बैतडीमा सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगिता हुने

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीमा सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ बैतडीको आयोजनामा जेठ ३ गते देखि खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।

नेपाल खेलकुद महासंघले आयोजना गर्न लागेको उक्त प्रतियोगीतामा जिल्लाका १० ओटै स्थानियतहका खेलाडी बिच महिला र पुरुष तर्फ छुट्टाछुट्टै प्रतिस्प्रर्धा हुने बताइएको छ । प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाट गरिने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो । महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगितामा उचित पुरस्कारकोसमेत व्यवस्था गरिएको छ ।

प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ राखिएको छ । यस्तै द्वितिय पुरस्कार ५५ हजार ५ सय ५५ , तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र शान्त्वना पुरस्कार ३३ हजार ३ सय ३३ राखिएको महासंघका जिल्ला कमिटी अध्यक्ष चन्दले बताउनुभयाे । यस्तै अनुशासित टिमलाई ११ हजार १ सय ११, उत्कृष्ट खेलाडीलाई ७हजार ७ सय ७७, बेष्ट स्पाइकर, बेष्ट सटर, बेस्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सरबर,उदयमान खेलाडी, सिनियर खेलाडीलाई ३ हजार ३ सय ३३ पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसैगरि उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट व्यवस्थापकलाई ५ हजार ५ सय ५५ पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितासंगै पर्यटन महोत्सवकोसमेत आयोजना गरिने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा वरिष्ठ गायक तिलकसिंह पेला, महेश कुमार औजी, अन्तराम बिष्ट, शेरी औजी, भानुभक्त जोशीलगायतका कलाकारहरुलाई आमन्त्रण गरिने महासंघका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताउनुभयो ।

करिब एक सातासम्म संचालन हुने उक्त कार्यक्रम अवधिभर जिल्लामा भलिवलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारहरुलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दीरको खेल मैदानमा सम्पन्न हुने प्रतियोगीताले खेलाडीहरुमा उत्साह जगाउनुका साथै नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागि हुने टिमले बैशाख २५ गते भित्र टिम दर्ता गराइ सक्नु पर्ने छ । टिम दर्ता शुल्क ३ हजार राखिएको छ ।

प्रतियोगिता निङ्गलाशैनी खेलमैदानमा सञ्चालन हुने नेपाल खेलकुद महासंघ बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?