कविता : छानविन समिति ?

Read Time = 2 mins

✍️ ताराबहादुर बुढाथोकी

मदन आश्रित
त्रिशूलीला झरे
छानविन समिति
गठन गरे
हत्या नै हो भने
तर हत्यारा
गुमनाम भयो
समितिका सदस्य
अलमलमा परे
तीस वर्ष लाग्यो
खोइ त ?
यस्ता मुलङ्खरे ।
–––––––
सेनाको
सुरक्षा घेराभित्र
राजाको
वंशनाश गरे
छानविन समितिको
प्रचार छरे
समितिले
ट्र्याट्याट्या गर्‍यो
२१ वर्ष भयो
मर्ने त मर्‍यो मर्‍यो
हत्यारा
कता डेरा सर्‍यो ?
छानविन समिति
फेरि
औचित्यहीन ठहर्‍यो ।
–––––
निर्मलाको
बलात्कार भयो
हत्यापछि
हत्यारा फरार भयो
छानविन समिति बन्यो
पत्ता लागेन
फेरि एकपल्ट
छानविन समिति
डुकुलण्ठ्याङ् करार भयो ।
सुन समातियो
पित्तल भयो
खोजविन समिति बनाएपछि
सुन मालिकलाई
शीतल भयो ।
हरेक पल्ट
नीतिगत अपराध हुन्छ
समिति बन्छ
के भन्छ के बन्छ
अपराधी उम्कन्छ ।
–––––
अहिले
काण्डै
काण्डको
फायल खुल्दैछ
संसद्भित्र
छानविन समितिको
काउछो फुल्दैछ ।
छानविनको नाममा
गतिरोध हुल्दैछ
बिचौलियाका नाइके
समितिमा राखेर
भागबण्डा मागेर
तैँ चुप मै चुप गर्नलाई
सबै काण्ड
गुपचुप गर्नलाई
ठाउँ खोज्दैछ
मदनको
वीरेन्द्रको
निर्मलाको हत्यारा झैँ
सुनको
जग्गाको
कमिसनको
मतियारा
उम्किने दाउ खोज्दैछ
बस्तीमा
अगुल्टाले
हानेको कुकुर
बिजुली चम्किंदा
तर्सनु
अस्वाभाविक हो र !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?