अन्तर्राष्ट्रिय युवा दिवस : गाउँ छोडेर सहर र सहरबाट विदेश पलायन हुँदै युवा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ।

गाउँमा रोजगारीको सम्भावना नदेखेपछि जिल्लाका अधिकांश युवा सहर हुँदै विदेश पलायन हुने क्रम बढ्दो छ ।
गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न समस्याका कारण युवा बिदेसिने क्रम ह्वात्तै बढेको हो । युवा विदेशिन थालेपछि म्याग्दीका ग्रामीण बस्ती युवा विहीन भएका छन् । गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न बिदेसिनु परेको उनीहरुको भनाइ छ ।

मालिका गाउँपालिका ५ देविस्थानका प्रेमबहादुर बूढा आज (शनिवार) कतार उढ्दै हुनुहुन्छ । साहुसँग चर्को ब्याजमा ऋण काढेर कतार जान लाग्नु भएको हो । बिरामी आमाको हेरचाह गरी परिवारसँग बसेर कामगर्ने सोच बनाउनु भएका बेनी नगरपालिका-३ भकिम्लीका देवबहादुर घर्ती पनि युएई जानका लागि आज (शनिवार) घर छोडेर काठमाण्डौं हिड्नुभयो । साहुले ऋण पत्याएका युवा खाडी मुलुक तथा अन्य युवा भारतका विभिन्न सहर जाने क्रम बढ्दै गएको छ । यी उदाहरण जिल्लाका दुईगाउँको भए पनि यसले जिल्लाकै सबैजसो गाउँबस्तीको प्रतिनिधित्व गर्दछन् ।

गाउँमा युवा नहुँदा आपत् विपत्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको बेनी नगरपालिका-२ बगरफाँटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो “गाउँमा सानोतिनो काम अराउन युवा भेटिन्नन्, मर्दापर्दा त झनै सकस पर्छ,” उहाँले भन्नुभयो ।

म्याग्दीलाई लाहुरेहरुको जिल्ला भनेर पनि चिनिन्छ । बैंक तथा वित्तिय संस्थाहरुको तथ्याङ्क अनुसार यस जिल्लामा वार्षिक तीनअर्व भन्दा बढि विप्रेषण भित्रिने गर्दछ । युवा पुस्ता विदेश लाग्दा सामाजिक र सांस्कृतिक महत्वका चाडपर्व निरस हुँदै गएको स्थानीय बूढापाकाहरुको भनाइ छ । अचेल गाउँमा नाचगान गर्ने, बिहे बटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पुर्‍याइदिने र मर्दा घाट पु‍र्‍याउने मान्छेको अभाव हुन थालेको छ ।

युवा पुस्ता विदेश पलायन हुँदा खेतीपातीको काम निकै प्रभावित भएको छ । कृषि मजदुर नपाउँदा बाली लगाउन नपाएकाले धेरैजसो जग्गा बाँझो रहेको छ । विदेश पलायन रोक्न नसके चाँडै जिल्लाको लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने किसानको चिन्ता छ ।

स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुनथालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानीलिने संख्या म्याग्दीमा बढेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट बैदेशिक रोजगार, अध्ययन र विकसीत देशमा पारिवारीक बसाइँसराइका लागि राहदानी लिनेको संख्या बढेको तथ्याकंमा देखिन्छ ।

म्याग्दीमा कक्षा १२ सम्मको पढाई सकेपछि राहदानी लिएर विदेश जाने युवायुवति दिनप्रतिदिन बढ्न थालेको छन । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा नागरिकता भन्दा राहदानी बनाउने संख्या पछिल्लो समय बढी भेटिन्छन् । स्वदेशमा रोजगारीको अवसर नभएपछि युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य बनेका हुन् ।

गत आर्थिक बर्षमा जिल्ला प्रशासनबाट ६ हजार १८० जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।आर्थिक बर्ष २०७८/७९ मा कार्यालयबाट ४ हजार ७४ जनाले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले पछिल्ला बर्षमा राहदानी लिने संख्या बढेको बताउनुभयो । राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक ब्यक्तिको राहदानी बनाउने पनि छन् ।

अमेरिका, युरोप, अस्ट्रेलिया, जापान संगै खाडी मूलुकमा रोजगार, ब्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको संख्या बढेसंगै राहदानी बनाउनेहरुको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अध्ययनका लागि विदेश पलायन हुने अधिकाँश अध्ययनका लागि भन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । जिल्लामा राहदानी लिनेको संख्या बढेसंगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ ।

म्याग्दीमा युवा जमातको संख्या विदेशमा छन् । एक पुस्ताले विदेशमा कमाएको पैसा अर्को पुस्तालाई पठनपाठन र विदेश भूमीमा पठाउँनकै लागि खर्च गरेको देखिन्छ । विदेशमा आयआर्जन गरेको पुँजीउद्योग र रोजगारी हुने क्षेत्रमा लगानीकम छ भने जिल्ला बाहिर सेवा र सुविधाको उपभोगमा बढी खर्चिने गरेका छन् । विदेशमा धन कमाएपछि गाउँको पुरानो सम्पति छोड्ने क्रम बढेको छ । गाउँमा बृद्धबृद्धा र बालबालिका मात्र बढी छन् । स्थानीयतहले स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर रोजगार सिर्जना हुने उद्योग र कलकारखाना बनाउन नसक्दा सुरक्षित भविष्यको खोजीमा विकसीत मुलुकहरुमा युवायुवतीको पलायन हुनेक्रम बढेको छ ।

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा पनि युवाहरु विदेशिने क्रम बढेको सरोकारवालाहरुले बताएका छन् ।

सरकारले युवाविकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो। यस्तै पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’पनि स्थापना गरिएको छ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवादिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवादिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।

नेपालमा भने युवासँग कामगर्ने संघसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवादिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?