रेसुंगा नगरपालिकामा दलित महिला सञ्जाल गठन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मी जिल्लामा पहिलो पटक रेसुंगा नगरपालिकामा दलित महिला सञ्जाल गठन गरिएको छ । रेसुंगा नगरपालिकामा दलित समुदायबाट निर्वाचित महिला सदस्यहरुलाई संगठित गर्ने उद्देश्यले दलित महिला सञ्जाल गठन गरिएको हो । रेसुंगा नगरपालिकाको सभाहलमा रेसुंगा नगरपालिकाको १४ वटै वडाबाट निर्वाचित दलित महिला सदस्यहरुको उपस्थितिमा १५ सदस्य दलित महिला सञ्जाल गठन गरिएको छ ।

जसको अध्यक्षमा कार्यपालिका सदस्य सिता विश्वकर्मा, उपाध्यक्ष मन्जु परियार, सचिव जुना विश्वकर्मा, कोषाध्यक्ष पूर्णिमा पाध्यवती विश्वकर्मा रहनुभएको छ । यस्तै सदस्यहरुमा शोभा नेपाली, फुलमती विश्वकर्मा, लक्ष्मी विश्वकर्मा, रिता सुनार, पुष्पा विश्वकर्मा, रिता चुँदारा, सावित्रा विश्वकर्मा, पुतली सुनार, धनकला दर्जी, निमकला दर्जी र सरिता परियार रहनुभएको छ ।

उपप्रमुख अमृतादेवी कुँवरको अध्यक्षता तथा दलित महिला संघ (फेडो) गुल्मीका अध्यक्ष कमला बरालको प्रमुख आतिथ्यतामा सञ्जाल गठन गरिएको हो । त्यस अवसरमा उपप्रमुख कुँवरले दलित समुदायको उत्थान र सहयोगका लागि आफु सदैव प्रतिवद्ध रहेको बताउनुभयो । कुनै बेला दलित समुदायको घरमा गएर खाना पकाएर खाएको स्मरण गर्दै उपप्रमुख कुँवरले सामाजिक सचेतनाको अभावमा मानसिक रुपमा रहँदै आएको जातीय विभेद र छुवाछुतको व्यवहारिक अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो ।

दलित महिला संघ फेडोकी अध्यक्ष कमला बरालले यो अभियान रेसुंगा नगरपालिकाबाट सुरु गरिएकाले जिल्लाभर पुर्‍याउने उद्देश्य रहेको बताउनुभयो । जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकाहरुमा पनि दलित समुदायबाट निर्वाचित सदस्यहरुको दलित महिला सञ्जाल गठन गर्ने उद्देश्य रहेको पनि बताउनुभयो । ‘समाजमा अझै पनि एउटा तप्का मानव भएर बाँच्न पाइरहेको छैन् । जुन समुदायबाट प्रतिनिधि भएर दलित महिला निर्वाचित हुनुभएको छ । दलितका खास मुद्धाहरुमा अझै पनि बहस गर्न क्षमताको अभाव जस्तो देखिन्छ ।’ बरालले भन्नुभयो,- ‘अभियानका माध्यमबाट महिला दलित जनप्रतिधिहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकार तथा क्षमता विकासका लागि तालिम सञ्चालन गर्नेछौं । यसैका लागि हामीले अभियान नै सञ्चालन गरेका छौं ।’

दलित महिला सञ्जालका अध्यक्ष सिता विश्वकर्माले अझै पनि समाजमा प्रत्यक्ष भन्दा अप्रत्यक्ष रुपमा जातीय विभेद र छुवाछुत रहेको बताउनुभयो । पहिलेको तुलनामा केही चेतना र अहिलेको आवश्यकताले जातीय छुवाछुत केही-केही स्थानहरुमा कमी हुँदै गएको देखिए पनि पूर्ण रुपमा अन्त्यका लागि अझै लाग्नुपर्ने देखिएको बताउनुभयो । ‘जातीय विभेद र छुवाछुत समाजको विकासको बाधक पनि हो । विभेदकै कारण समाजमा नयाँ, नयाँ समस्याहरु पनि देखिएका छन् ।’ विश्वकर्माले भन्नुभयो,- ‘हामी रेसुंगा नगरपालिकालाई छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि निरन्तर लाग्नेछौं । नगरप्रमुख र उपप्रमुख पनि नगरलाई छुवाछुत मुक्त बनाउने सन्दर्भमा सकरात्मक हुनुहुन्छ ।’

विश्वकर्माले जिल्लाभरी रहेका दलित महिला जनप्रतिनिधिहरु संगठित भएर समाजमा रहेको जातीय विभेदको समस्या समाधानका लागि लाग्नुपर्ने बताउनुभयो । दलित महिला जनप्रतिधिले पनि कतिपय स्थानमा विभेद सहनु परेकाले मानव भएर बाँच्नका लागि संगठित भएर समाज रुपान्तरणका लागि लाग्नुको विकल्प नभएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?