पर्यावरणमैत्री दिगो कृषिमा जोड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रसायनमुक्त, पर्यावरणमैत्री दिगो कृषिमा जोड दिँदै आएको खाद्यका लागि कृषि अभियानले पछिल्लो समय सो सम्बन्धी बहस-पैरवीलाई तीव्रता दिएको छ । अभियानद्वारा शुक्रबार काठमाडौंमा आयोजित पर्यावरणीय कृषिः सन्दर्भ, मर्म र सम्भाव्यता विषयक कार्यक्रममा विज्ञहरूले विषादी र रसायनयुक्त कृषिले मानवलगायत प्राणीका साथै पृथ्वीको स्वास्थ्यसमेत बिग्रिँदै गएकाले भावी सन्ततिको अस्तित्व नै संकटमा पर्न सक्ने बताएका छन् ।

बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले जीवन र जगत् जोगाइराख्न पर्यावरणीय कृषिको विकल्प नरहेको बताउनुभयो । व्यावसायिक कृषिका नाममा रासायनिक मल र विषादी आयातले देशको अर्थतन्त्र र नागरिक दुवैको स्वास्थ्य बिगारिरहेको उहाँको भनाइ थियो । प्रांगारिक कृषिका लागि नीतिगत सुधार, लगानी विस्तार र सचेतनामा जोड दिनुपर्ने पनि उहाँले बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियन्ता डा. कृष्णप्रसाद पौडेलले व्यावसायिक कृषिका नाममा परम्परागत पर्यावरणमैत्री खेतीपातीलाई ध्वस्त पार्ने काम भइरहेको बताउनुभयो । व्यावसायिकीकरण आधुनिकीकरणका नाममा पछिल्लो समय कृषिमा कर्पोरेट हाउसहरूको प्रवेशले साना किसान, रैथाने खाद्यान्न बालीहरू विस्थापित हुने क्रम सुरु भएकोे र खाद्यान्न निर्यातसमेत बढिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता बस्ताकोटीलगायत कृषि क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । भौतिक र भर्चुअल रूपमा आयोजित कार्यक्रममा करिब सयजनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?