समृद्धिको एउटा भरपर्दो आधार

रत्न प्रजापति
Read Time = 16 mins

विश्वलाई रोमाञ्चित पार्ने प्राकृतिक सम्पदा, मौलिकतायुक्त धार्मिक तथा सांस्कृतिक परम्परा तथा सामाजिक जीवनशैलीले नेपालले विश्वभरिका पर्यटकहरूलाई प्रभावित र आकर्षित गर्दै आएको कुरामा कुनै सन्देह राख्नुपर्दैन । यात्रा, भ्रमण, मनोरञ्जनलगायत व्यावसायिक उद्देश्यले नेपालको भ्रमण गर्न विश्वभरिका पर्यटकहरू आकर्षित हुँदै आएको सन्दर्भमा पर्यटनको समुचित विकासका लागि सरकारले चाल्ने उपयुक्त कदमले नेपालमा पर्यटक आगमनमा थप वृद्धि हुने अपेक्षा गर्नु सान्दर्भिक नै हुनेछ ।

पर्यटनलाई सामान्य व्यवसायमा मात्रै सीमित नराखी यसलाई उद्योगकै रूपमा विकास गर्ने नीति र रणनीति अपनाएर अघि बढ्ने हो भने यसले मुलुकको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान गर्ने निश्चित छ । अरू सबै प्रकारका उद्योगले वातावरणमा कुनै न कुनै रूपमा असर गर्ने भए तापनि पर्यटन उद्योगले यस्तो कुनै नकारात्मक असर नपार्ने हुँदा पर्यटनलाई वातावरणमैत्री उद्योगको रूपमा लिन सकिन्छ । वातावरणमा कुनै असर नपर्ने हुँदा पर्यटन उद्योगलाई तुलनात्मक लागत र असरका दृष्टिकोणले समेत उपयोगी मान्न सकिन्छ । त्यसैले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान गर्नसक्ने प्रचुर सम्भावना बोकेको पर्यटनको विकासमा राज्यले प्रभावकारी नीति तथा रणनीति बनाई त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु अत्यन्तै आवश्यक देखिएको छ ।

गुणस्तरीय सेवा प्रदान गरी थप गुणस्तरीय पर्यटकलाई आकर्षित गर्न सकिए अर्थतन्त्रमा थप टेवा पुग्ने अपेक्षा पनि गर्न सकिन्छ । यस मामिलामा राज्य र निजी क्षेत्र सजग हुँदाहुँदै पनि कहिलेकाहीं प्राकृतिक, राजनीतिक र सामाजिक कारणले पर्यटन क्षेत्र प्रभावित हुँदै आएको छ ।

यद्यपि पर्यटन निकै संवेदनशील क्षेत्र हो । कुनै पनि सामाजिक तथा राजनीतिक घटनाहरूको असर यो क्षेत्रमा तुरुन्तै पर्ने हुँदा यसप्रति सजगता र संवेदनाशीलताको खाँचो पर्छ । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्रको रूपमा रहेको र अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभसमेत रहेको यथार्थलाई नेपालको सोह्रौं योजनाले पनि स्वीकारेको छ । खासगरी हिमाली प्राकृतिक सुन्दरता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक सांस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् ।

यी स्थल र सम्पदाको संरक्षण, प्रवद्र्धन र विविधीकरण गर्दै पर्यटकीयस्थलको रूपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा यस क्षेत्रलाई विकसित गर्ने नीति नेपालको संविधानले नै अंगीकार गरेको छ । नेपालको संविधान २०७२ को धारा ५१ मा ‘राज्यका नीतिहरू’अन्तर्गत बुँदा (ठ) मा ‘नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत् राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रूपमा पर्यावरणानुकुल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकतामा राख्ने’ उल्लेख गरिएको छ ।

विगतमा पर्यटन नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पनि बनेको थियो । तर अहिले विदेशी मुद्रा आर्जनमा पर्यटनलाई वैदेशिक रोजगारीले सजिलै उछिनेको अवस्था छ । पर्यटनबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पर्नसक्ने सकारात्मक प्रभावलाई दृष्टिगत गर्दै पर्यटनको विकासमा सरकारी तथा निजी क्षेत्रबाट चासो व्यक्त हुनथालेपछि पर्यटनसेवामा प्रतिबद्ध संघसंस्थाहरूको संख्यामा समेत वृद्धि भएको छ । यद्यपि पर्यटनसेवामा अपेक्षित गुणस्तरीय सुधार आउन नसकेको गुनासोप्रति राज्य तथा निजी क्षेत्रले पनि थप गम्भीरता र जिम्मेवारीबोध गर्नु आवश्यक देखिएको छ । गुणस्तरीय सेवा प्रदान गरी थप गुणस्तरीय पर्यटकलाई आकर्षित गर्न सकिए अर्थतन्त्रमा थप टेवा पुग्ने अपेक्षा पनि गर्न सकिन्छ । यस मामिलामा राज्य र निजी क्षेत्र सजग हुँदाहुँदै पनि कहिलेकाहीं प्राकृतिक, राजनीतिक र सामाजिक कारणले पर्यटन क्षेत्र प्रभावित हुँदै आएको छ ।

दश वर्षे सशस्त्र युद्धका बेला सुरक्षाको विषयलाई कारण बनाएर विश्वभरिका पर्यटकहरूले नेपाललाई आफ्नो गन्तव्यको सूचीबाट हटाए । फष्टाउँदै गरेको पर्यटन क्षेत्रमा गतिरोध उत्पन्न भयो । असुरक्षा नै पर्यटन क्षेत्रको मुख्य चुनौतीको रूपमा रहृयो । समय-समयमा हुने राजनीतिक र सामाजिक आन्दोलनले पर्यटन क्षेत्र कमबेसी प्रभावित हुँदै आयो । २०७२ सालको विनाशकारी भूकम्पपछि पुनः नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुनपुग्यो । पर्यटकहरूको मुख्य उद्गमस्थल मानिने विभिन्न मुलुकले नेपाल भ्रमण जोखिमपूर्ण भएको भन्दै तत्कालका लागि नेपाल भ्रमण नगर्न सूचना जारी गरेपछि नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्यामा अप्रत्याशितरूपमा कमी आयो ।

त्यसपछि पुनः तराईमधेसमा सुरु भएको आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण नेपाल भ्रमण असहज हुने भन्दै केही मुलुकहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सूचना जारी गरे । जसले गर्दा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आयो । यसरी पर्यटक आगमनमा आएको उल्लेख्य कमीले नेपालको अर्थतन्त्र पनि प्रभावित भयो ।

भूकम्पले काठमाडौं उपत्यकाका पूरातात्विक सम्पदामा ठूलो क्षति पुगेको र ऐतिहासिक धरोहरको रूपमा रहेको धरहरा नै ढलेपछि नेपालमा पर्यटकीय आकर्षण नै समाप्त भएको भन्दै नेपालको पर्यटन क्षेत्र दीर्घकालसम्म थला पर्ने आशंका पनि गरिएको थियो । तर नेपालको पर्यटन त्यही एउटा धरहरा र काठमाडौं उपत्यकाको पूरातात्विक सम्पदाले मात्रै धानेको पक्कै होइन भन्ने तथ्य विस्तारै उजागर हुन थाल्यो । तत्काल घटेको पर्यटक आगमनमा क्रमशः सुधार आउन थाल्यो ।

पर्यटकीय गतिविधिले पनि क्रमशः गति लिन थाल्यो । निरन्तरको राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प र झण्डै पाँच महिना लामो भारतीय नाकाबन्दीपछि निकै धर्मराएको र निकै ठूलो प्रयत्नपछि गति लिन थालेको पर्यटन क्षेत्र सन् २०१९ मा सुरु भएको विश्वव्यापी कोरोना महामारीले फेरि थला पर्‍यो । परिणामतः सन् २०१९ मा कुल पर्यटक आगमन संख्या ११ लाख ९७ हजार १९१ रहेकोमा सन् २०२० मा २ लाख ३० हजार ८५ मा सीमित हुन पुग्यो । पर्यटक आगमनमा आएको अप्रत्याशित गिरावटले पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि उल्लेख्यरूपमा घट्यो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुकको पर्यटन नीति र रणनीतिसँग पनि समन्वय गर्दै सहकार्य गर्नु आवश्यक छ । विशेषगरी पर्यटन क्षेत्रमा उल्लेख्य विकास गरेको छिमेकी मुलुक चीन र भारतसँग पर्यटनमा सहकार्य गर्न सकियो भने नेपालको पर्यटन विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

जसअनुसार सन् २०२०/०२१ मा पर्यटन क्षेत्रबाट कुल ६ करोड १६ लाख अमेरिकी डलरमात्रै आम्दानी हुनसक्यो । यद्यपि कोरोना महामारी मत्थर हुँदै गएसँगै पर्यटक आगमनमा सुधार आएको छ र यसबाट हुने आम्दानीमा पनि वृद्धि हुन थालेको छ । जसअनुसार सन् २०२२ मा कुल पर्यटक आगमन संख्या ६ लाख १४ हजार ८६९ पुगेको छ भने यसबाट हुने आम्दानी कुल २४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ ।

राजनीतिक अस्थिरता, भूकम्प, नाकाबन्दी र कोरोना महामारीले धर्मराएको पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न राज्य तथा निजी क्षेत्रले पनि सुधारात्मक कार्य गर्दै दीर्घकालीन नीति तथा रणनीतिहरू पनि अंगीकार गर्दै जानु आवश्यक छ । यसै सन्दर्भमा सरकारले ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ नामक दश वर्षे योजना तर्जुमा गरेको छ । दश वर्ष वर्षमा २५ लाख २२ हजार पर्यटक भित्र्याई पर्यटन क्षेत्रबाट ३ खर्ब ४० अर्ब रुपैयाँआम्दानी गर्ने लक्ष्यसहितको यो रणनीति केही महत्वाकांक्षी देखिए तापनि प्रभावकारी कार्यान्वयन हुनसके यो लक्ष्य असम्भव पनि छैन । द्रुत आर्थिक विकास तथा रोजगारी सिर्जना गरी नेपालको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नमा पर्यटन क्षेत्र एक बलियो आधारशीला भएको रणनीतिमा उल्लेख गरिएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुकको पर्यटन नीति र रणनीतिसँग पनि समन्वय गर्दै सहकार्य गर्नु आवश्यक छ । विशेषगरी पर्यटन क्षेत्रमा उल्लेख्य विकास गरेको छिमेकी मुलुक चीन र भारतसँग पर्यटनमा सहकार्य गर्न सकियो भने नेपालको पर्यटन विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । वास्तवमा नेपाल-चीन र नेपाल-भारत सीमासम्म आएका विदेशी पर्यटकहरू नेपाल प्रवेश नगरी फर्कनु नेपालको दुर्भाग्य हो । नेपालको सीमासम्म आइसकेका विदेशी पर्यटकहरूलाई नेपालको प्राकृतिक सौन्दर्य र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको अवलोकनबाट लाभान्वित हुने अवसर प्रदान गर्न र नेपालको पर्यटन विकासमा ठोस योगदान गर्न नेपालका पर्यटनकर्मीले चीन तथा भारतका पर्यटनकर्मीसँग साझेदारी, समन्वय र सहकार्य गर्नैपर्ने आवश्यकता विगतदेखि नै खट्किँदै आएको छ ।

चीन सरकारसँगको कूटनीतिक सहयोग तथा समन्वय र त्यहाँका पर्यटन व्यवसायीसँगको साझेदारी, समन्वय तथा सहकार्यमा चीन भ्रमणमा आउने ३ करोडभन्दा बढी विदेशी पर्यटकमध्ये करिब १.० प्रतिशतलाई मात्रै नेपाल भ्रमणका लागि सफल प्रयत्न गर्न सकियो भने चीनको बाटो हुँदै झण्डै ३ लाख थप विदेशी पर्यटक नेपाल आउनेछन् । यसैगरी भारतसँग पनि त्यस्तै पहल गर्न सकियो भने त्यहाँ आउने झण्डै ६२ लाख (सन् २०२२) विदेशी पर्यटकमध्ये १.० प्रतिशतलाई मात्रै नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन सकियो भने झण्डै ६२ हजार थप विदेशी पर्यटक नेपाल आउनेछन् । यो हिसाबले हेर्ने हो भने सिधै तेस्रो मुलुकमा नेपालको पर्यटन प्रवद्र्धनका लागि गरिने प्रचारप्रसारभन्दा निकै सहज हुने र सस्तो पर्ने देखिन्छ ।

मौजुदा पर्यटक आगमनमा थप ४ लाख पर्यटकहरूको आगमन गराउन चीन तथा भारत सरकारसँग थोरै कूटनीतिक पहल र व्यावसायिक साझेदारी, समन्वय तथा सहकार्य गरे पुग्ने देखिन्छ । यसबाट हुने उपलब्धिबाट नेपालको अर्थव्यवस्थामा निकै ठूलो योगदान पुग्ने देखिन्छ । नेपालमा पर्यटनको दिगो विकासका लागि भरपर्दा आधारहरू प्रशस्त छन् भने नेपालको आर्थिक समृद्धिको एउटा भरपर्दो आधारको रूपमा पर्यटनलाई नै लिन सकिन्छ । यी आधारहरूलाई अझ बलियो बनाउन राज्य र निजी क्षेत्रले पनि समन्वयात्मक पहल गर्नुपर्छ । यसबाट नेपालको अर्थतन्त्र सुदृढ बनाउन उल्लेख्य योगदान पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?