कोशीमा नयाँ रणनीति : सभा चलाउने मन्सुरीको मतले बहुमत पुर्‍याउने गठबन्धनको तयारी

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने हुनु भएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक एमाले र राप्रपाका सांसद बिदामा बसेपछि अध्यक्ष मण्डलमा रहनुभएका कांग्रेसका इस्राइल मन्सुरीले सञ्चालन गर्नुपर्ने भएको छ।

प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नुहुने छ। उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिनुभएको थियो ।

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसक्नुभएको छ भने वर्णानुक्रमअनुसार रहनभएका अम्बरबहादुर बिष्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिनुभएको थियो । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेख्नुभएको हो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बिदामा बसेपछि  गठबन्धनले नयाँ रणनीति बनाएको छ । मन्सुरीले सभा सञ्चालन गरेको अवस्थामा मुख्यमन्त्री थापालाई बहुमत जुट्दैन । तर, सत्तारुढ गठबन्धनले मन्सुरीले बैठकको अध्यक्षता पनि गर्नें र मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी थालेका छन् ।

अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा नभएपनि सत्ता गठबन्धनले यसो गर्न लागेको स्रोतले बतायो ।

प्रदेशसभामा सत्ता गठबन्धनसँग मन्सुरीसहितकाे  ४७ मत रहेको छ । जुन ९३ सदस्यीय कोशी प्रदेशसभाकाे बहुमत हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?