विश्व अर्थतन्त्रमा चुनौती बढ्दै : आइएमएफ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मुद्रास्फीति नियन्त्रणका लागि विश्वका अधिकांश केन्द्रीय बैंकले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण विश्वव्यापी अर्थतन्त्रमा चुनौती बढ्दै गएको जनाएको छ । आइएमएफले प्रकाशन गरेको वल्र्ड इकोनोमिक आउटलुकको जुलाई अंकमा सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत रहने उल्लेख छ । आइएमएफका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा उदीयमान राष्ट्रको अर्थतन्त्रमा सुधार देखिए तापनि विकसित मुलुकका केन्द्रीय बैंकहरूले निरन्तर ब्याजदर बढाउँदा आर्थिक वृद्धिदर खुम्चिएको छ । सन् २०२२ मा ३.५ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०२३ र २०२४ मा तीन प्रतिशतमा खुम्चिने अनुमान छ ।

चीनको औद्योगिक गतिविधिमा देखिएको सुधारका कारण विश्वव्यापी अर्थतन्त्र केही सुधारात्मक देखिएको हो । रुस–युक्रेन युद्धका कारण सन् २०२२ मा पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्य आकाशिएको थियो । देशहरूले वैकल्पिक विधि अपनाउँदा सन् २०२२ को तुलनामा सन् २०२३ मा मुद्रास्फीति दरमा कमी आएको प्रतिवेदनमा उल्लेख छ । आउटलुकका ग्लोबल हेडलाइन मूल्यवृद्धि सन् २०२२ मा ८.७ प्रतिशत थियो भने सन् २०२२ मा ६.८ प्रतिशत रहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि केन्द्रीय बैंकहरूले संकुचित मौद्रिक नीति अपनाउनुका साथै आक्रामक शैलीमा ब्याजदर बढाउँदा मुद्रास्फीति नियन्त्रणमा आएको छ ।

सन् २०२३ मा विकसित अर्थतन्त्र भएका देशको आर्थिक वृद्धिदर १.५ प्रतिशत, उदीयमान तथा विकासोन्मुख देशको चार प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धिदर १.८ प्रतिशत रहने अनुमान गरिएको छ । जुन सन् २०२२ मा २.१ प्रतिशत थियो । हाल युरोप क्षेत्रका अधिकांश देशहरू आर्थिक मन्दीबाट गुज्रिरहेका छन् । सन् २०२२ मा युरो क्षेत्रको आर्थिक वृद्धिदर ३.५ प्रतिशत थियो, जुन सन् २०२३ मा खुम्चिएर ०.९ प्रतिशत रहने अनुमान छ ।

तर, अन्य क्षेत्रको आर्थिक वृद्धिदर खुम्चिँदा उदीयमान तथा विकासोन्मुख एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने बढेको छ । सन् २०२२ मा ४.५ प्रतिशत रहेको एसियालीको वृद्धिदर सन् २०२३ मा ५.३ प्रतिशत रहने अनुमान छ । चीनको आर्थिक वृद्धिदर सन् २०२३ मा ५.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सन् २०२३ मा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहनेछ । भारतीय रिजर्भ बैंकले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण सन् २०२२ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको भारतको आर्थिक वृद्धिदर सन् २०२३ मा खुम्चिने बताइएको छ । ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.९ प्रतिशत रहेकोमा सन् २०२३ मा खुम्चिएर १.९ प्रतिशत रहने अनुमान छ । सब-सहारन अफ्रिका क्षेत्रको वृद्धिदर २०२३ मा ३.५ प्रतिशत रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?