राजसंस्था अपरिहार्य भएको निष्कर्ष : मिश्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर विविध विषयमा छलफल भएको सार्वजनिक गर्नुभएको छ । उहाँले पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको खुलासा गर्दै बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटसमार्फत भेटघाट र छलफल भएको सार्वजनिक गर्नुभएको हो ।

मिश्रले पूर्व-राजासँगको तस्बिर पनि सेयर गर्दै आफ्नो डेढ घण्टा लामो कुराकानी भएको जानकारी दिनुभएको छ । यसलाई मिश्रले १५ वर्षपछिको प्रेमपूर्ण भेट भनेर चित्रण गर्नुभएको छ ।

उहाँले पूर्व-राजासँग सौहाद्र्धपूर्ण कुराकानी र छलफल भएको जनाउँदै बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालिएको पनि उल्लेख गर्नुभएको छ ।

मिश्रले मंसिर ४ को निर्वाचनअघि पनि राजतन्त्र र हिन्दू राज्यको खुलेर वकालत गर्दै आउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘१५ वर्षपछिको प्रेमपूर्ण भेट, असोचनीय स्तरको प्रतिकूलता व्यहोर्नुभएका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उहाँको सदाझैँको शालीनता/सौम्यता/समझदारी/देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था’, उहाँले भन्नुभएको छ, ‘बढ्दो भूराजनीतिक/आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष !’

मिश्रले नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिभावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि नपाइने आफ्नो निष्कर्ष उल्लेख गर्नुभएको छ । उहाँले आफू पत्रकार हुँदा र राजा ‘राजा’ नै हुँदा सन् २००७ मा उहाँलाई दुईपटक भेटेको बताउनुभएको छ । मिश्रले भन्नुभएको छ, ‘राजाको दीर्घायुको तथा देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनस्र्थापनामा सहमत होऊन् भन्ने कामना गर्दछु । यो नेपालका लागि मात्र नभएर, दक्षिण एसियाकै दीर्घकालीन हितमा हुनेछ ।’

कुनै समय विवेकशील साझा पार्टीको नेतृत्वमा रहनुभएका मिश्र मंसिर ४ को निर्वाचनअघि राप्रपामा प्रवेश गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?