उपप्रमुख महतोको बिरोधमा उत्रिए नगरपालिका कर्मचारी

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उपप्रमुख रेनुकुमारी महतोको बिरोध गर्दै उनीहरूले कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् । उपप्रमुख महतोले राजस्व शाखाका नायवसुब्बा दीपेन्द्र यादवलाई सोमबार कार्यकक्षमै दुव्र्यवहार गरेको कर्मचारीको आरोप छ । घटनाको छानबिनको माग गर्दै कर्मचारीले विरोधको कार्यक्रम जारी राखेका छन् ।

उपमेयरविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित हातमा कालोपट्टी बाँधेर कर्मचारी धर्नामा बसेका कारण १२ वटै वडाको सेवाप्रवाह प्रभावित भएको सेवाग्राहीको भनाइ छ । नगर कर्मचारी आन्दोलनमा उत्रिएपछि घटना दर्ता, विभिन्न सिफारिस, जग्गा किनबेच, सामाजिक सुरक्षा भत्ताजस्ता काम अवरुद्धको गुनासो सेवाग्राहीले गरेका छन् । घटनालगत्तै नगर कर्मचारीले सोमबार अपराह्न विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको निन्दा र दोषीमाथि कारबाही नभएसम्म अनिश्चितकालिन विरोधको कार्यक्रम जारी रहने जनाएका छन् ।

आन्दोलनरत कर्मचारीले सुरक्षा प्रत्याभूति, घटना छानबिन तथा उपप्रमुखमाथि कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका छन् । प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि उक्त ज्ञापनपत्र जिल्ला प्रहरीमा पठाइएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताउनुभयो । उपप्रमुख महतोले भने आरोप कपोलकल्पित, नियोजित र दुराशयपूर्ण रहेको भन्दै आरोपको खण्डन गरिरहनुभएको छ । उपमेयरले बजार ठेक्का र अनलाइन प्रक्रियाबाट लगाएको ठेक्कासम्बन्धी कागजात माग गरेको र नदिएपछि आफूमाथि दुव्र्यवहार भएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?