न्युजिल्याण्डले जित्यो युएईविरुद्धको सिरिज

Read Time = 3 mins

दुबई । न्युजिल्याण्डले युएईविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । तेस्रो तथा निर्णायक टी-२० आई खेलमा घरेलु टोली युएईलाई ३२ रनले हराउँदै न्युजिल्याण्डले तीन खेलको सिरिज दुई-एकले जितेको हो । जितका लागि १६७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३४ रनमात्रै बनाउन सक्यो । युएईका आयन खानले ३६ बलमा चार चौका र एक छक्कासहित ४२ रन बनाउनुभयो । यस्तै, बासिल हामिद २८ बलमा दुई चौका र एक छक्कासहित २४ रनमा अविजित रहनुभयो । ओपनर अर्यांश शर्मा १६, मोहम्मद वासिम आठ, वृत्य अरविन्द १२ र आसिफ खान ११ रनमा आउट हुनुभयो ।

न्युजिल्याण्डका तीव्र गतिका बलर बेन लिस्टरले चार ओभरमा ३५ रन खर्चेर तीन विकेट लिनुभयो । काइल जेमिसन, मिचेल सान्टनार र आदित्य अशोकले समान एक विकेट हात पार्नुभयो ।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।

न्युजिल्याण्डका विल योंगले ४६ बलमा सात चौका र एक छक्कासहित ५६ रन बनाउनुभयो । मार्क च्यापम्यान ३२ बलमा पाँच चौका र दुई छक्कासहित ५१ रनमा आउट हुनुभयो । तीन खेलमा १२९ रन बनाउनुभएका च्यापम्यान नै सिरिजका सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।

युएईका तीव्रगतिका बलर जुनैद सिद्दिकले चार ओभरमा २६ रन खर्चेर ३ विकेट लिनुभयो । मोहम्मद जवादुल्लाह र जहुर खानले समान एक विकेट हात पार्नुभयो । न्युजिल्याण्ड पहिलो खेलमा १९ रनले विजयी भएको थियो । दोस्रो खेलमा भने न्युजिल्याण्ड सात विकेटले पराजित हुँदै स्तब्ध भएको थियो । युएईले आफ्नो इतिहासमा पहिलोपटक न्युजिल्याण्डलाई हराएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?