लोकगायक लोकनाथ सापकोटा : संगीत शिक्षकका रूपमा बदलिएको यात्रा

हिमालय टाइम्स
Read Time = 19 mins
A A- A+

-युवराज पौडेल

स्याङ्जा जिल्लाको आँधीखोला र सेतीखोलाको दोभान वरिपरिको सुरम्य वातावरण, वरिपरि हरिया जंगलहरू, नजिकै ठूलीबेंसी र टिकाजाको फाँट अनि असंख्य भञ्ज्याङ र चौतारीहरूमा सुसाउने चिसो बतासका बीचमा लोकनाथ सानैबाट गीत गुनगुनाउने भएका थिए । उनलाई सानैमा बाँसुरी बजाउने सोख थियो । गाईबाख्रा हेर्दा वा गोठालो जाँदा वनपाखा र बस्तीमा उनको बाल्यकालीन बाँसुरी धुनले बस्तीलाई जगाउँथ्यो ।

हुन पनि वास्तवमा त्यो पहाडी चिसो खर्सुको हावाले वरिपरिका रूखका पातहरू बयेली खेलिरहेको शरद ऋतुको रातमा उनी एक्लै गुनगुनाउँथे । जन्मस्थलको प्रकृति उनको संगीत प्रतिभाका लागि अनुकूल थियो । उनको गाउँ देउराली आफैँमा लोकभाकाहरू घन्किरहने अपरिचित लोकसर्जकको सम्पन्न थलो हो, जहाँका लोकपारखी नामका लागि नभएर रमाइलोका लागि र संस्कृतिका लागि मादलको घिन्ताङलाई प्रेम गर्छन् । जहाँका युवाहरू आधुनिक शिक्षा लिएर पनि रातभरि दोहोरी परम्परामा रम्न सक्छन् ।

यसरी मादल बजाउने, गीत गाउने, दोहोरी बस्ने संस्कृतिभित्र सापकोटाको बाल्यकाल बितेको थियो, जहाँबाट उनले गीत संगीतको ‘कखरा’ सिक्दै थिए । उनका लागि कुनै प्रशिक्षण स्कुल थिएन बरु सिंगो प्रकृति नै उनका लागि पाठशाला थियो । ती तरेली परेका फाँटहरू, टारीहरू, वर्षा याममा संसार थर्काउने जस्तो गरी बर्सिने त्यो पातीखोलाको लयात्मक संगीत, ती खर्सु र ढाँडीखेतका दृश्यहरू अनि सुन्दर आँधीखोलाको सुसाहट उनका लागि संगीतका प्राकृतिक गुरू थिए ।

उनले सयौं गीतमा आवाज दिएका छन्, सयौं गीतमा शब्द रचना गरेका छन्, थुप्रै गीतमा संगीत भरेका छन् । आधा दर्जन चर्चित नेपाली सिनेमामा संगीत निर्देशनको काम पनि गरेका छन् ।

गाउँघरमा प्रायः सबै उस्तै थिए । कोही जागिरेको घरमा आर्थिक रूपमा जीवन निर्वाह अलि सहज होला नत्र भने जागिर नभएका घरमा भनौं वा नगद कमाइ नहुनेका घरमा दैनिक हातमुख जोर्न नै समस्या हुन्थ्यो । लोकनाथ पनि सामान्य परिवारमै जन्मे । उनका घरमा बाबुको कुनै रोजगार थिएन । दाजुभाइ पनि जेनतेन निर्वाह गरिरहेका थिए । उनी पढ्दापढ्दै रहरले वा बाध्यताले भनौ सानै उमेरमा मुग्लान भासिए । लहडबाजीमा गए पनि पुनः घर सम्झेर फिर्ता भए । उनले पुनः पढाइलाई निरन्तरता दिए ।

लोकनाथ राष्ट्रिय रूपमा पनि चर्चामा आइसकेका लोक सर्जक हुन् । गीत संगीतमा उनले थोरै समयमै एक खालको प्रभाव जमाउन सफल भए । विसं २०५८ बाट गायन यात्रा प्रारम्भ गरेका सापकोटाको मूल क्षेत्र लोकगीत नै हो । सानैबाट उनको रुचि पनि यसमै थियो तर यति भएर पनि गजल, कविता, गीत रचना, संगीत रचना तथा संगीत निर्देशनको काम गर्न सक्ने बहुआयामिक व्यक्तित्वका रूपमा उनले आफूलाई चिनाउँदै गए ।

उनले सयौं गीतमा आवाज दिएका छन्, सयौं गीतमा शब्द रचना गरेका छन्, थुप्रै गीतमा संगीत भरेका छन् । आधा दर्जन चर्चित नेपाली सिनेमामा संगीत निर्देशनको काम पनि गरेका छन् । आफ्नै शब्द रचना, आफ्नै संगीत र आफ्नै आवाजमा फरक प्रकृतिका गीत गाउन सक्ने क्षमता भएका गायक सापकोटाले जति नेपाली गीत संगीतलाई दिए, ती सबै कुनै न कुनै रूपबाट केही पृथकता, मौलिकता र पहिचानसहित उपस्थित छन् ।

चाहे ती नेपाली सिने जगतका महानायकका विशेषता पोखिएका गीत हुन्, चाहे ती नायिका निरुता सिंहको बखान गरिएका । उनले एउटै प्रकृतिको गीतलाई निरन्तरता दिनुभन्दा पनि फरक प्रकृतिका गीत रचना गर्ने तथा आवाज दिने कोसिस गरिरहे । उनले गीतहरूमा पनि नयाँ प्रयोग गर्ने प्रयत्न गरिरहे ।

उनले आफ्नो संगीत यात्राको प्रारम्भ २०५८ सालमा ‘माइक्रो मिनिबस’ गीतबाट गरेका थिए । सापकोटा त्यतिबेला पोखरामा कलेज पढ्दै थिए । पोखरामा तत्कालीन समयमा भर्खर ससाना माइक्रो मिनीबस चल्दा मानिसहरूका लागि त्यो नौलो र रोमाञ्चित थियो । त्यही सन्दर्भलाई उनले गीत रचनामा जोडेका थिए । फेरि मोबाइल फोनको प्रचलन सुरु भएपछि मानिसको जीवनशैली परिवर्तन भएको सन्दर्भलाई उनले ‘मिस कल’ भन्ने गीतमा जोडे ।

उनले अघि नै गाएको ‘दशैं आयो चरिररी लरी रै’ गीतलाई पछि गएर ‘मुग्लान’ चलचित्रमा उदीत नारायण झा र दीपा झाको स्वरमा गाइएको थियो । शरद ऋतुको आगमनसँगै हिलोमैलो हटेर सारा जगत सुकिलो भएको, ऋतुचक्रमा परिवर्तन आएको, दशैँ र तिहारको रौनकसँगै घन्किने सापकोटाको मालश्रीको भाकाले साँच्चै जनमानसको मन छुन्छ । धानका बाला लहलह झुल्ने बेलामा दिदी बहिनीले सप्तरंगी रंगले भाइको दीर्घायुको कामना गरिरहेको त्यो क्षणको कल्पनालाई शरद् ऋतुको प्रकृतिसँग समायोजन गरेर सापकोटाले परदेशिएका मनहरूलाई समेत दशैँतिहारको तिर्सना जगाइदिएका छन् ।

उनले नाम चलेका ५/७ वटा चलचित्रमा संगीत निर्देशकको भूमिकामा समेत काम गरे । नेपाल टेलिभिजनको प्रसिद्ध सिरियल ‘भद्रगोल’ मा उनले नै संगीत भरे । उनको ‘मायामा धोका खाएँ अनि गजलकार भएँ’ भन्ने गीतले सांगीतिक बजारमा निकै चर्चा कमाउन सफल भयो । त्यस्तै उनले अर्को ‘मेरो मुटु कलेजीमा थियौ र त रोएँ’ मा संगीत भरे, जुन शिव परियारको आवाजमा अरूण अनुरागीको रचना थियो । यो गीतले पनि निकै चर्चा पायो ।

पछिल्लो समय गायक सापकोटा गुमनाम जस्तै भए । पारिवारिक तनावका बीचमा श्रीमतीले एक वर्षकी सानी छोरी र ७ तथा १० वर्षका अरू छोरीहरूलाई छाडेर हिँडिन् । काखे छोरीको ममताले उनलाई टाढा जान दिएन ।

उनको पहिलो सांगीतिक यात्रा नै ‘म तिम्रो राजेश हमाल’बाट भयो जतिबेला नेपाली सिने जगतमा राजेश निरुताका अनेकन किस्सा र कथ्यहरूले दर्शक श्रोताहरूमा ठूलो प्रभाव पारेको थियो । यी दुवै अभिनित सिनेमाले बजार तताउँथे । नेपाली सिने जगतका महानायकको फिल्म क्षेत्रको योगदानलाई उनले गीतमार्फत् बाहिर ल्याइदिने काम गरे । यो गीतले उनलाई गायकको रूपमा पहिलोपल्ट धेरैका बीचमा परिचित बनाइदियो ।

उनले गीत संगीतमार्फत् नेपाली लोक जीवनका धार्मिक सांस्कृतिक बिम्बलाई कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । हिन्दू परम्परामा दुलाहालाई लिएर जन्ती जाने प्रचलन होस् वा जन्ती बाख्रो खाने परम्पराका कुराहरूलाई उनले गीतमार्फत् कलात्मक अभिव्यक्ति दिएका छन् । पञ्चैबाजा लिएर वसन्ती लिन पुगेका लोकनाथको वैवाहिक जीवन भने गीतको कथ्य जस्तो सरल र सरस भएन तैपनि उनले गीतमा लोकन्तीका कुरा गर्न भने कहिल्यै छाडेनन् ।

वास्तवमा सापकोटाका गीत रचनामा राष्ट्रप्रेमको सशक्त भावना छचल्किएको पाइन्छ । उनका गीतमा नेपाली संस्कृति र प्रकृतिका अनेकन सुन्दर पक्षहरूको कलात्मक अभिव्यक्ति छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने मूल मन्त्रलाई उनले गीतमार्फत् जपेका छन् । गण्डकी र स्याङ्जा जिल्लालाई गीतमार्फत् चिनाउने उनको निरन्तरको प्रयास यही मातृभूमिको ऋण तिर्ने अभिभाराकै रूपमा प्रकट भएको देखिन्छ ।

उनका गीतले मानवतावादको स्वर बोल्छन् । संगीतले करुणा र मर्म अभिव्यक्त गर्छन् । उनका स्वरमा हिन्दू धर्म र संस्कृतिका अनेकन् बिम्बहरू मुखरित हुन्छन् । विश्वबन्धुत्व र भाइचाराको कुरा गर्दैं उनको गायनीले ‘बसुधैव कुटुम्बकम’ को आदर्शलाई पछ्याइरहेको हुन्छ । गायक तथा रचनाकार सापकोटाको गीत संगीतमा समाज र संस्कृतिभित्रका राम्रा पक्षहरूको बखानमात्र होइन, विकृतिहरूमा सुधारको अपेक्षा पनि छ । गीत संगीतको माध्यमबाट गायक समाज बदल्न चाहन्छन् । समाजको सोच र प्रवृत्तिमा परिवर्तन् आओस् भन्ने भाव व्यक्त गर्छन् ।

कुनै राजनीतिक दलको झण्डा बोकेरै नहिँडे पनि उनी गणतन्त्र र लोकतन्त्रका पक्षमा तथा परिवर्तनको कित्तामा सधैँ उभिए । गीत र कलामार्फत् उनले परिवर्तनकारी समाजको चाहनालाई बुलन्द पारे । उनले ‘बनाऊँ संविधान’ भन्ने गीतमार्फत् संविधान बनाउन दबाब सिर्जना गरे । ‘बनाऊँ संविधान’ गीतमा नेपालका प्रसिद्ध सिनेकर्मी राजेश हमालदेखि कोमल वली, मीनेन्द्र रिजाल, अग्नि सापकोटा, अनुराधा कोइराला, दीपाश्री निरौला, अनिता बिन्दुसम्म पत्रकार कलाकार सबैलाई एउटै गीतमा अभिनय गराए । ६०१ जना संविधानसभा सदस्यका अगाडि सुवास नेम्बाङले उक्त गीतको विमोचन गरेका थिए । कोभिड सङक्रमण अगाडि उनले ‘आई लभ यु स्याङ्जा’ ‘यही हो पुतलीबजार’ जस्ता मातृभूमि र आफ्नो क्षेत्र भूगोल चिनाउने गीतहरू बजारमा ल्याए ।

पछिल्लो समय गायक सापकोटा गुमनाम जस्तै भए । पारिवारिक तनावका बीचमा श्रीमतीले एक वर्षकी सानी छोरी र ७ तथा १० वर्षका अरू छोरीहरूलाई छाडेर हिँडिन् । काखे छोरीको ममताले उनलाई टाढा जान दिएन । आमाले छोडेर हिँडेपछि आमाको भूमिकामा उनले ससाना छोरीहरूको सुन्दर भविष्यका लागि घर सम्हालेर बस्न बाध्य हुनुप¥यो । छोड्नेले मातृत्व भुले पनि उनको संस्कार र सन्तानप्रतिको कर्तव्यले उनलाई पारिवारिक घेराभन्दा बाहिर जान दिएन । वैवाहिक जीवनका उतारचढाव र छोराछोरीको जिम्मेवारीले उनलाई पहिलेजस्तो उन्मुक्त गायक बन्न भने दिएन ।

उनी भन्छन्, ‘सानी छोरी १ वर्षकी हुँदा र अरू दुईवटा ७ वर्ष र १० वर्षका हुँदा उनीहरूकी निष्ठुरी आमाले छोडेर हिँडेपछि ती नाबालकको संरक्षणका लागि म यतिका वर्ष आमा बनेर बसिरहेको छु । यसैका कारण कलाको क्षेत्रमा गुमनाम भयो भनेर साथीहरूले भन्नुहुन्छ ।’ अहिले उनकी सानी छोरी पनि ८ वर्षकी भइसकेकी छन् भने ठूली छोरी १६ वर्षकी भइन् । तीनवटै छोरीहरूलाई आफैँसँग राखेर उनले आफूले पढाउने त्यही संगीत विद्यालयमा पढाइरहेका छन् ।

कोभिड संक्रमणको विश्वव्यापी संकटले लोकनाथ र उनको परिवारलाई पनि समस्याग्रस्त बनायो । पारिवारिक बोझ र बढ्दो संकटका बीचमा गाएरमात्र जीवन जिउने स्थिति थिएन । त्यसैले उनी नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारी नजिकको एक त्रिशहीद नमुना माध्यमिक विद्यालयमा संगीत शिक्षकका रूपमा नियुक्त भए । ‘गीत संगीतको ठूलो क्षेत्र र सम्भावना छ । यसमा लागेर नाम, दाम र सन्तुष्टि कमाउन सकिन्छ । देश विदेश घुम्न सकिन्छ तर म यी सबै सम्भावनालाई चटक्कै छाडेर नयाँ यात्रामा लागेको छु’ लोकनाथले भने । उनी गीत संगीतले मानिसलाई शान्ति र आध्यात्मिक मार्गमा समेत डोर्याउने कुरामा विश्वास गर्छन् ।

उनले त्यस विद्यालयमा संगीत शिक्षकका रूपमा नियुक्ति पाएदेखि नै सक्दो राम्रो गर्ने प्रयत्न गरे । संगीत भनेको कुन चराको नाम हो भन्ने थाहा नभएको परिवेशमा संगीत शिक्षकले चाहने बित्तिकै विद्यालय तथा समुदायमा संगीतको वातावरण बन्ने कुरा पनि थिएन । सुरुमा समय मिलाउन तथा सबैलाई कुरा बुझाउन गाह्रो भयो । विस्तारै सबैले बुझ्दै गए । उनको निरन्तरको मिहिनेत र लगावले संगीतप्रति विस्तारै विद्यार्थी तानिँदै गए । अभिभावकले पनि कुरा बुझ्दै गए । विद्यालय नेतृत्व गर्नेहरू पनि विस्तारै लोकनाथको मिहिनेत र राम्रो गर्ने इच्छाशक्तिका अगाडि परिवर्तन हुन करै लाग्यो ।

विद्यालयको छुट्टै कोठामा संगीत कक्षा सञ्चालन गरेर अहिले उनले संगीतलाई सिकाइको एउटा महत्वपूर्ण विधाका रूपमा स्थापित गर्ने कोसिस गरेका गरेका छन् । तर, पनि अझै सोचेजस्तो नभएको उनको गुनासो पनि छ । उनले भने, ‘गाउँका विद्यालयमा संगीत कक्षा सञ्चालन गर्ने कुरा मुखले भनेजस्तो सजिलो रहेनछ । मानिसहरूको सोचमा परिवर्तन ल्याउन गाह्रो हुँदो रहेछ । संगीतलाई सकारात्मक रूपमा नलिने प्रवृत्तिका कारण कठिन हुँदो रहेछ ।’

उनी आफू जस्तो राष्ट्रिय रूपमा कलामा चिनिइसकेको व्यक्तिलाई कम्तीमा आफ्नो जिल्लाले उपयोग गरोस् भन्ने चाहन्छन् । आफ्नो दुई दशक लामो संगीत साधना र अनुभवलाई आफ्नै भूमिका कलिला भाइबहिनीको सुन्दर भविष्य कोर्ने काममा खर्चिन चाहन्छन् तर यसका लागि सम्बन्धित पक्षले चासो नदिएको उनको गुनासो छ । उनी भन्छन्, ‘म आफ्नो आजसम्मको संगीत, साधना र अनुभवबाट प्राप्त क्षमतालाई मेरै मातृभूमि र जन्मभूमिका लागि उपयोग गर्न चाहन्छु तर यसका लागि मेरोमात्र प्रयासले हुँदो रहेनछ ।’

यतिबेला संगीतका गुरु बन्दै उनले ससाना सयौं भाइबहिनीलाई संगीतको राग सिकाइरहेका छन् । ‘सारेगम’ को सुरिलो भाकाले कलिला मष्तिष्कमा ऊर्जाशील रसायन भरिरहेका छन् । संगीत प्रशिक्षकका रूपमा उनले नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारीमा संगीतका विद्यार्थी उत्पादन गर्ने महान् लक्ष्य बोकेर अथक मिहिनेत गरिरहेका छन् । संगीतप्रेमी सापकोटाको यो बदलिएको यात्रा र नयाँ सपना पक्का पनि पूरा हुनेछ । हाम्रो पनि शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?