केरुङ प्रवेश पास दिन चिनियाँ पक्ष सकारात्मक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले टिमुरेस्थित अध्यागमन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेको छ । रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमतिपत्रसम्बन्धी कार्यविधि २०७६ भदौ २५ गते मन्त्रिस्तरबाट स्वीकृत भएको थियो । तर, हालसम्म पनि ट्रक चालक तथा सहचालकले प्रवेशपत्र नपाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडलगायतका निकायले ध्यानाकर्षण गराउँदै आइरहेका थिए ।

महासंघ र संगठनका प्रतिनिधिहरूले असारयता लगातार अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसँग भेटेर समस्या सुल्झाउन आग्रह गर्दै आएका छन् । विभागले नेपालस्थित चिनियाँ दूतावासका सेकेण्ड सेक्रेटरीसँग छलफल गरेर चीनको कस्टम अथोरिटीसम्म विषयको ध्यानाकर्षण गराएको थियो । चीन यस विषयमा सकारात्मक देखिएपछि नाकामा पत्राचार गरिएको महानिर्देशक अधिकारीले बताउनुभयो ।

गृह मन्त्रालय अध्यागमन शाखाले जारी गरेको कार्यविधि २०७६ मा चार प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको छ । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमतिपत्र, कामदार प्रवेश अनुमतिपत्र, व्यवसायी प्रवेश अनुमतिपत्र, एकदिने प्रवेश अनुमतिपत्रको व्यवस्था भए पनि हालसम्म चालक, सहचालक तथा व्यवसायीले चीन प्रवेश अनुमतिपत्र पाएका छैनन् ।

कार्यविधि कार्यान्वयन नहुँदा छ सय ६६ ट्रक कन्टेनर चालकले काठमाडौंबाट एक सय ३२ किलोमिटर दूरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पु¥याएर चीन प्रवेश अनुमतिपत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दूरीमा रहेको केरुङ लैजान १५ हजार तिर्नुपर्ने अवस्था रहेको छ । चालकलाई पास व्यवस्था गर्न आग्रह गर्दै लकडाउनअघि र लकडाउनपछि संगठन तथा महासंघ र लिमिटेडतर्फबाट सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराएको थियो । अध्यागमन विभागबाट निस्कँदै मजदुर नेता भीमज्वाला राईले केही आशा पलाएको बताउनुभएको छ ।

महँगोमा अपरिचित व्यक्तिको जिम्मा लगाएर लाखौँका सवारीसाधन केरुङ पठाउनुपर्ने दिनको अन्त्य हुने आशा पलाएकोे नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताउनुभएको छ । निर्णयको कार्यान्वयनसँगै रसुवा र तातोपानी नाकाबाट सामान ढुवानी गर्ने करिब तीन हजार मजदुरले राहत पाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?