‘दलीय पीडाग्रस्त छ विश्वविद्यालय तर सुधारका प्रयासहरू सकारात्मक छन्’

विवेक खड्का दाङ, संवाददाता
Read Time = 23 mins

नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठन-पाठन गराई दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यसहित-२०४३ सालमा दाङको बेलझुण्डीमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालयमा अहिले चारवटा विभागमा तालाबन्दी गरिएका छन् । ती निकायमा तालाबन्दीको सन्दर्भमा विद्यार्थी संगठनले जे-जे माग गरे पनि अन्ततः विश्वविद्यालयको तालाबन्दी हरेकका आफन्तलाई जागिर खुवाउने र भागबण्डामा आफ्नालाई आरक्षण दिनेमात्रै देखिन्छ । यो रोग अहिलेको मात्रै होइन, दश वर्ष पहिले देखिकै हो । स्ववियुले विश्वविद्यालयको कार्यालयमा असार ८, अनेरास्ववियुले केन्द्रीय आयुर्वेद विद्यापीठमा असार ३ र नेविसंले सेवा आयोगको कार्यालय र डीनको कार्यालयमा असार ९ गते तालाबन्दी गरेका छन् । ती विद्यार्थी संगठनले आ-आफ्नो भागमा परेका विभागमा तालाबन्दी गरेका हुन् ।
यसै सन्दर्भमा प्रस्तुत छ नेपाल संस्कृत विश्वविद्यालयको पछिल्लो अवस्थालगायत विभिन्न विषयमा केद्रिन्त भएर हिमालय टाइम्स दाङ संवाददाता विवेक खड्काले कुल सचिव प्रा.माधव अधिकारीसँग गरेको संवादको सारसंक्षेप :-

नेपाल संस्कृत विश्वविद्यालयको पछिल्लो अवस्था के कस्तो छ ? किन तालाबन्दी र हड्तालको शृंखला चलेको हो ?
नेपाल संस्कृत विश्वविद्यालयको वर्तमान अवस्था सन्तोष जनक नै छ । यस विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधि नियमित रूपमा सञ्चालन भइरहेका छन् । विश्वविद्यालय विद्यार्थीहरू अध्ययन अनुसन्धान गर्ने थलो हो । ती विद्यार्थीहरू विभिन्न राजनीतिक आस्था, दर्शनमा विश्वास गर्न सक्दछन् । सो को प्रभाव कहिले काहिँ विश्वविद्यालयमा पर्न सक्दछ । यस्तो प्रभाव पर्दा सकारात्मक/नकारात्मक दुवै हुन सक्दछ । यदि नकारात्मक प्रभाव रहेमा तालाबन्दी हड्तालजस्ता क्रियाकलाप देखिन सक्दछन् । यसैको प्रभावस्वरूप नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय, सेवा आयोगमा पनि तालाबन्दी र हड्ताल केही दिनदेखि भएको छ । तर समाधानका प्रयास भने भइरहेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन र संस्कृत भाषाको संरक्षणका लागि स्थापना भएको हो तर यसप्रति विद्यार्थीको त्यति धेरै आकर्षण नहुनुको कारण के हो ? कतै यस्तै हड्ताल र तालाबन्दीको कारण त होइन ?
यहाँले भने जस्तै नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन, संस्कृत भाषाको संरक्षण, संवर्धन गर्दै ज्ञान विज्ञानको समन्वय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ वि.सं. २०४३ मंसिर २५ गते नेपालको दोस्रो विश्वविद्यालयको रूपमा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना गरिएको हो । विश्वविद्यालयले आफ्नो उद्देश्यानुरूप, शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । सरकारले लिने शैक्षिक नीतिको प्रभाव विश्वविद्यालयमा पर्नु स्वाभाविकै हो । साथसाथै देशमा हुने विभिन्न खालका राजनीतिक अस्थिरता, हड्ताल, विचारधाराले पनि संस्कृत शिक्षा अध्ययन अध्यापनलाई असर पारिरहेको छ । तर पछिल्लो समयमा संस्कृत शिक्षाप्रति पुनः आकर्षण बढ्दै गएको छ ।

विश्वविद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्न के कस्ता काम भएका छन् ?
विश्वविद्यालयले संस्कृततर्फका विद्यार्थीहरूको संख्या वृद्धिका लागि गुरुकुलहरूसँग समन्वय गर्ने, १० कक्षा सञ्चालन भइरहेका गुरुकुलहरूलाई कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउन प्रेरणा गर्ने, सो सम्बन्धमा आवश्यक सरसल्लाह उपलब्ध गराउने, सरकारसँग गुरुकललाई संरक्षण गर्न नीतिगत व्यवस्था गर्न अनुरोध गर्ने र ११-१२ मा संस्कृत विषय अध्ययन नगरेका तर संस्कृत शिक्षा अध्ययन गर्न चाहेका विद्यार्थीका लागि संस्कृत भाषा प्रशिक्षणका कक्षा सञ्चालन गर्ने, उक्त भाषा प्रशिक्षणका विद्यार्थीहरूको परीक्षा लिई शास्त्री (स्नातक) तहमा भर्ना लिने व्यवस्था मिलाइएको छ । साथै विश्वविद्यालयले संस्कृत शिक्षाको महत्व प्रकाश पार्नेखालका छलफल, अन्तक्र्रिया तथा गोष्ठी सञ्चालन गरिरहेको छ ।

संस्कृत विश्वविद्यालय परम्परागत तरिकाले चलिरहेको छ भन्ने गुनासो सुनिन्छ । यसमा अन्य आधुनिक विषय र संकाय कति छन् ?
नेपाल संस्कृत विश्वविद्यालय २०४३ सालमा स्थापना भएदेखि २०५५ सालसम्म यस विश्वविद्यालयले संस्कृततर्फको उत्तरमध्यमा तह (PCL) शास्त्री तह (BA), आचार्य तह (MA) र संस्कृत विषयमा विद्यावारिधि उपाधिको कक्षा सञ्चालन गरिरहेको थियो भने २०५५ सालमा एक वर्षे शिक्षा शास्त्री कार्यक्रम २०५६ सालमा आयुर्वेद उत्तरमध्यमा तह (AHA) को कार्यक्रम सञ्चालन गरेको थियो । सो एक वर्षे शिक्षा शास्त्री र आयुर्वेद कार्यक्रममा विद्यार्थीहरको अभिरुचि र आकषर्ण बढेको हुँदा आयुर्वेद कार्यक्रमलाई उपाधिमूलक कार्यक्रमको रूपमा २०६१ देखि सञ्चालन गरियो । साथै विज्ञान उत्तरमध्यमा कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर सरकारको शिक्षा नीतिअनुरूप विश्वविद्यालयले उत्तरमध्यमा कार्यक्रम सञ्चालन गर्न नपाउने भन्ने भएको हुँदा यस विश्वविद्यालयमा सञ्चालनमा रहेका उत्तरमध्यमाका कार्यक्रम स्वतः विस्थापित हुन पुगे । तर विश्वविद्यालयले जनगुनासो र स्थानीयको चाहनानुरूप आफ्ना कतिपय शैक्षिक कार्यक्रमलाई परिमार्जन र परिस्कृत गर्दै लगेको छ । विश्वविद्यालयले २०६९ सालदेखि आयुर्वेद स्नातक तह (BAMS) को पठन-पाठन प्रारम्भ गरी हाल १२ व्याचको पठनपाठन सञ्चालन गरिरहेको छ । यस विश्वविद्यालयले जनचाहना र चासोको रूपमा रहेको वास्तुु शास्त्र (Vastu Engineering) स्थापत्य शास्त्र)को पठनपाठनका लागि स्नातक तहको पाठ्यक्रम निर्माण भइसकेको छ भने निकट भविष्यमै कक्षा सञ्चालनको तयारीमा रहेको छ । त्यसैगरी विधि शास्त्र (कानुन), वैदिक कृषिको, प्राकृतिक चिकित्सा तथा योग विज्ञान (BNYS) विषयको पाठ्यक्रम तयार भइसकेको र पूर्वाधार निर्माणको तयारीमा रहेका छौं ।

विश्वविद्यालयलाई सबैले अपनत्व महसुस गर्ने खालको बनाउन किन सकिएको छैन ?
सर्वप्रथम त हामीले संस्कृत शिक्षा यसमा अध्ययनरत छात्रछात्रा, कार्यरत शिक्षक कर्मचारीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने देख्दछु । संस्कृत शिक्षा कर्मकाण्ड गर्ने शिक्षामात्रै हो भन्ने जुन दृष्टिकोण छ त्यसलाई नै परिवर्तन गर्नुपर्ने हुन्छ । संस्कृत शिक्षाले सत्मार्ग, नैतिकवान, संस्कार, संस्कृति, धर्मलगायत विषयमा ज्ञान प्रदान गर्दछ भन्ने कुराको महसुस हुन र गराउन जरुरी छ । त्यसैगरी संस्कृत विषयभित्र रहेका महत्वपूर्ण प्राविधिक विषय ज्योतिष, आयुर्वेद, प्राकृतिक चिकित्सा, वास्तुशास्त्र, वैदिक कृषि, वैदिक गणित, विधिशास्त्र जस्ता विषय जो आधुनिक समयमा पनि महत्वका साथ हेरिएको छ । यी विधा संस्कृत विषयमै छन् भन्ने कुराको बुझाई भयो भने अवश्य हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ । सबैले अपनत्वबोध गर्न सक्दछ्न् । रोजगारीले मात्रै अपनत्व बोध गराउन सक्दैन । साथ साथै सरकारले बनाउने शिक्षा नीति तथा रोजगारीका क्षेत्रमा समेत संस्कृत शिक्षाको महत्व हुनेगरी नीति निर्माण गर्नुपर्ने देखिन्छ ।

विश्वविद्यालयमा तालाबन्दी र दलीयकरण हुने समस्या बढी नै देखिन्छ । यो समस्या समाधानका लागि पदाधिकारीको पहलकदमी के कस्तो भएको छ ? दलीय भागवण्डाका आधारमा पदाधिकारी, विद्यापीठ प्रमुख उपप्रमुख नियुक्ति हुने अनि आफ्नो दलको पक्षपोषण गर्ने, कर्मचारी शिक्षकहरूमा पक्षपात गर्ने, वृत्तिविकास, पदस्थापन, पदोन्नति आदिमा पनि भेदभाव गर्ने अनेक काम हुने गरेको सुनिन्छ । यस्तो किन हुन्छ ?
हो, हाल नेपालका सबै विश्वविद्यालयमा दिनप्रतिदिन कुनै न कुनै संगठनका नाममा बिमति जनाउँदै तालाबन्दी गर्ने शृंखलानै बनेको छ । जसले गर्दा विश्वविद्यालयमा नियुक्त हुने पदाधिकारीले विश्वविद्यालयको उद्देश्य र आफ्ना कार्ययोजना समयमै सम्पादन गर्न नपाइरहेको अवस्था रहेको छ । विश्वविद्यालय सञ्चालनका क्रममा विभिन्न निकायमा विभिन्न पदाधिकारीको नियुक्ति गर्नु नै पर्छ तर नियुक्ति भएका पदाधिकारीमा कुनै न कुनै राजनीतिक दलप्रतिको आस्थाका भरमा यो वा त्यो दलको दलीय लेबल लगाउने कुरा नै राम्रो होइन । नियुक्ति पूर्व जे-जस्तो आस्था र विचार भए पनि संस्थाको जिम्मेदारी संस्थाकै नीति नियमका आधारमा हुनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ । विश्वविद्यालयभित्र कार्यरत शिक्षक कर्मचारीको नियमित रूपमा वृत्ति विकासका कार्यक्रम सेवा आयोगमार्फत् सहज रूपमा समयमै सम्पादनहुँदै गएमा यहाँले उल्लेख गरेका जस्ता आक्षेप अवश्य आउँदैनन् ।

विश्वविद्यालयलाई समयानुसार परिवर्तन र परिमार्जन गर्दै लैजान के कस्ता योजना छन् ?
विश्वविद्यालयलाई हामीले क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने प्रयास गरिरहेका छौं । हाल विश्वविद्यालयको आफ्नो वेबसाइट, परीक्षासम्बन्धी कार्य, इ-हाजिरी, अनलाइन कक्षा, स्मार्ट कक्षाहरूको व्यवस्था गरिसकेका छौं भने विद्यापीठका पुस्तकालयलाई इ-लाइब्रेरीको रूपमा विकास गर्ने इ-जनरल प्रकाशन गर्नेजस्ता कार्य गरिरहेका छौं । साथै शिक्षक कर्मचारीलाई पुनर्ताजगी तालिम, नयाँ पाठ्यक्रमहरूको निर्माण र प्राचीन लिपि, भाषा, धर्म संस्कृति, जडिबुटीहरूका विषयमा खोज अनुसन्धान, प्राचीन ग्रन्थहरूको संपादन र अनुसन्धान पत्रिकाहरू प्रकाशनमा समेत विश्वविद्यालयले जोड दिएको छ ।

संस्कृत विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछि स्थापना भएको देशको दोस्रो विश्वविद्यालय हो । पुरानो विश्वविद्यालय भएर पनि चाहेजस्तो प्रगति गर्न नसक्नुका कारण के हुन् ?
यहाँले भनेको कुरा सही हो । यस विश्वविद्यालयले लामो समयसम्म विश्वविद्यालय स्थापनाको उद्देश्यअन्तर्गत रही संस्कृत भाषा, धर्म संस्कृतिको जगेर्ना गर्न संस्कृत शिक्षामात्र अध्ययन-अध्यापन गराउँदै आएको थियो । सरकाको शिक्षा नीति, राज्यमा चलेका राजनीतिक परिवर्तनका आन्दोलन र संस्कृत शिक्षा अध्ययन-अध्यापन गर्नेहरूप्रति समाजले हेर्ने दृष्टिकोणसमेतका कारणले गर्दा यस विश्वविद्यालयले चाहेजस्तो प्रगति गर्न नसकेको हो । तर अहिले आएर संस्कृत शिक्षाप्रतिको आर्कषण, संस्कृत शिक्षाभित्र रहेका प्रयोगिक विधाका रूपमा आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग विज्ञान, वास्तु शास्त्र (इन्जिनियरिङ), विधि शास्त्र, वैदिक कृषि जस्ता विषयसमेत समावेश गरी केही विषयको पठनपाठन प्रारम्भ भइसकेको र केहीको निकट भविष्यमै सञ्चालन हुने तयारीमा रहेकाले भविष्यमा यहाँहरूले यसको प्रगति भएको अवश्य देख्नुहुने नै छ ।

विश्वविद्यालयको विकासका लागि सरकार र नागरिकका तर्फबाट के-कस्ता सहयोगको आवश्यकता छ ? र तपाईहरू नै पदाधिकारी हुनुभएपछि विश्वविद्यालयको स्तरोन्नतिका निम्ति के-कस्ता काम भएका छन् ? आत्ममूल्यांकन कसरी गर्नुहुन्छ ?
विश्वविद्यालय स्थापना हुनु पूर्वत्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका पाँचवटा विद्यापीठहरूलाई आंगिक विद्यापीठको रूपमा लिएर स्थापना भएको यस विश्वविद्यालयले यसको भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने पूँजीगत बजेट अवश्यकता अनुसार प्राप्त गर्न सकेको छैन । यस विश्वविद्यालय स्थापनाका लागि स्थानीय समाजसेवीहरूले विश्वविद्यालयका नाममा दाङको देउखुरीमा १३३६ बिघा र दाङमा ३२६ बिघा जग्गा दान गर्नु भएको छ । सो मध्ये देउखुरीमा रहेको १३३६ बिघाको आम्दानी २०५८ सालदेखि विश्वविद्यालयले प्राप्त गर्न सकिरहेको छैन । सो जग्गाको आम्दानी विश्वविद्यालयले प्राप्त गर्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको तर्फबाट पटक-पटक उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरिरहेका छौं । एउटा शिक्षण संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वाधारभित्र कक्षा कोठा, छात्रावास, प्रशासनिक भवनहरू, शिक्षक कर्मचारी व्यवस्थापनका लागि आवश्यक दरबन्दी सरकारले उपलब्ध गराउनुपर्दछ भने नागरिक समाजको तर्फबाट विश्वविद्यालयमा हुनेगरेका बन्द-हड्ताल रोक्न, विश्वविद्यालयलाई विभिन्न नीतिगत निर्णय गर्न आवश्यक सुझाब दिन र विश्वविद्यालयलाई अपनत्व बोध हुने किसिमका क्रियाकलापको अपेक्षा विश्वविद्यालयको रहेको छ ।

हामीले विश्वविद्यालयको नेतृत्व लिँदै गर्दा विश्वमहामारीको रूपमा फैलिएको कोभिडले देश र विश्वलाई नै आतंकित पारिरहेको थियो । सो समयमा पठनपाठनलाई केकसरी व्यवस्थित गर्ने मुख्य चुनौतीको रूपमा रहेको थियो भने विश्वविद्यालय अन्तर्गतका कुुनै पनि विद्यापीठ, निकायहरूमा पूर्णकालीन पदाधिकारीको नियुक्ति भएको थिएन । सबै ठाउँमा अर्को व्यवस्था नभएसम्मका लागि मात्र काम गर्नेगरी जिम्मेवारी तोकिएको अवस्था थियो । विश्वविद्यालयको दीक्षान्त १२ वर्षदेखि हुनसकेको थिएन, आयुर्वेद (BAMS) तर्फ अध्ययन गरेका विद्यार्थीले अध्ययन गर्न मित्र राष्ट्र भारतमा जान नपाइरहेको अवस्था थियो भने सात वर्षदेखि २५ वर्ष सेवा गरेका शिक्षक कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गर्न नसकिएको अवस्था थियो । त्यसैगरी संस्कृततर्फको पाठ्यक्रम करिब २० वर्षदेखि परिमार्जन हुन सकेको थिएन भने भौतिक पूर्वाधारतर्फ सेवा आयोग, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र विभिन्न विद्यापीठमा शिक्षण भवन, छात्रावासहरूको पनि समस्या थियो । शिक्षक कर्मचारीको वृत्ति विकासका कार्य र कर्मचारीलाई पुनर्ताजगी तालिमको पनि व्यवस्था हुन सकिरहेको थिएन भने संस्कृत वाङ्मयभित्र रहेका प्रविधिक धारका विषयको पाठ्यक्रम निर्माण र सञ्चालन, आयुर्वेदका लागि आवश्यक पर्ने जडिबुटी उद्यान, अस्पताल व्यवस्थापन हुनसकिरहेको थिएन । यी र यस्तै समस्याको समाधान हाम्रो कार्यकालमा गरिँदै अगाडि बढिएको छ ।

विश्वविद्यालयले लामो समयदेखि देउखुरीमा रहेको जग्गा प्रयोग गर्न सकेको छैन । आफ्नो सम्पत्ति पनि उपभोग गर्न नपाउनुको कारण के हुन् ?
विश्वविद्यालयको नाममा देउखुरीमा रहेको १३३६ बिघा जग्गामध्ये ४०८ बिघामा मोही कायम भएकोमा विश्वविद्यालयको तर्फबाट मोही किसानलाई सरकारको नीतिनुसार दिनुपर्ने मोहीहक जग्गा दिन विश्वविद्यालय तयार हुँदाहुँदै पनि अन्य अतिक्रमण गर्ने गैरमोही व्यक्तिहरूले मोहीसरह हिस्सा पाउनुु पर्दछ भन्दै दबाब दिएका कारणले विश्वविद्यालय स्वयंले उक्त समस्याको समाधान गर्न सकेको छैन । त्यसले गर्दा विश्वविद्यालयले विगत २२ वर्षदेखि उक्त जग्गाबाट आम्दानी र उपभोग गर्न पाएको छैन । सो समस्या समाधानका लागि विश्वविद्यालयले पटक–पटक सरकारसँग उच्चस्तरीय आयोग गठनका लागि अनुरोध गर्दै आएको छ ।

यो विश्वविद्यालय र संस्कृत शिक्षाको महत्व बढाउन कसले के गर्नुपर्छ ?
सरकारको शिक्षा नीतिमा हाम्रो देशको धर्म, संस्कृति, संस्कार साथै भाषाको संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक छ भन्ने कुराको महसुस गर्दै संस्कृत शिक्षाको संरक्षण र संबर्धनका प्राथमिकता दिनुपर्दछ । हामी सबैले संस्कृत शिक्षा समाजलाई नैतिकवान, अनुशासित र संस्कारी बनाउन आवश्यक छ भन्ने महसुस गर्नुपर्दछ भने संस्कृत शिक्षा अध्ययन अध्यापन गर्नेप्रतिको दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?