भारतमा हुने ज्वेलरी मेलामा नेपालको सहभागिता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डल भारतको मुम्बईमा आयोजना हुन गइरहेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो (आइआइजेएस) २०२३ मा भाग लिन बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । महासंघका उपाध्यक्ष एवं मेला समिति संयोजक विपिन रामुदामुको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल मेलामा सहभागिताका लागि प्रस्थान गरेको हो ।

मेला साउन १८ देखि २३ सम्म भारतको मुम्बई स्थित ‘मुम्बई एक्जिबिसन सेन्टर’ मा हुँदैछ । सुनचाँदी तथा गरगहना व्यवसायलाई लक्षित गरी मेलाको आयोजना हुन लागेको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी तथा हिरा जवाहरातका गरगहनाको खरिद-बिक्री, प्रविधि हस्तान्तरण, सीप विकास, बजार व्यवस्थापनलगायतका क्षेत्रमा मेला फलदायी हुने बताउनुभएको छ ।

साथै मेलामार्फत् दुई देशका व्यवसायीबीचको सम्बन्ध विस्तार र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । जेम्स एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोसन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा हुने मेलामा विश्वभरका सुनचाँदी तथा आधुनिक व्यवसाय क्षेत्रका पारखी उद्यमी-व्यवसायी सहभागी हुने महासंघले जनाएको छ ।

जेम्स एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोसन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो । सुन तथा चाँदीलगायत बहुमूल्य धातुका गरगहनासम्बन्धी सबै खालका जानकारी तथा आवश्यकता पूरा गर्न सम्बद्ध व्यवसायीका लागि मेला फलदायी हुने गरेको बताइएको छ । इण्डिया इन्टरनेशनल ज्वेलरी शो हरेक वर्षको दुईपटक आयोजना हुने गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?