आम्दानीको स्रोत बन्दै जंगली च्याउ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरवासको मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरवास (होमस्टे) पुग्न थालेका छन् ।

च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका होटल र घरवासका मुख्य परिकार हुन् । पश्चिम म्याग्दीको दरवाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ,गुर्जा, देविस्थान, विम जुनसुकै ठाउँका होटल तथा घरवासहरुमा यिनी आग्र्यानिक परिकार पस्केर पर्यटकहरुको स्वागत गर्ने गरिन्छ ।

पदयात्रा मार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटकहरु होउन् वा गुर्जा,मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरु र स्थानीय परिकारका पारखीहरुको पहिलो रोजाइमा रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताउनुभयो ।

धवलागिरि,मालिका,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनपर्ने भएकाले यसको मूल्य निकै महङ्गो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण वस्तीहरुमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरवासका सञ्चालक रेजिना पुनले बताउनुभयो ।

“घरवासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्” पुनले भन्नुभयो “पाहुँनाले आफ्ना परिवारका सदस्यहरु रहेको युरोप अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।”
रोतो च्याउ आलोमा रु आठ सय र सुकाएको रु चार हजारमा विक्रि हुने गरेको दरवाङ स्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो ।

जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीका स्थानीयवासीले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् ।

सुकेको रातो च्याउको माग धेरै भएपछि पु¥याउनै नसकिएको सुवेदीको भनाइ रहेको छ । स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताउनुभयो । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको घर्तीको भनाइ रहेको छ । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ ।

जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । रुमको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ । रातो च्याउ रुम लगाएत देविस्थान,विम,दिच्याम,गुर्जा,ओखरबोट लगायत जङ्गलमा पाइन्छ ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादनको व्यापार गर्दै आउनुभएका सुमन पौडेलले बताउनुभयो । उहाँले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेली पठाउने गरेको जानकारी दिनुभयो ।

देविस्थानकी रुपमाया घर्ती,रुमका वुद्धबहादुर विक,देविस्थानकी माया सिउथानी लगाएत यस क्षेत्रका २० भन्दा बढी व्यक्तिहरुले जंगली रातो च्याउ संकलन गरी विक्री गरेर वार्षिक रु ५० हजारदेखि रु दुईलाखसम्म आम्दानी गर्दै आएका स्थानीयले बताउनुभयो । रुमका बुद्धबहादुर विकले यस वर्ष मात्रै रु ४७ हजारको रातो च्याउ विक्रि गरेको जानकारी दिनुभयो ।

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन भयो त्यसरी नै रातो च्याउको विकास गर्न सकिन्छ ।”

यहाँको रातो च्याउ युरोप,अमेरिका लगाएतका देशहरुमा समेत पठाउन थालिए पछि आम्दानीको बलियो स्रोत वन्दै गएको स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?