सुदूरपश्चिमका जिल्लाहरूमा ओल्के पर्वकाे राैनक

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । आज भाद्र संक्रान्तीका दिन सुदूरपश्चिमका जिल्लाहरूमा ओल्के पर्व धुमधामका साथ मनाइँदैछ ।

श्रावण शुक्ल पक्षको द्वितिया तिथिमा परेको ओल्के पर्व अर्थात आफन्तलाई ओल्को अर्थात सौगात उपहार वा कोसेली दिने र खानपिन गरि वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा ओल्के पर्व मनाइन्छ ।

आफूभन्दा ठूलावडा, मान्यजन वा जेष्ठ नागिरकलाई सम्मान स्वरुम गाभा अर्थात कर्कलाको भित्री पात (गावा), फलफूल, मीठो मसिनो आदि दिनु खानु, हातमा मेहन्दी लगाउनु ओल्के पर्वका भिन्नै विशेषता हुनुका साथै वर्षका चाडपर्वहरु शुरु हुने हुँदा यस पर्वलाई सुदूरपश्चिमबासीले जेठो पर्वका रुपमा पनि लिने गर्छन ।

आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर रमाईलो गर्दै कुनै स्थानमा बिहान त कुनै स्थानमा बेलुका रुखका हाँगा तथा झ्यांग काटेर एकठाउँमा थुपार्दै लिंगो जस्तो बनाई बुढी बाडने र असोज १ गतेका दिन बुढी अर्थात भगवान श्रीकृष्णले राक्षसी पुतनालाई बध गरेको खुशीयालीमा विजय उत्सवका रुपमा मनाइने र दहन गर्ने चलन रहेको छ ।

डोटेली भाषा शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउँने भएकाले यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै संस्कृति, परम्परा र आस्थाको प्रतीकका रुपमा ओल्के संक्रान्तिका नामले सुदूर पश्चिममा धुुमधामसंग मनाइन्छ ।

वर्षायामका प्राकृतिक तथा स्वास्थ्य प्रकोपबाछ मुक्त भएको खुशीमा बन्ढुनी बाड्दै ओल्के पर्व मनाईन्छ भने बुढी पोले पछि अनिष्ट टारिने जनविश्वास सुदूर पश्चिममा रहिआएको छ ।

हरियालीले पाखा पर्वत ढाक्दै प्रकृतिको रुपरंग फेरिने, खोला नाला सुसाउने, कामको चटारोले कसैलाई फुर्सत हुँदैन तैपनि “साउनकी काली रात” का डरलाग्दा किस्साहरूलगायत समय सान्दर्भिक र कथागाथा सुनाउँदै एकै ठाउँमा बुढापाकाहरु भेलाहुने अर्तिउपदेश दिने, गाएँसमाजको एकताका कुरा गर्ने जस्ता परम्परा लोप भए पनि गाउँगर्खामा बन्ढुनी हाल्ने र ओल्के संक्रान्ति मनाउने संस्कृति सुदूरपश्चिममा जीवन्त रहिआएको छ ।

प्रदेशका जनताको मौलिक पर्व भएकाले सुदूरपश्चिम प्रदेश सरकारले आज ओल्के पर्वको सार्बजनिक विदा पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?