टी-२० विश्वकपको एसिया छनोटका लागि खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो ।

एसिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यसैगरी समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यानमार र थाइल्याण्ड छन् । आ-आफनो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई राष्ट्रले भने बंगलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन् ।

नेपाली टोलीका लागि छनोट हुनेमा नेपाली टोलीकी कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का हुनुहुन्छ । त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोदार पनि छनोटमा पर्नुभएको छ ।

प्रतियोगिता मलेसियामा अगष्ट ३१ देखि ९ सेप्टेम्बरसम्म हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार छन् । प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

ग्लोबल महिला टी-२० विश्वकपमा आयोजक श्रीलंका र आयरल्याण्डसँगै पाँच क्षेत्रीय छनोटबाट आउने आठ टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकप खेल्न पाउनेछन् ।

२०२४ को महिला टी-२० विश्वकप बंगलादेशमा हुनेछ । बंगलादेशमा हुने विश्वकपमा गत वर्ष दक्षिण अफ्रिकामा सम्पन्न महिला टी-२० विश्वकपका शीर्ष ६ टोली दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड र वेस्टइण्डिज सोझै छनोट भएका छन् । पाकिस्तान वरीयताका आधारमा विश्वकपमा पुगेको थियो । बंगलादेश आयोजक हुँदा स्वतः छनोट भएको छ । आठ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?