प्राधिकरणको नयाँ नियम विरुद्ध हुम्लाबासी आन्दोलित

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 8 mins

सिमकोट । दुर्गम नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेबाट हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिनको साढे १२ बजेपछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका सम्पुर्ण नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियम विरुद्ध बुधबार विहान हुम्लाका स्थानीय, नागरीक समाज, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, पत्रकार महासंघलगायतले सिमकोट विमानस्थलमा धर्ना दिनुका साथै एक घण्टा आन्दोलन गरेका छन् ।

हुम्ली जनता मार्न पाइदैन भन्दै चर्को स्वरमा नाराबाजीसहित धर्नासँगै यहाँका नागरीकले आन्दोलन गरेका हुन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको हुम्लीको आरोप छ । जसका कारण हुम्लाका नागरिकहरू प्रत्यक्षमा मारमा परेको हुम्ला होटेल व्यवसायी संघ जिल्ला अध्यक्ष मिम लामाले बताउनुभयो ।

प्राधिकरणको नियमका कारण हवाइजहाज र हेलिकोप्टरले हुम्लामा उडान नभर्दा ४ बालबालिकाको मृत्युसमेत भएको संघका अध्यक्ष लामाकाे आरोप छ । अस्पतालमा उपचार हुन नसकेपछि रिफर भएका उनीहरूको उपचार नपाएरै मृत्युवरण गर्न पुगेको भन्दै हुम्लीहरु आक्रोशितसमेत बनेका छन् । प्राधिकरणले आफ्नो निर्णय फिर्ता नलिए शान्तिपूर्ण आन्दोलनले उग्रहरुप लिन सक्ने लामाको भनाई छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाजले भएकाले यहाँका नागरिक मारमा परेको लामाले बताउनुभयो ।

प्राधिकरणले साढे १२ बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा लगाएको नयाँ निमय विरुद्ध आफु आन्दोलित भएको नागरिक समाज हुम्लाका अध्यक्ष गणेश महतले बताउनुभयो । आज पहिलो दिन धर्ना दिने कार्यक्रम भएपनि प्राधिकरण निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्ने देखि कडा आन्दोलनमा उत्रिने समाजका अध्यक्ष महतले बताउनुभयो ।

ठाउँ, भुगोल सुहाउँदो निर्णय गर्नु पर्ने हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताउनुभयो । प्राधिकरणले आफ्नो निर्णय फिर्ता लिनुपर्ने भुगोल अनुसार नयाँ नियम ल्याउनु पर्ने तामाङले बताउनुभयो ।

हिमाली जिल्लावासीका लागि नियम पहिले भएपनि अहिले लागुभएको कार्यक्रमले हुम्ली मारमा परेको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनुभयो । हुम्ली जनताको आवतजावतमा सहजता ल्याउनका लागि दवावमुलक शान्तिपूर्ण आन्दोलन हुम्ला मात्रै नभएर कर्णालीका अन्य जिल्लाहरुले पनि गर्नु पर्ने महासंघ हुम्लाका अध्यक्ष रावतले बताउनुभयो ।

प्राधिकरणको यो नियमले कयौं जनताले ज्यान गुमाउनु परेको खार्पुनाथ गाउँपालिका पूर्व उपाध्यक्ष तथा नेकपा एमाले हुम्ला पार्टी नेता रुपा शाहीले बताउनुभयो । प्राधिकरणको नयाँ नियमले हुम्ली जनताहरुले आफुले बाच्न पाउने अधिकारबाट समेत बन्चित भएको शाहीले बताउनुभयो । शाहीले भन्नुभयो,“हुम्लीको लागि यही एक मात्रै यातायातको साधन जहाज हो तर प्राधिकरण एकलौटी गरेको निर्णय यहाँका नागरीकको ज्यान गरिएको हो ।”

नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडान समेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्युभएको छ, भने खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीको सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्व अध्यक्ष पदम बहादुर लामा तथा नेपाली कांग्रेस जिल्ला पार्टी नेता पदम बहादुर लामाले बताउनुभयो । सडकले नछोएको एक मात्रै जिल्ला हुम्लामा प्राधिकरणको यो नियम फिर्ता नभएसम्म धर्ना तथा अन्य आन्दोलनका कार्यक्रम अगाडी बढाउँदै जाने लामाले बताउनुभयो ।

साउन महिनाभरी हुम्लासहित देशभरको मौसम खराब हुनुका साथै जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ ।

विमानस्थल पुग्दै फर्किंदै गर्नु सेवाग्राहीको दिनचर्या जस्तै बनेको छ । यही चपेटामा परेर हुम्लाका चार बालकले ज्यान गुमाउनु परेको हो । हुम्लाको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका-७, डाँडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ-१ लालीका १७ महिनाका बालक आर्यन परियार र चंखेली-४ का ५ महिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

जिल्ला अस्पतालबाट रिफर गरिएका ती शिशुले सुविधा सम्पन्न अस्पतालको उपचार खोज्दै जिल्ला अस्पतालको बेडमै ज्यान गुमाएका हुन् । दुर्गम जिल्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

विहानको समय हुम्लामा पानी पर्नुका साथै बाक्लो बादल लाग्ने पछि ११,१२ बजेपछि मौसम सुधार हुँदै जाने भएपनि प्राधिकरणको नयाँ नियमका कारण उडान प्रभावित हुँदै आएको छ । यो लागु हुनु भन्दा पहिला नेपालगञ्ज, सुर्खेतबाट निजी एयरलाइन्सले पाँच बजेसम्म आफ्नो नियमीत फ्लाइट गर्दै आएका थिए ।

शान्तीपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए यो भन्दा तथा चर्को आन्दोलनका कार्यक्रम गर्ने बताइएको छ । यस्तै आन्दोलन तथा धर्ना कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी उपाध्यक्ष कैशाल भण्डारी, नेकपा एमाले जिल्ला पार्टी सचिव तिर्थराज बोहरा, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाल, अन्य स्थानीय, सञ्चारकर्मी लगायत यो कार्यक्रममा सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?