पहिरो पीडितलाई सरकारले सहयोग गरोस्

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

अहिले बर्खाको बेला छ । बर्खायाम भएका कारण पानी परिरहेको छ, यो प्रकृतिको नियम हो । नेपालमा जेठको अन्तिमदेखि सुरु भएको मनसुन सक्रिय भएको दुई महिना भएको छ । मनसुन सक्रिय रहने समयावधि अझै डेढ महिना बाँकी छ । यसको अर्थ यस वर्षको मनसुनको आधाआधि समय भइरहेको छ । प्रकृतिको पनि आफ्नै नियम हुन्छ, प्रकृति नियममा चल्छ । ऋतु परिवर्तन गर्नु, हिउँद-बर्खाको समय चक्र चलाउनु, मौसमी फलपूmल, अन्न, सागपात अन्य वनस्पिति उमार्नु फलाउनु/फुलाउनु जस्ता कार्य प्रकृतिको चक्र सँगसँगै चलिरहन्छन् । यसलाई कसैले रोक्न सक्दैन र परिवर्तन गर्न सक्दैन । बर्खामा पानी पर्नु प्रकृतिको नियम हो ।

यसलाई रोक्न सक्दैनौं तर सावधानीले यसबाट जोगिन, बँच्न र क्षति न्यूनीकरण गर्न भने सकिन्छ । नेपालमा बर्खाको सुरुवातसँगै केही मानवीय क्षति भयो र अन्य भौतिक क्षति पनि भयो । फेरि बीचमा केही मानवीय र भौतिक क्षतिसमेत हुनपुग्यो । हालका दिनमा पानी परिरहेको छ तर बाढीपहिरोबाट क्षतिका घटनाहरू कमै सुनिएका छन् । तर, जहाँ भए पनि यस्ता दुःखद् घटना भएको अप्रिय समाचार सुन्नुपरिरहेको छ । यही सन्दर्भमा भारतको उत्तराखण्डमा ठूलो पहिरोमा परेर नेपालका धेरै मानिस बेपत्ता भएको समाचारले हामीलाई दुःखी बनाएको छ । सामान्यतया यस्ता घटनामा बेपत्ता भएको भनिएका मानिस सकुशल भेटिएका घटना कमै हुन्छन् ।

उक्त पहिरोमा बेपत्ता भए भनिएका नेपालीहरू जो जति छन् ती अब सकुशल भेटिएलान् भन्ने सम्भावना रहँदैन । जो होस्, जहाँ होस् नेपालीहरूको दुःखद् अवसानको समाचार हाम्रा लागि दुःखद् बन्छ नै । मानवीय संवेदनाका आधारमा सोच्ने हो भने त मानवेत्तर प्राणीहरूको समेत यस्तो दुःखद् अन्त्य हुँदा मानिसको संवेदना छट्पटाउँछ । अन्य प्राणीबाहेक मानिस जुन देशको भए पनि जुन महादेशको भए पनि तिनको अकाल मृत्यु भयो भन्ने समाचार सुन्दा हामी भावुक बन्छौं भने हाम्रै आफ्नै देशका नागरिकहरू जो यही देशमा होस् वा अन्य देशमा यसरी भएको अकाल मृत्यु ज्यादै दुःखदायी बन्छ ।

हालै भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर मृत्यु वरण गर्ने वा बेपत्ता हुने नेपालीहरूको संख्या धेरै छ । उनीहरू प्रायः सबैजसो जुम्लाका थिए । आफ्नो घरको गरिबीले केही आर्जन गर्ने र आर्जन गरेको पैसाले घरपरिवारको आवश्यकता पूरा गर्ने सपना लिएर उनीहरू त्यहाँ गएका थिए । ती सबैजना त्यहाँ सानातिना काम गर्थे । कोही होटल व्यवसाय, कोही अन्य काम गर्थे । पहिरोमा परेर एकै घरका सातजनाको निधन भएको छ । त्यहीका अन्य व्यक्तिहरूले पनि सो घटनामा ज्यान गुमाएका छन् । सो घटनाले जुम्लाको पातारासी-३ चौरगाउँका धेरै जना बेपत्ता भएका कारण त्यो गाउँ शोकाकुल बन्नु स्वाभाविक हो ।

त्यही गाउँका अर्को वडाका केही मानिस त्यही पहिरोमा परेका छन् । यसले गर्दा नेपालीहरू दुखित बन्न पुगेका छौं । सरकारले आफूले गर्नुपर्ने जिम्मेवारीको सुरुवात गरेको पाइएका कारण सरकारलाई अन्य सुझाव दिइरहनु औपचारिक मात्र ठहरिएला । परराष्ट्र मन्त्रालयले भारतीय पक्षसँग सो पहिरोमा परेका नेपालीहरूको यथाशीघ्र खोजी र उद्धारका लागि आग्रह गरेको छ । त्यहाँबाट टोली पठाइसकिएको जानकारी पाइएको छ । यसबाट दुवै पक्षले यसमा तदारुकता अपनाइएको पाइयो । त्यसका लागि दुवैतिरका सम्बद्ध पक्ष धन्यवादका पात्र त छँदैछन् । यसका साथै त्यहाँ गएका ती नेपालीहरू घरको आर्थिक दुरावस्थाले त्यहाँ गएका हुन् भन्नेतर्फ सरकारले सोच्नुपर्ने हुन्छ ।

ती शोकाकुल परिवारजनसँग तिनको संस्कार र काजक्रिया गर्न पैसा नहुन सक्छ । संघीय सरकारले त्यहाँको स्थानीय निकायलाई निर्देशन दिएर ती परिवारलाई केही आर्थिक सहयोग दिने हो भने तिनले आफ्नो प्रियजनको अन्तिम संस्कार र काजक्रिया गर्न पाउने थिए । त्यहाँको दुर्गम स्थानको स्थानीय निकायसँग तिनलाई सहयोग गर्ने पैसा नभए संघीय सरकारले नै केही व्यवस्था गरेर स्थानीय निकायका माध्यमबाट तिनलाई हस्तान्तरण गर्न सके उनीहरूको चह¥याइरहेको घाउमा मलम लाग्न सक्ने थियो । सरकारले विदेशी सरकारलाई खोजी र उद्दारका लागि आग्रह गरिसकेको अवस्थामा आफ्नै देशको तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसतर्फ ध्यान पुर्‍याउनु आवश्यक छ । साथै आन्तरिक रूपमा बर्खाभरि जाोखिमपूर्ण ठाउँहरूमा बसोवास गर्न र आउजाउमा समेत रोक लगाउन आवश्यक निर्देशन अपेक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?