खेलकुद र पर्यटन विकासमा बगरफाँटका युवा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । शनिवार (आज) बिहान म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची,बेल्चा,कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा क्लवका युवाहरु पर्यटकीय क्षेत्रहरुको सरसफाइ गर्न र परिचय वोर्ड राख्न भेला भएका थिए ।

खेलकुद मार्फत गाउँ र जिल्लाको पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने अभियानमा लागेका छन् ।

पहिलो चरणमा पर्यटकीय स्थल कोप्रे झरना,उडाइनो छहरा र घुमाउने चौतारीको सरसफाइ गरी परिचय बोर्ड राख्ने काम शनिवार बिहान सम्पन्न गरिएको बगरफाँट रिभर साइड युवा क्लवका सचिव सचिन कार्कीले जानकारी दिनुभयो ।

सचिव कार्कीका अनुसार प्रशस्तै प्राकृतिक र पर्यटकीय सम्भावनाहरु रहेको बगरफाँट गाउँलाई पर्यटन मार्फत नै संसारभरी चिनाउने अभियानमा बगरफाँट रिभरसाइड युवा क्लव लागेको छ ।

यहाँ पानी उड्ने उडाइनो छहरा ,आन्तरिक पर्यटकहरुले खचाखच हुने कोप्रे झरना, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टान माथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर,शिवाल,गुफा लगाएतका पर्यटकीय स्थलहरु रहेका छन् । प्रचार प्रसार,मर्मत सम्हार र संरक्षणको अभावमा वत्ति मुनिको अध्याँरो जस्तै बनेका यी सम्पदाहरुको संरक्षण,मर्मत सम्हार र प्रचारप्रसार गरी गाउँमा आन्तरिक मात्रै नभइ बाह्य पर्यटकहरु भित्राउने उद्धेश्य रहेको बगरफाँट रिभर साइड युवा क्लवका अध्यक्ष सुनिल थापाले बताउनुभयो ।

“पुछारमा नागबेली पर्दै म्याग्दी खोला कलकल गरी बगिरहेको छ,सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा,आप्रे छहरा र कोप्रे झरना छन्” अध्यक्ष थापाले भन्नुभयो “बिचको समथर भागमा टम्मै मिलेको वस्ती सहितको बगरफाँट गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटकहरु मख्खै पर्ने गर्दछन् ।”

बगरफाँट गाउँ पर्या पर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । यहाँ गरिएको केरा खेती र तरकारी खेतीले गाउँको सौन्दर्य अझै बढाएको छ । बाहिरबाट आएका मानिसहरुको मुखबाट ‘आहा बगरफाँट !’ भन्ने शब्द फुत्त निस्कने गरेको स्थानीय समाजसेवी क्या.मीनबहादुर कार्कीले बताउनुभयो ।

बगरफाँट गाउँ घुम्न र यहाँका पर्यटकीय स्थलहरुमा रमाउन टाढाटाढाका मानिसहरु समेत आउन थालेका स्थानीयले बताएका छन् ।
स्थानीय समाजसेवी नारायण कार्कीको अगुवाइमा बगरफाँटको पलाँसे क्षेत्र माथिल्लो पट्टीको विशाल चटनको थुम्कोमा निर्माण गरिएको दुर्गा भगवती मन्दिर, मन्दिरसम्म पुग्नका लागि बनाइएको आकर्षक सिँडी सहितको पक्की बाटो र मन्दिरको तल्लो भागमा अलग अलग थान बनाइ राखिएका विभिन्न देवी देवताका मुर्तिहरुले गाउँको सौन्दर्यलाई बढाउनुको साथै पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा समेत परिचित हुँदै गएको स्थानीय युवा तथा बगरफाँट रिभरसाइड क्लवका पूर्व अध्यक्ष तथा हालका सल्लाहाकार इन्द्रबहादुर जिसीले बताउनुभयो ।

बगरफाँटको पर्यटन विकासका लागि युवाहरुले दोस्रो चरणमा आकर्षक बगैंचा निर्माण र पिकनिक स्पोट (बनभोज स्थल) बनाउनका लागि तयारी शुरु गरेका छन् । त्यसका लागि आवश्यक बजेट नगरपालिकाबाट प्राप्त भएमा आफूहरुलाई निकै सहज हुने बताउँदै सचिब कार्कीले भन्नुभयो “बजेट पाएनौं भने पनि काम रोक्दैनौ,देश विदेशमा रहनुभएका यहाँका युवा साथीहरुलाई सहयोग मागेर भए पनि काम गरिछाड्छौं ।”
म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाहरूले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने काम गरेकोमा पछिल्लो समय पर्यटन विकासतर्फ पनि लागेको देख्दा आफूलाई निकै खुसी लागेको र उनीहरुलाई प्रोत्साहित गर्न आफूले सक्दो सहयोग गर्ने बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

युवाहरूकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्बाइको विशाल खेलमैदान निर्माण भएको छ । करिब २५ लाख रुपैयाँको लागतमा निर्माण भएको सो खेलमैदानमा गत चैत २८ गतेदेखि चार दिनसम्म एक लाख रुपैयाँ पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको थियो ।

बगरफाँट खेलाडीहरूको गाउँ पनि हो । यहाँका युवाहरू जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हँुदै आएका छन् । गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको बगरफाँट रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै एक लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको थियो ।

त्यसैगरी अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पोखरा र पोखराबाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभरसाइड बगरफाँट युवा क्लब प्रथम हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । विभिन्न २४ टिम सहभागी उक्त प्रतियोगितामा दोस्रो भएको क्लबले ५० हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेको थियो ।

बगरफाँटका युवाहरू संगठित भई खेलकुद,पर्यटन विकासका साथै अन्य सामाजिक र जनचेतनामूलक कामहरूमा लागेका छन् । यहाँका युवाहरूले कोरोना कालमा घर–घरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायतका सामग्रीहरू वितरण गर्नेदेखि लिएर अस्पतालसम्म लगेर उपचार गराएर ल्याउने समेत गरेको स्थानीयले बताएका छन् ।

समाजमा कुनै अप्रिय घटना घट्दा होओस् वा कसैलाई सहयोगको आवश्यकता पर्दा, विवाह व्रतबन्धजस्ता मांगलिक कार्यहरू गर्दा होओस् वा दैवीविपत्ति र प्राकृतिक प्रकोपजस्ता घटनाहरू आइपर्दा यहाँका युवाहरूले नै अगुवाइ गर्ने गरेको स्थानीय पाका व्यक्तिहरूको भनाइ रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?