इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर संकटकाल घोषणा

Read Time = 3 mins

क्विटो । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि संकटकाल घोषणा गर्नुभएको छ । ‘राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ’, राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भन्नुभएको छ ।

दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिकगिरोहविरुद्ध अभियान चलाउँदै आउनुभका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको क्विटोमा भएको चुनावी ¥यालीमा गोली हानी हत्या गरिएको हो । उहाँको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका बेला उहाँको टाउकोमा तीन गोली प्रहार गरेको थियो ।

राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीबीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारमध्ये एक हुनुहुन्थ्यो । ल्याटिन अमेरिकामा अपेक्षाकृत सुरक्षित र स्थिर देशका रूपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा वृद्धि भएको छ । आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागूऔषध तस्करी बनेको छ ।

भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौ जना घाइते भएका छन् । क्विटोमा छापा मारेर हत्यामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचार नियन्त्रण र वातावरणीय विनाश कम गर्नुपर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आउनुभएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोलाई लागूऔषध तस्करी गर्ने एक गिरोहले हालै ज्यानमार्ने धम्की पनि दिएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?