✍️ तिलकप्रसाद लुइँटेल
यज्जाग्रतो दूरमुदैतिदैवन्तदुसुप्तस्यतथैवैति ।
दूरङ्गमञ्ज्योतिषाञ्ज्योतिरेकन्तन्मेमनःशिवसङ्कल्पमस्तु ।१.५।
जागा हुँदा जसरी धेरै परसम्म पुग्छ सुप्त अवस्थामा उसरी नै नजिक हुन्छ । ज्योतिको ज्योति, एकमात्र मेरो त्यो टाढासम्म जान सक्ने मन शुभ सङ्कल्प भएको होस् ।
अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको पाँचौं मन्त्र यही हो । यजुर्वेद संहिताको ३४औं अध्यायको एकौं मन्त्र पनि यही हो । वेदमा यस मन्त्रका ऋषि शिवसंकल्प हुन् भन्ने छ । यी मन्त्रको साक्षात्कार गरेपछि कुनै ऋषिको नाम नै शिवसंकल्प भएको पनि हुन सक्छ र यहाँ त्यही नाम उल्लेख भएको पनि हुन सक्छ । अथवा ऋषिको नाम नै त्यही थियो र आफ्नै नाम अनुसारको भावना मन्त्रमा प्रकट भएको पनि हुन सक्छ । यहाँ ६ वटा मन्त्रका अन्तमा शिवसंकल्पमस्तु नै छ । जे जसो भए पनि उनै शिवसंकल्प ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिन्छ ।
यस मन्त्रका देवता मन हुन् भनिएको छ । यहाँ विचार गर्दा ऋषि वा मानिसको स्थान असल संकल्पकर्ता र उसको असल मन देवता भन्ने स्पष्ट हुन्छ । यस मन्त्रको छन्द विराट् त्रिष्टुप् हो । त्रिष्टुप् छन्दलाई तीन ताप शमन गर्ने मानिएको छ । त्रिष्टुप् छन्दमा ११ अक्षरका दरले ४ पङ्क्ति हुन्छन् र जम्मा ४४ अक्षर हुन्छन् । एक अक्षर कम भएर ४३ अक्षर मात्रै भएमा त्यसलाई निचृत् त्रिष्टुप् भनिन्छ । त्यसैगरी एक अक्षर बढी भएर ४५ अक्षर पुगेमा त्यो भुरिक् त्रिष्टुप् हुन्छ । दुई अक्षर बढी भए भने त्यसलाई स्वराट् त्रिष्टुप् भनिन्छ । यस मन्त्रमा दुई अक्षर कम भएर ४२ अक्षर छन्, त्यसैले यसको नाम विराट् त्रिष्टुप् रहेको छ । अक्षर र पद संख्याका आधारमा त्रिष्टुप्का अरू पनि भेद छन् । आवश्यक भएका अवस्थामा चर्चा गरिनेछ ।
शरीरका जाग्रत र सुषुप्ति दुई अवस्था देखिए । जाग्रत, स्वप्न र सुषुप्ति भनेर लेखिएको पनि पाइन्छ । निद्रा, तन्द्रा र जागा पनि भनेको भेटिन्छ । निदाउनु वा बिउँझनुभन्दा पहिले कानले सुनिरहन्छ तर आँखा भने लठ्ठ भएर नउघ्रिएको अवस्थामा हामी हुन्छौँ ।
मन्त्रले असल संकल्प हुने मानिस नै ऋषि हो र उसको मन देवता हुन्छ भन्ने संकेत गरेको त देखिन्छ नै साथै यहाँ मनको अध्ययन छ । मन्त्रमा जागा हुँदा मन धेरै परसम्म पुग्छ र सुप्त अवस्थामा नजिक हुन्छ भनिएको छ । मन त पर पुग्ने र नजिक आउने भइहाल्यो यसो हुँदा जागा हुने र सुषुप्त रहने को हो भनेर विचार गर्नुपर्ने अवस्था आउँछ । यो सुत्ने र उठ्ने पक्कै शरीर हुनुपर्छ । किनभने मन्त्रले नै ‘मेरो मन’ भनेर जानकारी दिएको छ । म र मेरो मन भन्ने जीवित मानिस नै हो भन्ने पनि प्रष्ट छ । जीवित मानिससँग शरीर हुन्छ नै । शरीर त पाञ्चभौतिक भयो, यसको विश्लेषण भिन्नै विषयले गर्छ ।
यहाँ शरीरका जाग्रत र सुषुप्ति दुई अवस्था देखिए । जाग्रत, स्वप्न र सुषुप्ति भनेर लेखिएको पनि पाइन्छ । निद्रा, तन्द्रा र जागा भनेको भेटिन्छ । म निदाएको थिएँ भन्न हामी सक्छौं । निदाउनु वा बिउँझनुभन्दा पहिले कानले सुनिरहन्छ तर आँखा भने लठ्ठ भएर नउघ्रिएको अवस्थामा हामी हुन्छौं । म बिउँझैँ छु भन्ने अवस्था पनि उसरी नै थाहा भएकै हो । निद्राका दृष्टिले तीन अवस्था शरीरका भएको हामी आफैंलाई थाहा छ । मन्त्रले ती तीन अवस्थामध्ये दुई अवस्थाको चर्चा गरेको छ ।
मन्त्रका अनुसार मनको यात्रा कि निद्रामा कि जागामा हुने रहेछ । जागामा मन धेरै पर पुग्छ कि निद्रामा भन्ने हामी आफैंले विचार गर्न सक्छौं । आआफूलाई जे लाग्छ, आफ्ना लागि जुन स्वीकारयोग्य हुन्छ त्यही सही तर मन गतिशील छ । शरीरको अवस्था सापेक्ष मनको गति हुन्छ भन्ने कुराको खोज वेदले गरेको रहेछ भन्ने कुरा यतिमा स्पष्ट भयो । ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः’ भनेर शास्त्रले मनलाई नै मानिसका बन्धन र मुक्तिको कारण बताएको छ । मानिस नै मनको बन्ध वा मुक्तिको कारण भनिएको छैन । यस मन्त्रमा ‘मनको म’ नभनेर ‘मेरो मन’ भनिएको छ । यसो हुँदा मानिस मनको आश्रय हो, मानिस मनको स्वामी हो र मानिसका लागि मनले काम गर्छ । मानिसले मनलाई आफ्ना नियन्त्रणमा राखेपछि नै उसले सुन्दर सङ्कल्प गर्न सक्छ र उसै अनुसार काम गर्न सक्छ भन्ने अर्थ देखिन्छ । मनका विषयमा यति मसिनो गरी विश्लेषण गरेर छोटो मन्त्र वा सूत्रवाक्यमा निष्कर्ष निकाल्न सक्नुले यस शिक्षाको सूक्ष निरीक्षणलाई संकेत गर्छ ।
यसभन्दा अघिल्लो मन्त्रमा रथीहरूले लगाम समातेर रथलाई सुमार्गमा अघि बढाएको चर्चा पनि आएको छ । यस अध्ययनलाई पुष्टि गर्दै वैदिक सिद्धान्तमा आधारित शास्त्रमा पनि यसको चर्चा छ । भगवद्गीतामा ‘इन्द्रियाणि हयानाहुः’ भन्दै त्यसै ठाउँमा मनलाई लगाम भनिएको छ । मानिस रथी हो भने लगाम उसको सहयोगी वा साधन हो । स्वामीका लागि सेवक उसको काम सिद्ध गर्ने साधन वा सहयोगी हो । वैज्ञानिकतामा आधारित शिक्षा भनिए पनि आजका शिक्षामा यति सघनता छ जस्तो लाग्दैन । वैज्ञानिक शिक्षा भएका समाजमा मनोविकृत र मनोविषाद धेरै मात्रामा रहनुले आज यस स्तरमा शिक्षा पुग्न नसकेको अनुमान गर्न सकिन्छ ।
ज्ञान, ध्यान, उन्नति, प्रगति, चेतना, कर्म सबै जीवित छँदाको अवस्थाका लागि हुन् । यसरी विचार गर्दा प्राचीन समयमा नै वेदमा मनको जसरी नै शरीरको अध्ययन पनि मनग्गे भएको अनुमान गर्न यसै मन्त्रमा आधार पाइन्छ ।
मन्त्रमा त्यसरी विचरण गर्ने मन को हो भन्ने पनि संकेत भएको छ । मन्त्रले मनलाई तारण गर्छ । तारण गर्नु भनेको तार्नु वा समाधान दिनु हो । जुन कथनले समस्याबाट वा शंकाबाट उतार्न सक्छ, जो कुनै समय र कुनै समाजमा पनि असफल हुँदैन त्यो शाश्वत सत्य हो । जुन शाश्वत सत्यता भएको कथन हो, त्यही मन्त्र हुन्छ । मन्त्रले कल्याणकारी संकल्पलाई प्रार्थना गरेको हुनाले संकल्पको उत्पत्ति पनि मनबाटै हुने रहेछ र भन्ने जति स्पष्ट देखियो उति नै मनको निर्माण ज्योतिहरूको संग्रहबाट हुने रहेछ भन्ने पनि भयो ।
मन्त्रमा नै ज्योति भनेपछि त्यो शाश्वत सत्य नै हो, अकाट्य हो । साथै मन्त्रमा ज्योतिहरूको ज्योति त्यही मन हो भनेर जानकारी भएपछि ती ज्योतिहरू के हुन् भन्ने विचार गर्नुपर्ने अवस्था आउँछ । माथि नै इन्द्रियहरू घोडा र मनलाई लगाम अथवा मनलाई सेवक शरीरलाई स्वामी भनिएको हुनाले, इन्द्रियहरूको समष्टि रुपबाटै शरीरको व्यवस्था हुनाले र शरीर भएपछि नै जीवित मानिसको अस्तित्व हुनाले ज्योति भनेका शरीरका तिनै इन्द्रियहरू हुन् भन्ने अनुमान गर्न सकिन्छ । किनभने ज्ञान, ध्यान, उन्नति, प्रगति, चेतना, कर्म सबै जीवित छँदाको अवस्थाका लागि हुन् । यसरी विचार गर्दा प्राचीन समयमा नै वेदमा मनको जसरी नै शरीरको अध्ययन पनि मनग्गे भएको अनुमान गर्न यसै मन्त्रमा आधार पाइन्छ ।
त्यसो त योग, ध्यान, व्यायाम आदि र सिंगै आयुर्वेद शिक्षा वेदबाट प्रतिपादित भएको छ । आयुर्वेदले केवल रोग र औषधि मात्रै खोज्ने होइन । त्यसको क्षेत्र अत्यन्त विस्तृत छ । ‘आयुस्’ शब्द जीवनको वाचक हो । त्यसैले शरीर, त्यसले ग्रहण गर्ने वायु, अन्नपानी, शरीरमा लाग्ने रोगव्याध, रोगव्याध लाग्ने अवस्था, रोगव्याधको औषधोपचार, रोग सञ्चो गर्न पालन गर्नुपर्ने नियम अनुशासन, औषधि सेवनको मात्रा, समय आदिको चर्चा पनि सविस्तार छ । त्यसका अतिरिक्त कुन रोगको पथ्य अपथ्य के हो र कति समयसम्म सेवन गर्ने भन्ने जस्ता कुरा छन् । शरीर विज्ञानमात्रै नभएर मनसँग शरीरको सम्बन्ध फेला पारेको हुनाले त्यो आयुर्वेद विज्ञान आज विश्वले खोजी गर्दै छ । अरु देशमा खोजी भएपछि मात्रै हाम्रो देशमा लहर आउँछ ।
त्यसो त आजको विज्ञानले शरीरका प्रायः सबै बाहिरी र भित्री पाटाहरूको अध्ययन गरेको छ । त्यसैले बिरामी हुँदा हाम्रा देशबाट पनि पुगिसरी आउनेले बिरामीलाई विदेशतिर कुदाउँछन् । ती विदेशीहरूले यस मन्त्रको मर्म जानेका थिए भने सायद उनीहरूका चिकित्सामा पनि मन पक्षको ख्याल हुन्थ्यो होला । सो नभएर डिप्रेसन सस्तै प्रचारमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच