पुस्तक : ‘रानीतलाउ’ मा कल्पना खरेल

✍️ सुशीला घिमिरे

कल्पना खरेल मोफसलमा बसेर साहित्य सिर्जना गर्ने साहित्यकार हुनुहुन्छ । उहाँ उतै बसेर लेखनमा सक्रिय रहनुभएको छ । उहाँका पाँचवटा कृतिहरू प्रकाशित भइसकेका छन् जसमा चारवटा पुस्तकहरू र एउटा गीति एलबम छन् । बेला-बेलामा राजधानी आउजाउ गरिरहनुहुन्छ र पुस्तक प्रकाशनका काम पनि यतैबाट गर्नुहुन्छ । यही क्रममा पछिल्लो पटक हालै उहाँको उपन्यास कृति प्रकाशित भएको छ ‘रानीतलाउ’ शीर्षकमा । मञ्जरी प्रकाशन गृह पुतलीसडक काठमाडौंबाट प्रकाशित यस पुस्तकको सर्वाधिकार उपन्यासकार खरेलमै रहेको छ भने भाषासम्पादन रोशन दाहालले गर्नुभएको छ ।

पहिलो संस्करणका रूपमा हालै (२०७९ साल असार) मा यो पुस्तक प्रकाशित भएको छ । १००० प्रतिको संख्यामा छापिएको पुस्तकको लेआउट धन महर्जनको र आवरण अशोक खनालको छ । आवरणमा रानीतलाउ, यसका वरिपरिका रूख–बिरुवा र केही मन्दिर जस्ता देखिने संरचना रहेका छन् । आवरणको माथि आकाश र बादल देखाइएको छ भने तल तलाउ रहेको नीलो भागमा ठूला अक्षरका पुस्तकको शीर्षक ‘रानीतलाउ’, त्यसमुनि साना अक्षरमा उपन्यासकारको नाम ‘कल्पना खरेल’ राखिएको छ ।

पृष्ठ आवरण नीलो सादा छ र यसमा उपन्यासकारको केही अभिव्यक्ति रहेको छ । तल लोगोसहित प्रकाशक संस्था मञ्जरी पब्लिकेसनको नाम उल्लेख भएको छ । सँगै बारकोड र पुस्तकको मूल्य दिइएको छ । पुस्तक सानो स्ट्यान्डर साइज भनिने आकारमा रहेको छ । यस्तो साइजलाई पकेट साइज पनि भन्ने गरिन्छ । पहेंलो तौलरहित हलुका कागजमा पुस्तक छापिएको छ । पुस्तकमा भूमिका खण्डसहित २८८ पृष्ठ छन्, मूल्य ३७५ रुपैयाँ राखिएको छ । पुस्तकको छपाइ स्तरीय छ, अशुद्धिहरू कमै भेटिन्छन् । दिदीबहिनी प्रिन्टिङ प्रेसमा पुस्तक मुद्रण भएको छ ।

नेपालगञ्जको मिश्रित समाज र तिनीहरूबीचको मेलमिलाप उपन्यासले देखाउन चाहेको छ । विशेषतः अरूभन्दा हिन्दू र मुसलमानबीच सौहार्द्रपूर्ण सम्बन्ध अन्यत्र देखिने गर्दैन तर नेपालगञ्जमा त्यस्तो अवस्थाको विद्यमान छैन भन्दै आपसी मेलमिलाप रहेको कुरा उपन्यासले देखाउन चाहेको छ ।

भूमिका खण्डमा डा.दामोदर पुडासैनी ‘किशोर’ को ‘भूमिका’ छ । यसैगरी साहित्यकार किरण आचार्यको केही भनाइ रहेको छ तर यसको शीर्षक दिइएको छैन । पृष्ठ आवरणको भित्रपट्टि उपन्यासकार खरेलको फोटोसहितको चिनारी दिइएको छ । जसअनुसार यसपूर्व उहाँका एउटा गीतिसंग्रह, दुईवटा उपन्यास, एउटा कथासंग्रह प्रकाशित भइसकोको जानकारी प्राप्त हुन्छ । उहाँले भ्रमण गरेका देशका नाम र पाएका मान, सम्मान, पुरस्कारका साथै उहाँको संलग्नता भएका संघसंस्थाहरूको नाम यही पृष्ठमा दिइएको छ । उपन्यासको अन्त्य भएपछि उपन्यासकार खरेलको ‘धन्यवाद’ रहेको छ जहाँ उहाँले आफ्नातर्फबाट धन्यवादका केही शब्द व्यक्त गर्नुभएको छ ।

यस उपन्यासले बाँके जिल्लाको नेपालगञ्जलाई कार्यपीठिका बनाएको छ । त्यहाँको प्रसिद्ध रानीतलाउको वरिपरिको परिवेश उपन्यासले समेटेको छ । त्यहाँका संगति र विसंगति दुवैलाई उपन्यासकार खरेलले उपन्यासमा टिप्न भ्याउनुभएको छ । बाँकेसहित बर्दिया, कैलाली र कञ्चनपुरलाई पुरानो पुस्ताले ‘नयाँ मुलुक’ भनेर चिन्ने गरेको छ । त्यहाँको मिश्रित समाज र तिनीहरूबीचको मेलमिलाप उपन्यासले देखाउन चाहेको छ । विशेषतः अरूभन्दा हिन्दू र मुसलमानबीच सौहार्द्रपूर्ण सम्बन्ध अन्यत्र देखिने गर्दैन तर नेपालगञ्जमा त्यस्तो अवस्थाको विद्यमान छैन भन्दै आपसी मेलमिलाप रहेको कुरा उपन्यासले देखाउन चाहेको छ ।

यसैगरी मधेसी र पहाडी समाजबीच सुमधुर सम्बन्ध छ भनेर देखाउने उद्देश्य उपन्यासले राखेको छ । केही ठाउँमा परम्परागत रूपमा देह व्यापार हुने गरेको प्रसंग र हाल त्यसमा आएको सुधार, अधिकांश मानिस गरिबीमा बाँच्न विवश बन्नुपरेको र पैसा कमाउन विदेश जानुपर्ने बाध्यता अनि तीमध्ये कतिपय बाकस बन्द भएर फर्किनुपर्ने अवस्थाको पनि उपन्यासकार खरेलेले कुशलतापूर्वक चित्रण गर्नुभएको छ ।
उपन्यासमा रेखा र बब्लुको प्रेम कहानी छ । अन्तरजातीय विवाहको पक्कापक्की भएपछि केटीकी हजुरआमाको मृत्यु भएका कारण केही समय विवाह गर्नु नहुने भएकाले केटो वैदेशिक रोजगारीमा विदेश जान्छ तर उसको उतै मृत्यु हुन्छ । यसरी रेखाकी हजुरआमा र बब्लु जो उपन्यासको प्रमुख पात्रका रूपमा रहेको हुन्छ उसैको मृत्यु हुनुले उपन्यास वियोगान्त वा दुःखान्त बन्न पुगेको छ । यसरी उपन्यास सिर्जमामा कल्पना खरेकोको सिद्धहस्तता देखिन्छ । उपन्यास साहित्यको स्थूल कृति हो । यसलाई गद्यमा लेखिएको महाकाव्य पनि भन्ने गरिएको छ । यस्तो हिम्मत गर्ने कल्पना खरेल वास्तवमा धन्यवादको पात्र हुनुहुन्छ ।

नेपाली साहित्य जगतमा अगाडि बढिरहनु भएकी कल्पना खरेलबाट नेपाली साहित्यले एउटा उपन्यास कृति पाएको छ । यसलाई एउटा उपलब्धि मान्नुपर्छ । उपन्यास लेखनमा जसतसले हाल हाल्न सक्दैन । कल्पना खरेलले यो आँट गर्नुभएको छ । यसका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ । यस पुस्तकको सफलताको कामना छ । यसरी नै यस स्तरको कृति साहित्य जगतलाई दिन सक्ने लेखकबाट नेपाली साहित्यले अन्य यस्तै पुस्तकहरूको अपेक्षा गर्नु अन्यथा हुनेछैन । उहाँलाई यसका लागि धेरै-धेरै शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?