गौरिका र नासिरको राष्ट्रिय कीर्तिमान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पौडीका गौरिका सिंह र नासिर हुसेनले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । जापानको फुकुओकामा आयोजना भएको २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा दुवैजनाले कीर्तिमान कायम गर्नुभएको हो । महिलातर्फको खेलमा दक्षिण एसियाली खेलकुदकी चार स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा एक मिनेट ६.८० सेकेण्ड समयमा दूरी पूरा गर्दै कीर्तिमान कायम राख्नुभयो ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार गौरिकाले यसअघि आफ्नो नाममै रहेको कीर्तिमान भंग गर्नुभएको हो । यसअघि उहाँको नाममा एक मिनेट ७.३१ सेकेण्ड समयको रेकर्ड थियो । उहाँले उक्त रेकर्ड भारतको गुवाहाटीमा आयोजना भएको १२औँ दक्षिण एसियाली खेलकुदमा कायम गर्नुभएको थियो ।

यस्तै, नासिर याहृया हुसेनले पनि आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान कायम राख्नुभएको छ । २०० मिटर फ्रिस्टायलमा नासिरले एक मिनेट ५७.२६ सेकेण्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले उक्त कीर्तिमान ११औँ एनएसए कप च्याम्पियनसिपमा राख्नुभएको थियो ।

नासिरले यसअघि च्याम्पियनसिपमा ४०० मिटर फ्रिस्टायलमा पनि चार मिनेट ८.२३ सेकेण्ड समयमा दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो । अब बुधबार गौरिकाले ५० मिटर ब्याकस्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ । २७ तारिखमा डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिखमा एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

जापानको फुकुओका शहरमा जारी वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरसहित गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह र डुवाना लामाले प्रतिस्पर्धा गरिरहनुभएको छ । टोलीको टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?