मनिषले थाइल्याण्डमा व्यावसायिक फुटबल खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको क्लब रायोङ फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्नुहुने भएको छ । मनिषले नयाँ सिजनका लागि रायोङसँग एकवर्षे सम्झौता गर्नुभएको हो ।

गत सिजन १८ टोली सम्मिलित दोस्रो डिभिजन लिगको सातौँ स्थानमा रहेको टोलीले शीर्ष डिभिजनमा उक्लने लक्ष्यसहित उहाँलाई अनुबन्ध गरेको हो । योसँगै उहाँ नेपालबाट प्रतिनिधित्व गर्दै विदेशमा व्यावसायिक फुटबल खेल्ने अर्को नयाँ खेलाडी बन्नुभएको छ ।

यसअघि नेपालका रोहित चन्द, किरण चेम्जोङ, विमल घर्तीमगर, सावित्रा भण्डारी, अनन्त तामाङलगायत खेलाडीहरूले विदेशमा गई व्यावसायिक फुटबल खेलिसक्नुभएको छ । उहाँ थाई लिगमा अनुबन्धित पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ ।

मनिषले यसअघि उक्त क्लबबाट एक मैत्रीपूर्ण खेल खेल्दै एक गोलमा सहायकको भूमिका निर्वाह गरेसँगै क्लबले उहाँलाई अनुबन्ध गरेको हो । उक्त खेलमा रायोङ दुई-एक ले विजयी रहेको थियो ।

मनिषले गत सिजन नेपालको ‘ए’ डिभिजन लिगमा संकटा क्लबबाट खेल्नुभएको थियो । उहाँले २४ खेलमा चार गोल र दुई असिस्ट प्रदान गर्नुभएको थियो । राष्ट्रिय टोलीबाट २२ खेल खेलिसक्नुभएका मनिषले हालसम्म दुई गोल गर्नुभएको छ । उहाँले लाओसविरुद्ध थ्री नेसन्स कपको फाइनलमा पनि गोल गर्नुभएको थियो ।

मनिषले त्यसअघि बहराइनको अल रिफ क्लबमा पनि केही दिन प्रशिक्षण लिनुभएको थियो । त्यसअघि मच्छिन्द्र क्लबबाट ए डिभिजन लिगको उपाधि जितेलगत्तै उहाँलाई अर्को सिजनमा संकटाले अनुबन्ध गरेको थियो । उहाँले नेपाल सुपर लिग भने विराटनगर सिटी फुटबल क्लबबाट खेल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?