सतबाँझको स्याउ बजारमा

बजारमा पठाउन तयारी अवस्थामा राखीएको स्याउ । तस्वीरः डम्बर बोहरा/हिटा

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । स्याउ उत्पादनका लागि प्रख्यात बैतडीको सतबाँझमा उत्पादन भएको स्याउ धेरै बर्षपछि बजारमा आएको छ । सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र झन्डै ७ बर्षपछि विक्रि गर्नका लागि स्याउ उत्पादन भएको हो ।

कम हिउँ पर्न थालेपछि उत्पादन हुन छोडेको स्याउ ६/७ वर्षपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताउनुभयो । सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रि गरेको उहाँले बताउनुभयो ।

‘सतबाँझ स्याउ उत्पादनका लागी प्रख्यात क्षेत्र हो तर पछिल्लो समय जलवायु परिवर्तनले उत्पादन हुन छाडेको थियो । हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको हो’ खड्काले भन्नुभयो ।

केन्द्रको नर्सरीभित्र रोयल, गोल्डेन डेलिसियस र गाला पुजी जातका गरी एक हजार तीन सय बोट छन् । ती मध्ये एक सय ५५ बोटले उत्पादन दिन थालिसकेको खड्काले बताउनुभयो ।

जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताउनुभयो । अब बारीमा एक क्विन्टलजति स्याउ टिप्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

‘सुख्खा फलफुल विकास केन्द्रको नर्सरीमा रोयल, गोल्डेन डेलिसियस जातको स्याउले उत्पादन दिन थालिसकेको छ । अन्य किसानहरुले पनि यो जातको स्याउ लगाउँदा हुन्छ । मौसम सुहाउँदो छ’ भट्टले भन्नुभयो ।

लामो समयपछि सतबाँझको स्याउ बजारमा आएकाले स्थानीयहरु समेत खुसी भएका छन् । सतबाँझमा फलेको स्याउ लामो समयपछि बजारमा आएको स्थानीय मानबहादुर टेरले बताउनुभयो ।

रोयल, गोल्डेन डेलिसियस जातको स्याउ समुद्री सतहबाट पन्ध्र सय मिटर देखी तीन हजार मिटर सम्मको उचाईंमा यो खेती गर्न सकिने प्राविधिक साहयक खड्काले बताउनुभयो । बोट परिपक्क हुदैँ गएपछि उत्पादन पनि राम्रो दिने उहाँको भनाइ छ ।

सुख्खा फलफूल विकास केन्द्र समुद्री सतहदेखी करिब दुई हजार मिटरको उचाईमा रहेको छ । जलवायु परिवर्तनका कारणले केही वर्ष यता कम हिउँ पर्नथालेपछि यहाँका स्थानीयहरुले सतबाँझमा उत्पादन भएको स्याउ खान पाएका थिएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?