बोक्सीको आरोपमा कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक घटनाको प्रतिवेदन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका-३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । पिपरा टोलकी ३२ वर्षीया काजल दासलाई ३५ वर्षीय श्रीमान् विनोद दास र ३४ वर्षीया सौता शिलादेवी दासले बोक्सीको आरोपमा कुटपिट गरेको, झुक्याएर सम्बन्ध विच्छेद र गाउँ छाडी जाने तमसुकमा सही छाप गराएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

पीडित काजल दासलाई पति विनोद, सौता शिलादेवी र सासू सुमित्रादेवीले धनुषा जिल्ला मुखियापट्टी मुसहनिया गाउँपालिका–४ स्थित फेछा गाउँमा हनुमान मन्दिरमा बस्ने धामीझाँक्री दिनेश यादवकोमा २०८० असार महिनाको पहिलो हप्ता लगि भूत हटाउन भन्दै १० दिन राखेको प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा काजल दासलाई राति-राति मसानघाटमा लगी दुई दिन परेवाको बलि र एकदिन कुभिण्डोको बलि दिन लगाई धामीझाँक्री यादवले बोक्सी ठिक गरेको भनी घर पठाएको र घरमा लगी कुटपिट र यातना दिएको इन्सेकको प्रतिवेदनमा भनिएको छ ।

पीडितले इन्सेक मधेश प्रदेशमा न्यायका लागि पहल गरिदिनु हुन अनुरोध गरेपछि इन्सेक र ओरेकलगायत संस्थाका प्रतिनिधिहरूको पहलमा साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रतिवेदनमा उल्लेख छ । घटनामा संलग्न भनिएका पीडितका श्रीमान् र सौतालाई प्रहरीले पक्राउ गरी कानूनको दायरामा ल्याइएता पनि अर्का आरोपित दिनेश यादव (धामीझाँक्री) विरुद्ध पीडित पक्षले किटानी उजुरी दिए पनि हालसम्म फरार रहेको भनिएकाले तत्काल पक्राउ गरी कानुनको दायरमा ल्याउन प्रतिवेदनमार्फत माग गरिएको छ ।

टोलीमा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन वरुण बस्याल, ओरेक महोत्तरी संयोजक विना सिंह, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह, सञ्चारकर्मी रञ्जन भण्डारी र मानव पुनःस्थापना केन्द्रकी अध्यक्ष लीला दियालीको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?