भन्सार कर्मचारीमाथि चलखेलको आशंका

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आमजनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारीलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री डा. महतले भन्नुभयो, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरूपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’

आयातकर्ता र करदातालाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उहाँको भनाइ थियो । मन्त्री महतले भन्नुभयो, ‘मैले धेरै भन्सार नाका भ्रमण गरँे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेको रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’

तथापि उहाँले राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि रहेकाले सबैलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्न नहुने बताउनुभयो । प्रविधिको उच्चतम उपयोगमा जोड दिँदै मन्त्री महतले भन्नुभयो, ‘वीरगञ्ज भन्सारमा ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौंदेखि त्यत्तिकै थन्क्याएर राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’ अझ इमानदार भएर काम गरियो भने शतप्रतिशत नै लक्ष्यमा पुग्न सकिने उहाँको भनाइ थियो ।

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढाउन लक्ष्यभन्दा बढी पनि भन्सार राजस्व उठाउन सकिने भन्दै उहाँले राजस्व जति बढाउन सकियो, त्यति नै राम्रो हुने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?