काभ्रेपलाञ्चोक । कोदोको बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार भन्ने नाराका साथ काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा साउन १५ गते तेस्रो कोदो दिवस मनाइएको छ । मण्डन देउपुर नगरपालिका-६ मा औपचारिक कार्यक्रमसहित कोदो रोपेर दिवस मनाइएको हो । राष्ट्रिय कृषक समूह महासंघ, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस्(अनाज) मण्डन देउपुर नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), केयर नेपाल र मिलन महिला कृषक समूह मण्डन देउपुरद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा खाद्य सुरक्षाका लागि कोदो र कोदोजन्य खाद्य पदार्थको उत्पादनमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । महासंघका अध्यक्ष नवराज बस्नेतले कोदो बाली साना, सीमान्त कृषकको जीविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउन जरुरी रहेको बताउनुभयो ।
कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठले सरकारले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न एक सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम गरेकोमा यस वर्ष एक सय ६७ गाउँपालिकामा बाली प्रवद्र्धन गरिने बताउनुभयो । सकेसम्म सरकारीस्तरबाटै साउन १५ लाई कोदो दिवस भनेर वार्षिक क्यालेण्डरमा राख्न प्रयास गरिने उहाँले बताउनुभयो । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले छोड्दै गएका रैथाने बालीलाई सरकारले प्रवद्र्धन जोड दिन थालेको बताउनुभयो । राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले विगतमा हेला गरिएको कोदोको महत्व बढ्दै गएको र कोदो दिवसको समेत सुरुवात भएको बताउनुभयो ।
नेपाल कोदो उत्पादनमा सक्षम हुँदाहुँदै पनि वार्षिक ७३ करोड आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले कोदो उत्पादन बढाएर निर्यातको अवस्थामा पुग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोदो दिवसमार्फत् कोदो खेती छाड्दै जाने प्रवृत्तिविरुद्ध खबरदारीको क्रम सुरु भएको भन्दै कोदो दिवसलाई सरकारले मान्यता दिनुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२३ लाई सीमान्त बाली (कोदो) अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने घोषणा गरेसँगै नेपाल सरकारले पनि कोदो वर्ष मनाउन सुरु गरेको हो । भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसंघले २०२३ लाई कोदोजन्य वर्षका रूपमा मनाउने निर्णय गरेको थियो । ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाइरहेको छ ।
नेपाल कोदो उत्पादनमा विश्वकै १३औँ स्थानमा पर्छ । खाद्य तथा कृषि संगठनको सन् २०२० को तथ्यांकअनुसार नेपालमा तीन लाख २० हजार नौ सय ५३ मेट्रिकटन कोदो उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सात करोड १५ लाख २७ हजारको कोदो आयात भएकोमा २०७७/०७८ मा सात करोड २२ लाख रुपैयाँ र २०७९/८० मा बढेर ७३ करोड २० लाखको कोदो आयात भएको छ । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिपूर्ण खाद्यान्नका रूपमा कोदोलाई लिइँदै आएको छ । नेपालको तराईलगायत समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ ।
मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदोको परिकार राम्रो मानिन्छ । नेपालमा अरुण, भदौरे, चरिकोटे, चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दुधे, झुप्पे, कलोबुङे, कात्तिकेलगायत ५० भन्दा बढी जातका स्थानीय तथा उन्नत जातका ओख्ले, डल्ले, काभ्रे, सैलुङ कोदो लगाउने गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच