले जारी बैठकबाट सभापति र महामन्त्रीबीच द्वन्द्व बढाउने काम भएको टिप्पणी गर्दै भन्नुभयो, ‘यो बैठकको सन्देश राम्रो गएको छैन । सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो । ठिक ढंगले भएन । हिजो हामी जुन टिमबाट लडे पनि आजको बहसमा हेर्नुपर्दा महामन्त्री एउटा क्याम्पमा, सभापति एउटा क्याम्पमा जस्तो देखिन्छ । हाम्रो एजेण्डा यही हो ?’
केन्द्रीय समितिमा हाल रहेका १५७ सदस्यमध्ये शुक्रबारसम्म करिब ११४ जना सदस्यले धारणा राखिसकेका छन् । प्रभावशाली सदस्यहरू नै नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका नेता बालकृष्ण खाँणको बचाउमा उत्रिएका छन् । नेता गोपालमान श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भ्रष्टाचार मुद्दामा पक्राउ गर्नुपूर्व नै पार्टीले जोगाउन नसकेकामा प्रश्न गर्नुभयो । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, लक्ष्मी खतिवडा लगायतले आफ्नै साथीलाई पक्राउ गर्दा केही नेताहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन गएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य विश्वकर्माले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका खाँण कांग्रेसको सदस्य भएको हिसाबले उनको पक्षमा वकालत र संरक्षण गर्नुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘तपाईंको परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने संरक्षण दिनुहुन्छ कि घरबाट निकालेर लखेट्नुहुन्छ’ ? अहिले खाँणको विषयमा कांग्रेसले गर्ने त्यही हो । कांग्रेस एउटा परिवार हो । अनि आफ्नो सदस्यलाई कुनै अभियोग लाग्यो भनेर छुटकारा दिलाउन सहयोग गर्ने कि गृहमन्त्रीकहाँ डेलिगेसन जाने ?’

अपेक्षाविपरीत संस्थापनइतर पक्षका नेताहरूले भने सार्वजनिक रूपमा धारणा राखेजसरी केन्द्रीय समिति बैठकमा सभापति देउवाको कार्यशैलीको आलोचना र पूर्वगृहमन्त्री खाँणलाई निलम्बनको विषय उठाउन सकेका छैनन् । महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाँणको निलम्बनको विषय उठाए पनि बैठकको ध्यानाकर्षणको विषय हुन सकेन । केन्द्रीय सदस्य प्रदीप पौडेलले गणतन्त्र स्थापनापछिका सबै भ्रष्टाचारका काण्डमा कांग्रेसले नेतृत्व गरेर निष्पक्ष छानविनका लागि पहल लिनुपर्ने प्रस्ताव गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले सत्तामा छ, काम गर्ने ठाउँमा छ । काम गर्ने बेला काम गर्ने हो । राम्रो गर्‍यो भने चार वर्षपछिको चुनावमा जनताले आफैँ जानेर बहुमत दिन्छन्, अहिलेदेखि छलफल गर्नै पर्दैन ।’ केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेस गरेको प्रतिवेदन एनजिओको ‘विसलिष्ट’ जस्तो रहेको टिप्पणी गर्नुभयो । केन्द्रीय सदस्य शंकर भण्डारीले आशा गरिएका महामन्त्रीहरूबाट पनि काम हुन नसकेको आरोप लगाउनुभयो ।

नेतृत्व विधानअनुसार चल्न नसकेको भन्दै आरोप लगाउने नेताहरू नै विधानमै व्यवस्था नभएको वरिष्ठ नेता तोक्न सभापति देउवालाई दिइरहेको दबाब पनि जारी केन्द्रीय समितिको बैठकको एजेण्डा विपरीतको विषय हो । संस्थापन पक्षले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन दबाब दिइरहेको छ । सभापति देउवाले विधान मिचेको आरोप लगाउँदै निरन्तर नेतृत्वविरुद्ध घेराबन्दी गरिरहेको संस्थापनइतर पक्षसमेत डा.शेखर कोइरालालाई विधानले नै नचिन्ने वरिष्ठ नेता बनाउन दबाब दिइरहेको छ । प्रत्यक्ष प्रसारण गरेर चर्चाको शिखरमा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति जारी बैठक सभापति भर्सेस महामन्त्रीद्वय भएको देखिन्छ । संस्थापन पक्ष सभापति शेरबहादुर देउवालाई जोगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचनामा उत्रिएका छन् । संस्थापनइतर पक्ष सभापतिको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ । जारी बैठक पनि एजेण्डा केन्द्रितभन्दा पनि नेताहरू स्पष्ट गुटगत रूपमै आरोप-प्रत्यारोपमा व्यस्त छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?