इपिएसको लेटरप्याड चोरेर कीर्ते सूचना प्रकाशित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाको लेटरप्याड चोरी गरी कीर्ते गरेको तथ्य खुलेको छ । दक्षिण कोरिया रिटर्नी केही कामदारले आफूहरूलाई पठाउन बेवास्ता गरेको भन्दै सडक आन्दोलन गरिरहेका छन् । सोही समयमा इपिएस शाखाको लेटरप्याड चोरेर तत्काल नेपालबाट कुनै पनि कामदार दक्षिण कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित भएको थियो । तर, सूचना इपिएस शाखाले भने गरेको होइन ।

साउन ८ गते सार्वजनिक उक्त सूचना गलत भन्दै इपिएस शाखाले विषयवस्तुलाई अतिरञ्जित गर्ने, भ्रम छर्ने, सरकारी लेटरप्याड कीर्तेलगायतका गैरकानुनी काम भएको भन्दै विद्युतीय कारोबार ऐन र नियमावलीअनुसार साइबर अपराध भएका कारण कारबाही हुने जनाएको छ । सरकारी लेटरप्याड कीर्तेलगायतका अपराधमा हदैसम्मको कैद र जरिवानाको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको शाखाले जनाएको छ ।

इपिएस शाखाले नेपाल इपिएसमार्फत् कोरिया कामदार पठाउने १६ मुलुकमध्ये सर्वोत्कृष्ट रहेको भन्दै नेपालीमाझ लोकप्रिय बन्दै गएको इपिएस प्रणालीलाई केही व्यक्ति वा समूहले सामाजिक सञ्जालमा शाखाको लोगोसहितको सूचना जारी गरेका थिए । लेटरप्याटसमेत राखी भ्रामक र नक्कली फेसबुक पेज बनाएर गलत तथा भ्रामक सूचना राख्ने र कतिपयले जानी नजानी सेयर गर्ने गरेको भन्दै कानुनविपरीतका काम नगरिदिन शाखाले आग्रह गरेको छ ।

दक्षिण कोरिया नेपाली कामदारको आकर्षकमध्येको प्रमुख गन्तव्य हो । नेपाल र दक्षिण कोरियाबीच सन् २००८ मा भएको द्विपक्षीय सम्झौताअनुसार रोजगार अनुमति प्रणालीबाट हालसम्म ९० हजार नेपाली कोरिया गएका छन् । शाखाले गत वर्ष साउनदेखि यस वर्षको असारसम्ममा २२ हजार एक सय ९२ जना नेपाली कोरिया गएको जनाएको छ । कोरियामा आगामी वर्ष सन् २०२४ का लागि कामदारको तलब वृद्धिको निर्णयसमेत भएको छ । दक्षिण कोरियाको ज्याला निर्धारण समितिले हालको तलबमा प्रतिघण्टा नौ हजार आठ सय ६० वन अर्थात् नौ सय ८० रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?