सोचे झैँ गठबन्धन रहेनछ

Read Time = 16 mins

✍️शम्भु कोइराला
नमागिएको सल्लाह :
सत्तामा रहेको पाँचदलीय गठबन्धनले सहयात्री दलहरूसँग चुनावमा तालमेल गरेर आगामी मंसिरको चुनावमा सहभागी हुने निर्णय गरेको लामो समय भइसकेको छ । तर, यो आलेखलाई अन्तिम रूप दिने समयसम्ममा पनि सिट बाँडफाँटको टुंगो लागिसकेको छैन । नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एस पार्टीले ४० र अन्य साना दलहरूले पनि हैसियतभन्दा बढी दाबी गरे तापनि लामो रस्साकस्सीपछि पार्टीहरू आफ्नो अडानबाट लचक देखिएका छन् तर निर्णय हुन भने बाँकी रहेको छ ।

सत्ता गठबन्धन गरेर सबैले जितेको महसुस गराउनुपर्छ भनेर सुरु गरिएको सिट बाँडफाँटको गृहकार्य यति सकसपूर्ण हुनुको कारण मुख्य पार्टीहरूको भोलि बन्ने सरकारमा दाबी गर्न मिल्ने संख्या होस् भन्ने चाहना हो भन्ने बुझ्नलाई त्यति दिमागी कसरतको आवश्यकता छैन । यसमा जनमोर्चा भने अपवाद रहेको छ । सांगठनिक अवस्थाको आधारमा उसको माग नै दुई सिट हो । जसमा सत्ताघटक दलको ठूलो विमति रहेको छैन ।

संघीय संसदको १६५ सिटको बाँडफाट टुंग्याएर प्रदेशसभाको बाँडफाँटमा प्रवेश गर्ने भनेका दलहरूले छलफलको क्रममा प्रदेशको पनि एकैसाथ टुंग्याउँन सके बाँडफाँट सहज हुने र संघमा एउटा पार्टीको भागमा परेको क्षेत्रमा प्रदेशको सिट अर्को पार्टीलाई छोड्ने समझदारी गरेको कारणले पार्टीहरूमा सामूहिक भावना बलियो हुने तताएर गृहकार्य भइरहेको भनेर बताइएको छ । समानुपातिकतर्फका सदस्यको परिवर्तनसहितको अन्तिम नामावली बुझाउने दिन असोज १६ गतेअगाडि नै यसको गृहकार्य टुंग्याउन दलहरू लागिपरेका छन् । खासगरी मधेस प्रदेशलाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आफ्नो आधार क्षेत्र मानेको कारण त्यहाँको बाँडफाँटमा सकस परेको भनाइ गठबन्धन दलहरूको रहेको छ ।

पार्टीलाई मनबाट नै एकमत बनाएर प्रतिभाशाली र लोकप्रिय युवा नेताहरूलाई पार्टी सत्ताको बाग्डोर हस्तान्तरण गरेर गिरिजाप्रसाद कोइरालाले जस्तो नराम्रो विगतलाई पनि सुधार गर्नेछन् भन्ने अपेक्षा गरेर बसेको अर्को पक्ष हरेक घटनामा आफूलाई बेवास्ता गरेर अघि बढेकोमा क्षुब्ध छ ।

सत्ताघटकभित्र सिद्धान्तभन्दा पनि सत्तास्वार्थले बढी प्रभाव पारेको छ । प्रमुख प्रतिपक्ष एमाले पार्टीका अध्यक्ष केपी ओली र राष्ट्रपतिको मिलिभगतमा संविधानमाथि निरन्तर भएको प्रहारले पनि सत्ताघटक दलहरूलाई मिल्नै पर्ने परिस्थितिमा पु¥याएको छ । यी पार्टीका लागि मुख्य राजनीतिक र सैद्धान्तिक आधार भनेको यही नै हो । सिट बाँडफाँटमा देखिएको विलम्ब र त्यहाँभित्रको रस्साकस्सी, नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक प्रजातन्त्रको कमजोर अवस्था, पार्टी सभापति देउवाको हुकुमी शैली, भागबण्डा टुंगिएपछि कांग्रेस, माओवादीलगायत ठूला पार्टीहरूमा देखिने विद्रोहको कारण पनि सत्ताघटकको आगामी गठबन्धन र सत्तायात्रा त्यति सहज देखिएको छैन । यो आलेखम सत्तागठबन्धनको आगामी यात्रा किन सहज छैन भन्ने सन्दर्भमा चर्चा गर्नेछौँ ।

नेपाली कांग्रेसलगायत ठूला पार्टीमा देखिएको असन्तुष्टि र आक्रोश चौधौं अधिवेशनपछि सभापति देउवाले सबैलाई समेट्नेछन्, पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गरेर सबैलाई न्यायपूर्ण अवसर प्रदान गर्नेछन् र परम्परागत अकर्मण्यशैलीलाई परिवर्तन गरेर आफ्नो अनुभव र युवा महामन्त्री द्वयको युवाजोश, कर्मशीलता र बौद्धिक प्रखरताको उपयोग गरेर नयाँ जीवन प्रदान गर्नेछन् भन्ने अपेक्षा गरेका नेता कार्यकर्ता शुभेच्छुकहरू निराश बनेका छन् ।

पार्टीलाई मनबाट नै एकमत बनाएर प्रतिभाशाली र लोकप्रिय युवा नेताहरूलाई पार्टी सत्ताको बाग्डोर हस्तान्तरण गरेर गिरिजाप्रसाद कोइरालाले जस्तो नराम्रो विगतलाई पनि सुधार गर्नेछन् भन्ने अपेक्षा गरेर बसेको अर्को पक्ष हरेक घटनामा आफूलाई बेवास्ता गरेर अघि बढेकोमा क्षुब्ध त छँदैथियो । जब समानुपातिकको नाम पनि महामन्त्रीहरूसँग सल्लाह नगरी पठाइयो त्यसपछि यो पक्ष विद्रोही मानसिकतामा पुग्यो । ‘मर्ता क्या नही कर्ता’ भन्ने शैलीमा उत्रिएको शेखर-गगन पक्षले दबाबका कार्यक्रम अघि बढाएर प्रमुख प्रतिपक्षी नेता ओलीसँग हिमचिम बढाएपछि देउवा संवाद गर्न तयार भएको बताइएको छ ।

देउवाको पार्टीभित्र प्राविधिक बहुमत भए तापनि जनतामाझ अलोकप्रिय छन् भन्ने विषय जगजाहेर छ । यो अलोकप्रियताले शहरी क्षेत्रमा देउवा गुटका कार्यकर्तालाई चुनाव जित्न फलामको चिउरा चपाएसरह हुनेछ । यद्यपि देउवाको विरासत रहेको क्षेत्र डडेल्धुरामा कर्ण मल्ल पक्ष र अरू किसिमको अवरोध रहे तापनि ग्रामीण क्षेत्र भएको र सत्ता र शक्तिको प्रभाव पनि पर्ने भएकाले जेनतेन उहाँलाई चुनाव हराउन अर्को शक्तिलाई सहज भने हुनेछैन ।

उहाँको विजयले प्राविधिकरूपमा उहाँलाई भावी प्रधानमन्त्रीको दह्रो सम्भावित उम्मेदवारको रूपमा उभ्याउनेछ । किनभने पार्टीभित्र अर्को पक्षलाई समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा पेश गर्ने समयदेखि नै पाखा लगाउन कोसिस गरिएको छ । संसदीय दलमा उम्मेदवारी दिने बताएका महामन्त्री गगन थापालाई कमजोर बनाउने खेल देउवा गुटभित्रका उपगुटहरूले आआफ्नो किसिमले सुरु गरिसकेका छन् ।

सहयात्री दलमध्येको ठूलो पार्टी कांग्रेसभित्रको यो ठूलो विग्रहलाई नियालिरहेका माओवादीलगायत दलहरूले कांग्रेसभित्रको किचलो समाधान नगर्ने हो भने मत स्थानान्तरण असम्भव हुने महसुस गरेका छन् । पार्टीभित्रको जनतामाझ जाने क्षमता र हैसियत भएको पक्षले दवावदिएको अवस्थामा मात्र सभापति देउवा आफ्नो पार्टीको अर्को पक्षसँग संवादमा रहने अवस्था बन्नु अर्को विडम्बनापूर्ण परिस्थिति हो ।

पार्टीभित्र देउवा र देउवा समूहलीको हुकुमी शैलीले पार्टीलाई नीति र सिद्धान्तहीन बनाएको अवस्थामा कांग्रेसको ओज नतामाझ जाने र जनतालाई हौसला भरेर पठाउन सक्ने क्षमता दुई युवा महामन्त्री र उनीहरूको टिममै रहेको छ ।

पूर्वाग्रह नराखी भन्नुपर्दा जुन क्षेत्रमा चुनाव प्रचारका लागि देउवाहरू जानेछन् उनीहरूको सभा सुनेका मतदाता र जनताले निराशा र दिक्दारी लिएर घर फर्कनुपर्ने अहिलेको अवस्था हो । युवा पुस्ताका मतदाता साथमा लिएर देउवालाई सुन्न आएका अभिभावकलाई नयाँ पुस्ताको मतदाताले कस्तो नेताको पछि लागेको भनेर प्रश्नमात्र गर्ने होइन, अभिभावकलाई घृणा नै गर्नुपर्ने परिस्थिति बनिरहेकै हो । आगामी चुनावमा त्यसमा अझ बढोत्तरी हुने हो ।

जनतामाझ यस्तो अप्रिय मानिएका नेता नै प्राविधिक बहुमतका आधारमा पुनः संसदीयदलको नेता र सम्भाव्य प्रधानमन्त्रीको उम्मेदवार बन्नु समग्र राजनीतिक प्रणालीकै असफलताको रूपमा बुझियो भने अन्यथा नमान्दा हुन्छ । देउवाहरूको उपलब्धिविहीन सत्तारोहण, प्रणालीमाथि नै वितृष्णाको रूपमा बुझेर बालेन वा अरू कुनै स्वतन्त्रको अगुवाइमा युवाहरू विद्रोही बनेको कारण पनि यस्तै हो ।

विश्वप्रकाश सहितको शेखर-गगन पक्षसमेतको एकढिक्का कांग्रेसजनले मनदेखि चुनावी अभियान सञ्चालन गरिदिए मात्र मत स्थानान्तरण हुने बुझेका गठबन्धनभित्रका सहयात्री दलका नेताले देउवामाथि दवाव बढाएर समग्र कांग्रेस चुनावमा होमिने परिस्थिति बनाउन सकेनन् भने गठबन्धन यात्रा सहज नबन्ने निश्चित छ । पार्टीको सिद्धान्त बाहिरको गठबन्धनको कारण माओवादी केन्द्रभित्र पनि गलत प्रभाव परेको देखिएको छ । युद्धको समयमा प्रमुख दुश्मन शक्ति नेपाली कांग्रेस भनेर प्रशिक्षित कार्यकर्ता आजको अवस्थामा गतिशीलता नभएको कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएर जनजीविका कष्टकर भएको हेर्ने धैर्य गुमाएको अवस्थामा छन् ।

यो विद्रोहको घातक स्वरूप धनकुटा जिल्लामा देखिपरिसकेको छ । युद्धकालमा ज्यानको बाजी लगाएका कार्यकर्ताले सिद्धान्तहीन गठबन्धनको कारण पार्टीको अवस्था कमजोर भएको भनेर पार्टी परित्याग गरिसकेका छन् । यस्तो विद्रोहको स्वरूप गठबन्धनका सबै दलहरूमा देखिने छ । टिकट वितरणको टुंगो लागिसकेपछि अझ घातकरूपमा देखिने सम्भावना छ । युद्धको समयमा मुख्य दुश्मन भनेर सिकाइएका र मुगाको थापा परिवारको घर जलाउँनेजस्तो निकृष्ट कृत्यमा लगाइएका कार्यकर्ताले तिनै दुश्मन भनिएका नेताका पुत्रलाई कांग्रेसको चुनाव चिहृनमा मतदान गर्नुपर्ने अवस्था बन्न लागेको कारण पनि स्थानीय माओवादी कार्यकर्तामा वितृष्णा उत्पन्न भएको हुनसक्छ ।

यो पार्टीको झोले :
कुनै समय थियो । मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना भएपश्चात् तत्कालीन पञ्चायती व्यवस्थाका समर्थकलाई ज्यान जोगाउन कठिन थियो । कसैले यो मण्डले भनेपछि ज्यान जोगाउन मुस्किल पर्ने अवस्था थियो । यस सिलसिलामा कतिपयको आन्दोलनको समयमा भीडको प्रहारबाट ज्यान पनि गएको थियो । सुरक्षा निकायसमेत यस्तो भीडको चपेटामा परेको थियो । काठमाडौं महानगरपालिकाको मेयरमा युवा जोशका बालेन्द्र साहको उदयपछि स्वतन्त्र मेयरको अभियानमा बाधाविरोध गर्ने पार्टी कार्यकर्तालाई पूर्वमण्डलेकै अवस्थामा पुर्‍याउने लक्षण देखिएको छ ।

बालेनको डोजर चलेको ठाउँमा जायज तर्क राख्दा पनि उनको पछि लागेको भिडले ‘यो पार्टीको झोले हो’ भनेपछि लुरुक्क परेर पछि हटेको अवस्था देखिँदैछ । कुनै समय पार्टीको कार्यकर्ता हुनु गौरवको विषय थियो । आज परिस्थिति ठीक उल्टो भएको छ ।

बालेनको डोजर चलेको ठाउँमा जायज तर्क राख्दा पनि उनको पछि लागेको भीडले ‘यो पार्टीको झोले हो’ भनेपछि लुरुक्क परेर पछि हटेको अवस्था देखिँदैछ । कुनै समय पार्टीको नेता कार्यकर्ता हुनु भनेको गौरवको विषय थियो । आज परिस्थिति ठीक उल्टो भएको छ । पार्टीमा आबद्ध मानिस भनेको भ्रष्ट नेताको झोले भन्ने बुझाइ युवा पंक्तिमा बढ्ने क्रममा छ । यसरी जनविश्वास खासगरी कुनै पार्टीमा आबद्ध नभएका युवापुस्ताको विश्वास गुमाएको अहिलेका प्रमुख पार्टीहरूको नेतृत्वले हाँकेको चुनावप्रति यसबाट प्रत्यक्ष लाभान्वित हुनेबाहेक कसैलाई चासो भएको देखिँदैन । जनतालाई हुनसम्मको धर्म संकटको अवस्था रहेको छ ।

कांग्रेसलाई मतदान गरेमा देउवाजस्ता व्यक्तिलाई मुलुकको बाग्डोर सुम्पनुपर्ने अवस्था र अर्कातिर प्रमुख प्रतिपक्षी एमालेलाई मतदान गर्दा संविधान, कानुन, नियम आफैँ हो भन्ने गफको पोको ओलीलाई छान्नुपर्ने अवस्था । यस्तो अवस्थामा उपयुक्त वैकल्पिक राजनीतिक शक्ति भएको भए मतदातालाई उपयुक्त विकल्प हुनसक्ने थियो । त्यो पनि नभएको अवस्थामा शहरी मतदाताको आक्रोश स्वतन्त्रमा मतदान गरेर साम्य हुनेछ भने ग्रामीण मतदातामाझ पार्टीको संगठन र सत्ता र शक्तिको प्रभावले काम गर्ने अवस्था देखिन्छ ।

पार्टीनेताहरूको अकर्मण्य र अन्यायपूर्ण शैलीका कारण तेजहीन देखिएका र स्वतन्त्र युवाहरूको नजरमा झोलेमा परिणत भएका कार्यकर्ताको बलमा चुनावी अभियान सञ्चालन गरेर विजय प्राप्त गर्नु गठबन्धन दलका लागि चुनौतीपूर्ण रहेको छ । चुनावी गतिविधि र चुनावको ज्वरो बढ्दै गएपछि गठबन्धनका दलहरूलाई महसुस हुनेछ- ‘सोचे झैँ गठबन्धन रहेनछ’ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?