सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पाल्पा-बुटवल सडक खण्डको तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइड क्षेत्र र निर्माणाधिन सुरुङमार्ग स्थलको दुबै तर्फको प्रवेश स्थलमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनमा आउन नसकेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सडकमा खसेको पहिरो पन्छाउन सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनका प्राविधिक तथा डोजर, स्काभेटर परिचालन भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

वर्षायाममा समेत निर्माण कम्पनी चाइना स्टेटले लगातार काम गरिहरेको छ । मेसिनको थर्काइबाट ठूलो पहिरो खसेको हुनसक्ने प्राविधिकहरूले अनुमान गरेका छन् । पहिरोले सडक खुलाउन केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । सडक बन्द हुँदा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पर्वत, बाग्लुङ, कास्कीलगायतका क्षेत्रमा आवतजावत गर्ने सवारी साधन र यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

केही दिनदेखिको परेको अविरल वर्षासँगै खसेको पहिरोले निर्माणधिन सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा समेत अवरोध सिर्जना भएको छ । एक हप्ता अघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेश विन्दु रिप पोर्टल पहिरोले पुरेको थियो । त्यस यता पटक-पटक गएको पहिरोले उत्तरतर्फको प्रवेश विन्दुमा समेत क्षति पुर्‍याएको छ । दक्षिणतर्फको प्रवेशद्वार पहिरोले भत्काएको छ भने उत्तरतर्फको प्रवेशद्वार पहिरोले पुरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले बताउनुभयो ।

उत्तरतर्फकोमा ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पुर्‍याएको देखिन्छ । दुवैतर्फको प्रवेश मार्गमा पहिरोले क्षति पुर्‍याएकाले काम रोकिएको इन्जिनियर ज्ञवालीले बताउनुभयो । पानी पर्नासाथ पुनः पहिरो खस्न सक्ने जोखिम रहेको उहाँको भनाई छ ।

बर्खाको समय भएकाले नेपाली प्राविधिकरुले ढलान गर्न नहुने भने पनि परियोजनाले एक हप्ता पहिले नै प्रवेश द्वारको ढलान गरेको थियो । ‘ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न भनेका थियौं , तर उहाँहरुले काम गरेपछि अहिले यस्तो अवस्था भयो’ इन्जिनियर ज्ञवालीले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?