विकासको नारा बोक्ने पंगेनी र बिपीसँगको सम्बन्ध

Read Time = 11 mins

✍️ गोविन्द मरासिनी

एक जनप्रिय र विकासप्रेमी नेता कमल पंगेनी अस्ताएको दिन । २०७५ साल साउन २० गते नेपाली कांग्रेस स्याङ्जाले आफ्नो जिम्मेवार अभिभावक गुमाएको थियो भने देशले एक भद्र र शालीन स्वभावका नेता गुमाएको थियो । अहिलेको परिप्रेक्ष्यमा राजनीतिक दलका नेता भन्नेबित्तिकै आमजनसमुदायको नजरमा त्यति राम्रो छवि भएको पाइँदैन । तर, स्व. पंगेनी अलि फरक स्वभावका हुनुहुन्थ्यो । अझ भनौँ आमस्याङ्जावासी जनता र समग्र देशकै लागि उहाँ निष्ठावान र इमानदार नेता हुनुहुन्थ्यो ।

आफ्नो क्षेत्रमात्र नभई समग्र स्याङ्जा र सम्पूर्ण देशकै कुना कन्दरामा विकासको नारा बोकेर नेपाली कांग्रेसको राजनीतिमा होमिनुभएका पंगेनीलाई आज स्याङ्जाली जनताले मात्र नभएर सम्पूर्ण देशवासीले समेत बिर्सन सकेका छैनन् । स्कुले जीवनको कलिलो उमेरदेखि नै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएर पृथ्वीनारायण क्याम्पसमा अखिलसँग मुठभेड गर्दा होस्, बिपी कोइरालालाई मण्डलेको निशानाबाट जोगाउँदा होस्, चुनावमा क्रममा तत्कालीन कम्युनिष्टहरूको निशानामा पर्दा होस् उहाँ कहिल्यै पनि डगमगाउनुभएन ।

पिता बालकृष्ण उपाध्याय पंगेनी र माता स्व. मोहनकुमारी पंगेनीको माहिला सुपुत्रका रूपमा २०१९ साल जेठ १९ गते स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ६ मा पंगेनीको जन्म भएको थियो । बाल्यकालदेखि नै राजनीतिमा चासो देखाउने भद्र र शालीन स्वभावका पंगेनीले १४ वर्षको कलिलो उमेरमै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।
२०३६ सालतिर बिपी कोइराला आमसभाका लागि स्याङ्जाको राङखोला पुग्नुभएको थियो । पंगेनीले भर्खरै मात्र राजनीति सुरु गर्नुभएको थियो । बिपीसँगै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ, खगेन्द्र रेग्मी, महादेव गुरुङ र देवी अर्याललगायतका नेता कार्यकर्तासँगै थिए ।

बिपीको समूहलाई तत्कालीन मण्डलेहरूले आक्रमण गरेका थिए । अर्कोतर्फ ठूला आमसभा गर्नका लागि प्रतिबन्ध लगाइएकाले प्रहरीले आमसभा नगर्न आग्रह गरेको थियो । तर, आमसभा गर्ने तयारी गरेपछि प्रहरीले पंगेनीसहितका नेतालाई प्रहरीले लखेटेको थियो । त्यसै समयमा बिपी कोइरालालाई भने पोखरा पठाइएको थियो । पंगेनी त्यसको साक्षी मात्र हुनुभएन प्रहरीको कुटाइसमेत खानुभएको थियो ।

छोटो समयमै राजनीतिक जीवनलाई उचाइमा पुर्‍याउन सफल देखिनुभएका पंगेनीले २०४२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, पार्टीको जिल्ला सदस्य, सह-सचिव हुँदै २०५९ मा नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिकका तर्फबाट पंगेनी पहिलोपटक स्याङ्जा जिल्लाको सभापति बन्नुभएको थियो ।

छोटो समयमै राजनीतिक जीवनलाई उचाइमा पुर्‍याउन सफल देखिनुभएका पंगेनीले २०४२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, पार्टीको जिल्ला सदस्य, सह-सचिव हुँदै २०५९ मा नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिकका तर्फबाट पंगेनी पहिलोपटक स्याङ्जा जिल्लाको सभापति बन्नुभएको थियो । २०६४ मा पार्टी एकीकरणपश्चात् नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सहसभापति बन्नुभएका उहाँ क्रमशः २०६७ र २०७२ मा लगातार सभापति हुनुभयो ।

२०५३ सालमा खेलकुद विकास समितिको अध्यक्ष, २०५६ मा खेलकुद पश्चिमाञ्चल अध्यक्ष, जिल्ला विकास समितिको इलाका सदस्य हुँदै २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला क्षेत्र नं. १ बाट पराजय भोग्नुभएका पंगेनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट विजयी हुँदै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । कांग्रेसको प्रभाव रहेको क्षेत्र मानिने स्याङ्जा क्षेत्र नं. २ मा पंगेनीले सहज जित हासिल गर्नुभयो । तर, २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा तथा संघीय निर्वाचनमा पंगेनीले प्रतिनिधिसभामा टिकट पाउनुभएन । टिकट नपाएपछि उहाँ स्याङ्जा क्षेत्र नं. १ प्रदेशसभा (क) मा निर्वाचन लड्नुभयो ।

तर, तत्कालीन माओवादी र एमालेको गठबन्धनका कारण उहाँले पराजय भोेग्नुभयो । चुनावमा पराजित भएपछि पंगेनीले तत्कालीन अवस्थामा देखाएको भद्र एवं शालीनता सबैका लागि प्रेरणासमेत बनेको थियो । आफूलाई पराजित गर्ने तत्कालीन माओवादीका नेता दीपक घर्तीमगरलाई खादा र मालाले सम्मान गर्दै पंगेनीले ‘लौ मेरो पनि प्रतिनिधित्व गरिदिनु होला’ भन्नुभएको थियो ।

उहाँ विसं. २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र विसं २०६२/०६३ को आन्दोलनमा पनि सक्रिय हुनुभयो । नेपाल विद्यार्थी संघको एक कार्यकर्ताबाट सुरु भएको यात्रा विभिन्न तह र तप्काका पद सम्हाल्दै देशको माननीय र पार्टीको जिल्ला सभापतिसम्मको नेतृत्व सम्हाल्नुभएका पंगेनीलाई २०७५ सालमा देशले गुमायो ।

स्व. पंगेनी राजनीतिमा मात्र सक्रिय हुनुहुन्थ्यो भन्दा सायदै उहाँको परिचयले पूर्णता पाउँदैन । उहाँ एक कुशल समाजसेवी पनि हुनुहुन्थ्यो । सांसद पदमा रहँदा होस् वा कुनै पदमा नरहँदा होस् उहाँ कहिले सडक त कहिले खानेपानीलगायतका विकासमा योजना लिएर स्थानीयस्तरदेखि मन्त्रालयका सचिव र मन्त्रीहरूका कार्यकक्षसम्म पनि पुगिदिँदा आमकार्यकर्ता उहाँसँग प्रभावित थिए । चाहे जनताको व्यक्तिगत काम नै किन नहोस् साधारण तरिकाले जनताले भनेको ठाउँमा पुग्नुहुन्थ्यो । आफ्नो र जनताका कामका लागि तल्लो तहका नेता र कर्मचारीहरूसँग पनि सम्बन्ध राम्रो बनाउने उहाँको स्वभाव थियो । यही स्वभावकै कारणले त उहाँलाई आफ्नो मर्यादा कायम गर्न नसकेको आरोप लाग्ने गरेको थियो ।

उहाँ राजनीतिसँगै आफ्ना क्षेत्रका जनताका बारेमा पनि उत्तिकै चिन्तित देखिनुहुन्थ्यो । २०७२ सालको भूकम्प गएका बेला उहाँले प्रायः समय आफ्नै क्षेत्रका स्थानीयलाई पाल, खानेकुरालगायतका जे-जति सक्नुहुन्थ्यो, त्यति दिएर उतै रमाएर भूकम्पबाट पिल्सिएका, घाउ लागेका जनताको मलम लगाउनमा व्यस्त रहनुभयो ।

स्याङ्जाको समग्र राजनीतिमा वडादेखि जिल्लास्तरका नेताहरूलाई एकै ठाउँमा बसाएर कुरा गराउने खुबी उहाँमा थियो । कांग्रेसमा गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई वैचारिक ढंगले चलाउनुपर्छ भनी फरक मत राख्ने उहाँले सदैव आफ्ना मन्तव्यमा जल, जमिन, जंगल र जवानी (४ ज) को भरपुर सदुपयोग गर्दै समृद्ध नेपालको निर्माण गर्नुपर्ने चाहना राख्नुभयो । मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न जल, जंगल, जमिन र जवानी (युवा) को उचित परिचालनमा पार्टीले आवश्यक पहल गर्नुुपर्ने उहाँको जोड रहने गथ्र्यो ।

उहाँको निधनपश्चात् स्याङ्जा कांग्रेसको नेतृत्व युवा नेता राजु थापाले सम्हाल्नुभयो । हाल स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका थापाले उहाँको बाटो पछ्याउँदै जनताका हर समस्यामा मलम लगाउनुका साथै विकासमा केन्द्रित रहेको देखिन्छ । पंगेनीको निधनसँगै अलपत्रमा परेको चार ‘ज’ को समायोजन गर्दै नेपाललाई विश्वकै विकसित मुलुक बनाउने सपनालाई वर्तमान सभापति थापाले समेत आत्मसात गरेर अगाडि बढेको देखिन्छ । यस विषयमा थापाले पनि पटक-पटक आफ्ना मन्तव्यमा प्राथमिकताका साथ उठान गर्ने गर्नुभएको छ । पंगेनीले पार्टीलाई जुझारु बनाउन र समग्र जिल्लाको विकासमा खेलेको भूमिकालाई भावी पुस्ताका नेताहरूले अनुशरण गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । (लेखक पत्रकार हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?