लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ। राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ क बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।

उनीमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको सूचनामा अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको अवस्थामा मुद्धाको किनारा नलागेसम्मको लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ,’ भन्ने व्यवस्था छ।

सोहि ऐनको दफा ३३ मा निजउपर दफा ३६ ले मुद्दा दायर भएकोमा त्यस्ता राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ।

लुम्बिनी प्रदेशसभा सदस्य सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ घ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ घ ले स्पष्ट पारेको र विशेष अदालतमा दायर भई विचाराधीन अवस्थामा रहेको मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन अख्तियारले प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।

सोहि पत्रको आधारमा यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

अख्तियारले यादवसहित तत्कालीन कपिलवस्तु जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित र सहायक वन अधिकृत शिवशंकर प्रसादविरुद्ध मुद्दा दायर गरेको छ।

त्यस्तै प्रदेश वन निर्देशनालय रुपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाई, सब डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, वन रक्षकहरु सन्जय थारु, संजय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया र फरेष्टर रमतु चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। यी मध्ये गोदियाले अवकाश प्राप्त गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?