✍️ कलानिधि दाहाल
समय सधैँ एउटै हुन्छ । यो फेरिन्न, परिवर्तित हुन्न, अग्लन्न, होचिन्न, धनी हुन्न, गरिब पनि । न यसले तानाशाहको रूप लिन्छ, न पेलिने जनताको । न यसले भ्रष्टको जामा पहिरिन्छ, न स्वच्छ-कञ्चनको । न यो कुर्सीको माथिल्लो आसन उक्लेर छेपारो बन्छ, न बीचमा रहेर गोयवेल्स । न यसको कुनै आकार हुन्छ, न यो निराकार । यो सभ्यताको मिर्मिरे उषामा पनि यस्तै थियो, त्यसअघि पनि । बुद्ध समयावधिमा समय यही र यस्तै हो, भोलि भयो भने अन्त्य समयावधिको पनि समय यही हो, उस्तै हो र उही हो ।
परिवर्तनको रङ प्यालामा होइन पिउने चिजमा हुन्छ । पिउने चिज बस्तु हो । वस्तुको परिवर्तन समयको परिवर्तन होइन । दृष्टि परिवर्तन हो, दृश्य परिवर्तन हो । दृष्टि र दृश्यमा परिवर्तन नहुञ्जेल समय परिवर्तनको रडाको फलाक्नु अज्ञानताको उदाहरण हो । सतही चेतनागत संकीर्णता हो ।
परिवारमोह नै सञ्चयको क्यान्सर हो । भ्रष्टाचारको उर्वर भूमि हो । चाप्लुसीको लामो जिब्रो हो । स्वार्थको चिप्ले किरो हो । सपाट अस्तित्व माथिको प्रहार हो । आत्मबञ्चनाको अग्लो अनुहार हो । यो नै सारा विकृतिको जन्मस्थल अझ । नयाँ जन्मन नदिने दह्रो बिर्को पनि हो ।
यिनै अज्ञानता र सतही ज्ञानका उपजले आज संसारभर नै संकीर्णताको अँध्यारो खाडल बन्दै गएको छ । स्वार्थका चौघेराहरू अग्ला हुँदै गएका छन् । परिवारवाद यसको मूल जरो हो । यही जरो झाँगिएर भ्रष्टाचारको सुहागरात मनाउँछ । अनैतिकताको आकाशे यात्रा गर्छ । आश्चर्यका विकृत सिरक ओढेर गर्मी यामको पसिना गनाउँछ । यही सानो तर कहिल्यै खियासम्म नलाग्ने मनोविकासबाट मान्छे छली भएको छ । केका लागि ? परिवारका लागि । ठग बनेको छ । कसका लागि ? परिवारका लागि । अज्ञानी बनेको छ । किन ? परिवारको परिवेश सुधार्न ।
स्वल्पज्ञान भयंकर । भनाइमा दम छ । यही अल्पज्ञानले समय परिवर्तन भएको देख्छ । पालुवा पलाउनु समय परिवर्तन हुनु होइन– वस्तुको परिवर्तन हो । हरेक चिज, वस्तु वा विचारमा नयाँ सोचका क्षितिज खोल्ने हो भने न ढुंगामा देवताको घण्टी बज्छ, न अक्षरमा ईश्वरको अनुहार । न समयमा काला, राता, पहेँला, हरिया, सेता परिवर्तनका तुरूप देखा पर्छन् । यी सबै त बस्तुमा हुने परिवर्तन हुन् । विचारका परिवर्तन हुन् ।
भ्रमपूर्ण एकतारे सारङ्गीको तारमा सार्थकता रहन्न । औँलाहरू झङ्कार्दैमा सङ्गीतको सुर कहाँ कोयलीकण्ठमा विस्फारित हुन सक्छ र ? भ्रमका हराभरा धरामा अज्ञानताका बाला झुलेका छन् । हिट्लर यही घेराबद्ध परिवारको भ्रमबाट नरसंहारको नायक बन्न पुग्यो । विराट् विश्वको सम्राट्सान एउटी प्रेमिकामा देख्नु भ्रमपूर्ण घेराको उपज नै त हो । अन्तिम उसको क्रियात्मक लीलाले प्रमाणित पनि ग¥यो । क्लियापेट्रा यसै फोहोरी भ्रमको उपजले सिंगो युनानी अस्तित्वमा प्रश्नचिह्न बनी ।
यो घेरा नै अन्धविश्वासको आँखो हो । गान्धारी पट्टी कसेर धृतराष्ट्रको अपराध छेकिने भए कृष्णले सुदर्शनको हत्केली उचाल्नु कहाँ पथ्र्यो र ! पुत्रमोह विश्वासको ढाल बनेपछि कृष्ण जन्मनै थियो क्रान्तिको ज्वालामुखीमा । सानो आगोको झिल्को ठाउँबाट कुठाउँमा पर्न पुग्यो भने विश्वदहन औँलीको चुड्की न हो । पुटिन प्यागासस उडेको छ मात्र प्रणयीपरी सानका निमिक्त । युक्रेन स्वाभिमान जल्दै छ । उसको पनि अन्तरआशय त्यति टाढा छैन व्यक्ति अहंको आगोभन्दा ।
सञ्चयको साँघुरो खाल्डो वर्तमान विराट् विश्वकै विकराल रोग हो । यसको जन्म परिवारप्यारकै गर्भबाट हुने हो । मनोकायरताको अग्लो शिखर तर विकृत टाटेपाटे छ्याकटे रोगजस्तो भएर खडा हुने पनि यसै अँध्यारो गर्भबाट हो । सच्चाइमा झुकाउने र झुठमा उठाउने कालो संस्कारको जन्मस्थल पनि यही हो ।
परिवार जहिले र जहाँ पनि स्वार्थको घेरामा जय-विजयको खेल खेल्छ । त्यसमा विजयका लागि गरिने अभ्यास भन्नु नै स्वार्थको अभ्यास हो । मेरोको अभ्यास हो । मेराको अभ्यास हो । नराम्रा हुन् पति पत्नी मेरा नै राम्रा । खराब हुन् छोराछोरी मेरा नै असल । गुण्डा हुन् कार्यकर्ता मेरा नै साधु । ज्वालामुखीका लेदा चर्मपहिरन नै किन नहुन् प्रेमीप्रेमिका मेरा नै स्वर्गीय इन्द्र र अप्सरा । आजको विश्व अनुहार, आजको पारिवारिक चेहरा । आजको विद्रुप विश्व समाजको स्वरूप ।
यस घेराको संस्कार वा ! रिंगटा लाग्छ सम्झँदा । पूर्वरटान । कालोको गषेरो । गोरोको कालो । जंगली मनोविकास– बिना गोडमेलको, बिना झारझुर दहनको । बिना उर्वर मृत्तिका खोजको । उही जमिन । उही मलजल । उही धमिलो खोलोको खेत पटाइ । उही खाना शोख । उनै नाना पहिरन । त्यस्तै र तिनै गीतका भाका- आकाश फराक छ, हिमाल अग्लो छ, हिउँ चिसो छ, आगोले पोल्छ, देश मेरो सर्वस्व हो- स्वर्ग हो, आमाबाबु नै देवीदेवता हुन्, सडेका नै किन नहुन् । मेरा सन्तानका नाममा संस्था खोलौँ, पुरस्कार रकम नदिए पनि घोषणा गरौँ, संस्थाको सान हौँ, नाक ठड्याऔँ । छिः छिः दुस्साहसी मन्त्र सिक्न कुनै विश्वविद्यालय भर्ना हुनु पर्दैन । जन्मजात घर नै विद्यालय बनेर उभिएको छ- ठिंग । यसमा छोराछोरी बाबुआमालाई नजानेर नै हिँड्न सिकाउँछन्- मिठा खानाका नाममा, राम्रा नानाका नाममा, अग्लो विशाल सबैको भन्दा राम्रा छानाका नाममा, चोटाकोठा सजिसजाउका नाममा हरेक घर विश्वविद्यालय बनेका छन् ।
भ्रमपूर्ण एकतारे सारङ्गीको तारमा सार्थकता रहन्न । औँलाहरू झङ्कार्दैमा सङ्गीतको सुर कहाँ कोयलीकण्ठमा विस्फारित हुनसक्छ र ? भ्रमका हराभरा धरामा अज्ञानताका बाला झुलेका छन् । हिटलर यही घेराबद्ध परिवारको भ्रमबाट नरसंहारको नायक बन्न पुग्यो ।
यी विराट् विश्वविद्यालयमा कहिल्यै सिकाइन्न- नाक नचाहिने ठाउँबाट ठडिनु नै भाँचिनु हो भन्ने कुरा, आफू आफ्नै प्रशंसामा रमाउनु आत्महत्या हो भन्ने कुरा, जे पुर्खाले रटाए त्यो नै रटेर हुंकार फुक्नु जीवन होइन भन्ने कुरा । बाहिरका खराबी जलाउन पहिले आफैँ भित्रका काला दाग जलाउनुपर्छ भन्ने कुरा ।
मुखले महाभारतका श्लोक भट्याउनेहरूले कहिल्यै कृष्ण बुझेनन्, युद्धभूमिको अर्जुन चिनेनन् । परिवारमोहले ग्रस्त भएर गाण्डिव भुइँमा फाल्ने अर्जुनलाई किन लगाए कृष्णले रगतको खोलो बगाउन ? फेरि अर्जुनले किन शस्त्र उचाले ? के आफ्ना अपराध छोपेर अरू तर असल मान्छेका विनाशका लागि हो र ? धृतराष्ट्र दुर्योधन के वंश बाहिरका वंश हुन् र ? उनीहरू कस्ता थिए ? वंशपोषक, सञ्चयरोगी, परम्परावादी, अमानवीय, आत्मप्रशंसक, निरंकुश, तानाशाह आफन्तका अनुहार विरुद्धको महायुद्धमा ज्वालामुखी दन्केको होइन र ? आफ्नै खराब पितामाताका विरुद्ध बलेको होइन महाभारतको ज्वालामुखी ?
कृष्णको टीका शिरमा सजाउनेहरू, गीताका पंक्ति जिब्रोमा बजाउनेहरूले कहिल्यै आचरणको अनुहार हेरेनन् । कृष्णको टीका लगाएर गोडेसे अनुहारमा उभिन विवश मान्छेसँग मान्छेले मान्छेलाई समग्र बुझेपछि के ऊ मान्छेमा रहन सक्छ र ? कुनै हालतमा पनि सम्भावना रहन्न । चाहे त्यो ऊ होस् वा यो । चाहे त्यो तिमी हौ वा म । चाहे ती म, मेरी र मेराहरू हुन् वा ऊ, उनी र उनीहरूका नै किन नहुन् । अहिलेको मानवीय रोगको घर भनेको नै म हुँ । मेरा हुन् । मेरीहरू हुन् ।
पढ्ने एउटा हुने अर्को । बुझ्ने एउटा व्यवहार गर्ने अर्को भएकैले मभित्र मेरो ‘स्व’ छैन, स्वाभिमान छैन । मेरो सानो बल या त ढुंगो भएको छ– ईश्वरका नाममा या त मृत भएको छ बाबुआमाका नाममा कि त बन्धक भएको छ इटामाटो ढुङ्गो निर्मित घरको चौघेरामा ।
आत्मबल अर्कोतिर सुम्पेको मान्छे आफूमा सधैँ कमजोर रहन्छ । यिनै कमजोरी छोप्नाका लागि सत्ताका दास बनेर चाकडीका हात पसार्छ र सङकीर्ण परिवारघेराका प्रशंसामा आफू अग्लिएको । यस भयानक भूलको भ्रमले सधैँ आफूलाई भ्रामक बनाएर भौतारिएको ऊ आफैँ यस अर्थमा ठम्याउन सक्दैन : ऊ आफू आफैँमा छैन भन्ने कुरा ।
परिवारमोह नै सञ्चयको क्यान्सर हो । भ्रष्टाचारको उर्वर भूमि हो । चाप्लुसीको लामो जिब्रो हो । स्वार्थको चिप्ले किरो हो । सपाट अस्तित्व माथिको प्रहार हो । आत्मबञ्चनाको अग्लो अनुहार हो । यो नै सारा विकृतिको जन्मस्थल अझ । नयाँ जन्मन नदिने दह्रो बिर्को पनि हो । अन्धविश्वासका खेत खनाउने अझ दासहरूको मालिक पनि हो । तथ्य बोल्ने बेला भयानक भूत उठाएर चाकडी गर्न विवश गराउने चाकरदास हो । यस बन्धनको जेल जलाउन चेतनाको इन्धनज्वाला नदन्किएसम्म चाहे सयौँ डाक्टरका डिग्री घाँटीमा झुण्ड्याओस्, चाहे माथिल्ला आसनका मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति नै किन नहुन् तिनीहरू सधैँ सीमादास, परिवारदास, परम्परादास, अज्ञानदास, अनुहारदास, आत्मदास मात्र बाँचेका हुन्छन् । यस्ताका दृश्याभासले न कोही मान्छे मान्छे बन्छ, न कतै नयाँको आभास दिन्छ, रटान- समय परिवर्तन भयो, नयाँ वर्ष आयो, जस्ता सुन्दा अपच, खाए अवाक् हुने अवस्था नसादेखि नै चिरेर फल्दै वस्तुमा नयाँ खोज्ने, विचारमा नयाँ रोज्ने, सम्पूर्ण संकीर्ण सीमा तोडेर एउटा कञ्चन मानवता बाँच्नेका लागि फेएिको सालले ऊर्जा प्रदान गरोस्, शुभकामना सुम्पन्छु यस धारलाई, यस धारका सम्पूर्ण धराभारकलाई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच