कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

थापाले आजै केहीबेर अघि प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो। थापालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बन्नुभएको थियो। कोशीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त हुनुभएको थियो ।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरिदिएपछि प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गर्नुभएको थियो ।

अहिले माओवादीबाट निर्वाचित सभामुख गौतमलाई राजीनामा गराएर गठबन्धनले सरकारको दाबी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?