पुनः डेंगुको महामारी

हिमालय टाइम्स
Read Time = 8 mins

गत दुई वर्ष आक्रामक भएको डेंगुको महामारीले आमनागरिकमा त्रास सिर्जना गरेको छ । एक महिनाकै अवधिमा यसबाट धेरै मानिसहरू सय होइन हजारको हाराहारीमा आक्रान्त भइरहेका छन् भने केहीको मृत्यु भइसकेको छ । एकथरी लामखुट्टेको टोकाइका कारण संक्रमित हुने र फैलिने डेंगुलाई फैलन नदिने प्रयासहरू जति भए पनि स्वयं नागरिकहरू सचेत र सक्रिय नभए यसको नियन्त्रण असम्भव हुनु निश्चित छ । त्यसकारण यसबाट बँच्न सबैभन्दा पहिलो कुरा त लामखुट्टेबाट जोगिनु नै हो । प्रत्येक कालावधिमा कुनै न कुनै रोगको संक्रमणको सान हुने गरेको इतिहास सिद्ध छ । तैपनि रोगका कारणहरू हुन्छन्, तिनको निदान गर्ने उपाय हुन्छन् र अवश्य निदान हुन्छ भन्ने विश्वास गर्नुपर्ने हुन्छ । तत्काल विगतलाई फर्केर हेर्ने हो भने हामीले हाम्रै समयमा देखेको र भोगेको सबैभन्दा ठूलो महामारी कोरोना हो । यसले विश्वलाई नराम्ररी प्रभावित बनायो । यो भर्खरैको महामारी भएको हुँदा त्यति पुरानो भएको छैन र अझै यो निमिट्यान्न भएको छैन । केही मानिस कोरोनाबाट अझैसम्म प्रभावित भइरहेकै छन् ।

तर, जब कोरोनाको खोप आविष्कार भयो तब हालका दिनहरूमा यसलाई ठूलो महामारी मान्न छोडिएको छ । लामो समयसम्म भएको लकडाउन पनि त्यसैबेलादेखि विस्तारै कम गर्दै लगेर हाल पूर्णरूपमा हटाइसकिएको छ । कोराना मत्थर हुँदै जानासाथ डेंगुको प्रभाव पनि त्यसरी नै फैलियो । डेंगु चाहिँ विश्वव्यापी बनेर होइन हाम्रो र हाम्रो छिमेकमा मात्र फैलिएको हो । डेंगुको मारमा यतिखेर नराम्ररी परेको बंगलादेश छ । हजारौं मानिसको मृत्यु भइसकेको र लाखको संख्यामा डेंगु संक्रमित भएको समाचार ढाकाबाट आइरहेको अवस्था छ । गत साल भर्खर कोरोनाको लकडाउन हट्दै गएका बेला डेंगु फैलनाले मानिसहरूमा पुनः अर्को पीडा थपिएको होे । डेंगुको संक्रमणका बेला कोरानाको जस्तो लकडाउन त भएन तर अवस्था केही संवेदनशील बन्दै गएको थियो । डेंगुबाट पनि धेरै मानिसको ज्यान गयो । कोरोनाबाट संक्रमित बनेका केही मानिसहरू डेंगुबाट पनि संक्रमित भए ।

त्यस्ता दुवैथरी संक्रमणको चपेटामा परेकाहरूको अनुभव सुन्दा कोरानाभन्दा डेंगुको प्रभाव अझै कष्टकर थियो भन्ने रहेको छ । हाल फेरि डेंगुले आफ्नो प्रभाव देखाएको छ । यसो भन्नुको आशय यसलाई सामान्य रूपमा लिनु हुँदैन भन्ने हो । यसबाट मानिसको ज्यान जाने गरेको छ भने यसलाई सामान्य रूपमा लिनुभनेको आगोसँग खेल्नु समान हो । मानव संसार हेर्ने हो भने कहिले कुनै देश र महादेशमा त कहिले कुनै अर्को देश महादेशमा रोगहरूको संक्रमण फैलिएको पाइन्छ । सोह्रौं, सत्रौं र अठारौं शताब्दी जुनबेला औषधि विज्ञानले राम्रो उन्नति गरेको थिएन त्यसबेला प्लेग बिफरलगायतका रोगहरू फैलिएर ठूलो संख्यामा मानवीय क्षति हुन पुगेको थियो ।

ठेउला, दादुरा, पानीस्वारा जस्ता रोगहरू त सामान्य नै भए । हैजा र औलो जस्ता रोगहरू एकताका ठूला महामारी मानिन्थे तर हाल ती रोगहरू निर्मूल नभए तापनि नियन्त्रणमा छन् । टिबी, तथा कुष्टरोगहरू पनि एकताका दुसाध्य महारोगका रूपमा मानिन्थे । ती पनि हालका दिनहरूमा त्यस्ता ठूला महारोग मानिँदैनन् । बिफर संसारबाट २०३४ सालदेखि उन्मूलन भएको घोषणा गरियो । त्यस पहिले जन्मिएका बिफरका संक्रमित मानिसहरूमध्ये भाग्यले बाँचेका केही मानिसहरूमा त्यस संक्रमणको दाग अझैसम्म देखिँदै छ । पोलियोलाई पनि उन्मूलन गर्ने प्रयास भइरहेको छ । केटाकेटीहरूलाई पोलियो थोपा खुवाउने अभियान तीव्र रूपमा जारी छ । यसैगरी दादुरा, रुबेला पनि खोपका माध्यमले उन्मूलन गर्ने प्रयास गरिँदैछ ।

तथापि जति-जति पुराना रोग, महामारी र संक्रमणहरू विभिन्न खालका औषधि आविष्कार गरी उन्मूलन गरिँदै लगिन्छ त्यति नै नयाँ–नयाँ रोग देखा पर्दै जानेगरेका छन् । खानपान, हावापानीको फेरबदल, विभिन्न प्रकारका रासायनिक विषादीको प्रयोग आदि जस्ता कारणले नयाँ रोगको सिर्जना हुने गरेको छ । डेंगु पनि एउटा त्यस्तै रोग हो तर यो कसरी हुन्छ भन्ने कारण स्पष्ट भएको संक्रमण हो । डेंगु लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । त्यसकारण यसबाट बँच्न लामखुट्टेबाट बँच्नुपर्ने हुन्छ । लामखुट्टेबाट औलो वा मलेरिया पनि हुन्छ । पहिले-पहिले नेपालको तराई क्षेत्र यसबाट आक्रान्त हुन्थ्यो तर अहिले भने मानिसहरूको संख्या अधिक भएका कारण औलो कम हुँदै गएको छ ।

यसवर्ष हालसम्मको तथ्यांक अनुसार नेपालमा ७३३ जनामा डेंगु संक्रमण पाइएको छ भने सातजनाको चाहिँ यसबाट निधन भइसकेको छ । यो खतरनाक हुन्छ । माथि नै भनियो कोरोनाभन्दा बढी पीडादायी र कष्टकर हुने रहेछ भनेर दुवै संक्रमण भोगेकाहरूले भन्ने गरेका छन् । यसैकारण नागरिक सँगसँगै सात सय त्रिपन्न स्थानीय सरकार, सातैवटा प्रदेश सरकार आ-आफ्नो तहबाट यसको नियन्त्रणको प्रयास गर्नु नितान्त जरुरी छ । संघीय सरकारले समेत आवश्यक सूचना दिने, नागरिक सचेतता निम्ति आवश्यक जानकारी प्रदान गर्ने र सञ्चारमाध्यमहरूमार्फत व्यापक रूपमा जनचेतना फैलाउनुपर्दछ । यसलाई एक प्रकारले राष्ट्रिय विपत्ति जस्तै ठानेर नियन्त्रण गर्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ भन्ने बिर्सनु हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?