सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव छैन : ओली

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले सुन तस्करीमा सरकारकै मिलेमतो भएको आरोप लगाउनुभयो । ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुनसक्छ ?,’ ओलीले भन्नुभयो, ‘त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र !’

सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरूलाई फसाउने काम गरिरहेको ओलीको आरोप छ । उहाँले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाउनुभयो । गठबन्धनका नाममा सत्तारूढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको आरोप लगाउनुभयो । ओलीले बेथिति, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको बताउनुभयो । ‘गठबन्धनका नाममा सबेले मिलीजुली देशलाई लुट्ने काम भइरहेको छ । अब एमालेको विकल्प छैन,’ अध्यक्ष ओलीले भन्नुभयोे ।

ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालीनता हुनुपर्ने बताउनुभयो । उहाँल भन्नुभयोे, ‘नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालीनता हुनुपर्छ ।’ अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालीनताका साथ जनताको सेवामा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको बताउनुभयो । उहाँले जनप्रतिनिधिलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनतालाई सरल र सहज रूपमा सेवा प्रवाहको अधिकतम् उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल, पार्टी सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याललगायत जनप्रतिनिधिले जनताको काम सहज तरिकाले गरेर पार्टीलाई मजबुत बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

हामी सुनको मालिक कुरिरहेका छौँ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा सरकारले ट्याक्सीलाई बाटैमा समातेकोमा असन्तुष्टि जनाउनुभएको छ । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सुनको मालिकसम्म नपुगेकोमा सरकारप्रति असन्तुष्टि जनाउनुभएको हो । ‘त्यो ट्याक्सीले सुन त मालिकसम्म लैजान्थ्यो होला नि । कहीँ गन्तव्यमा जाँदै थियो होला’, लामिछानेले भन्नुभयोे, ‘बीच बाटोसम्मको खबर पाउनेले, भरिया समाउन सक्नेले, मालिकसम्म किन पुगेन होला ?’

लामिछानेले आफूहरू त्यो सुनको मालिक कुरेर बसेको बताउनुभयो । ‘हामी मालिक हेर्न बसेका छौँ । त्यो सुनको मालिकचाहिँ को रहेछ ?, सरकार त्यो मालिकसम्म पुगोस् । जुन ढंगले सुन आएको छ, त्यो हेर्दा त सानोतिनो मालिक त होइन । धेरै ठूलो मालिकजस्तो लागेको छ । धेरै ठूलो मालिक देख्नेबित्तिकै अर्को फाइल खोल्नतिर लाग्ने हो कि ।’ उहाँले एउटा काण्डको छानबिन टुंगोमा नपुर्‍याई अर्को काण्डको फाइल खोल्ने गरेको भन्दै सरकारप्रति कटाक्ष गर्नुभयो । ‘भन्नलाई त हामीले ललितानिवास पनि खोल्यौँ, हामीले सुन काण्ड पनि खोल्यौँ, हामीले नक्कली भुटानी शरणार्थी पनि खोल्यौँ भन्ने । अनि खोल्नका लागि खोल्ने । फाइलका दुई/चारवटा पाना मात्रै खोल्ने, पछिल्लो पानासम्म नपुग्ने काम त कतै सरकारले गरिरहेको छैन ?’, उहाँको प्रश्न थियो । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नजिकबाट सबै चिज हेरिरहेको भन्दै खबरदारी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, ‘कुनै पनि काण्डको जरासम्म नपुगुञ्जेलसम्म संसद्मा पनि खरो रूपमा उपस्थित हुन्छ । आवश्यक परे जनमानसमा पनि खरो रूपमा उपस्थित हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?