छिमेकी मुलुकसँग जायज कुरा राख्न नसक्ने सरकार र सत्ताको अर्थ छैन : ओली

‘मुलुकको नेतृत्व गर्नेहरूमा राष्ट्रिय हितभन्दा सत्तास्वार्थ प्रधान भयो’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग कुनै पनि प्रकारको तनाव नचाहेको बताउनुभएको छ । एमालेको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले)को धारणा’ विषयक विचार गोष्ठी ओलीले नेपालले छिमेकीहरूसँग तनाव नखोज्ने र नझेल्ने बताउनुभयो । तर, छिमेकीबाट त्यस्तो व्यवहार भएको भन्दै ओलीले असन्तुष्टि जनाउनुभयो । ‘हामीले हाम्रा छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले, स्पष्ट ढंगले हाम्रा न्यायोचित हितहरूको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नु पर्दछ । कुराकानी गरेर संवादको माध्यामबाट समस्या समाधान गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो देशले कुनै तनाव खोज्नै सक्दैन, झेल्नै सक्दैन । हामीले कहिल्यै भारतलाई, एकपटक पनि नाकाबन्दी गरेका छौँ र ? एकपटक पनि गरेका छैनौँ । चीनलाई हामीले नाकाबन्दी गरेका छौँ ? तर, भारतले त हामीलाई पटक–पटक गरेको छ ।’

नेपालको उत्तर र दक्षिणमा दुई ठूला छिमेको भएको र उनीहरूसँग ऐतिहासिक सम्बन्ध रहेको पनि ओलीको भनाइ थियो । दुवै छिमेकी सामान्यतयाः असल रहेको पनि उहाँको टिप्पणी थियो । मित्रराष्ट्रहरू भए पनि छिमेकमा भएपछि समस्या पैदा हुनसक्ने उहाँले बताउनुभयो ।

‘सिमानाको समस्या गैरछिमेकीहरूसँग कहाँबाट हुन्छ ? अर्जेन्टिना, चिली वा जापानसँग हाम्रो कहाँको सीमासँग सम्बन्धित समस्या हुनु ? सीमा समस्या हाम्रो हुन्छ भने दुई छिमेकी देशसँग मात्रै हुनसक्छ, भारत र चीन । किनभने यिनीहरूसँग मात्रै सीमा जोडिएको छ । यिनीहरूसँग मात्रै हुँदाखेरी यो समस्या हुनसक्छ । नहुँदा नहुने कुरा हो,’ उहाँले भन्नुभयो, हामीले हाम्रा छिमेकीहरूलाई खुलस्त कुरा गरेर, हामीले हाम्रा छिमेकी मित्र भन्दछौँ, छिमेकी मित्र हुन् । एक त छिमेकी, जो बदल्न, सार्न सकिँदैन । अर्को, मित्र । अनि, मित्रसँग हामी बोल्न सक्दैनौँ । आफ्नो मर्का राख्न सक्दैनौँ । आफ्नो जायज हित बोल्न सक्दैनौँ भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने डेलिगेसनमा जानुको के अर्थ भयो ? किन जाने डेलिगेसन, यदि कुरै गर्न सकिँदैन भने ।’

त्यस्तै, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गर्नुभयो । नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफनो भारत भ्रमणमा धेरै कमजोरी देखाएको आरोप लगाउनुभयो । इपिजी प्रतिवेदन र नेपालको भूमिबारेसमेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्ने ओलीको भनाइ थियो । राष्ट्रको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने ओलीको भनाइ थियो । सरकारले मनपरी गर्दै गएमा राष्ट्रिय सहमति नहुने र तर राष्ट्रिय हितका प्रस्ताव आएमा एमालेले पनि समर्थन गर्ने ओलीको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?