केराखेतीमा पानामा रोगको नयाँ भेरियन्ट

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । केराखेतीमा पानामा रोगको नयाँ प्रजाति भेटिएको छ । जुन केरामा लाग्ने प्रमुख रोग हो । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान परिषद्ले नेपालको केराखेतीमा देखिएको पानामा रोगको नयाँ प्रजाति टिआर ४ बारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायको टोलीले सोसम्बन्धी सूचनाका आधारमा टीकापुरस्थित व्यावसायिक केराखेतीमा साउन १० गते स्थलगत अध्ययन अवलोकन गरेको थियो ।

त्यहाँका नौजना कृषकको केराखेतीमा करिब आठ हजार केराका बोटको अध्ययन गरिएकोमा परीक्षणका क्रममा उक्त रोग पुष्टि भएको केन्द्रले जनाएको छ । केरामा टिआर ४ रोग लागेमा सुरुमा पुराना पातको फेद पहँेलो हुने, क्रमिक रूपमा पातका किनारा पहेँलिने र पात सुकेर डाँठ भाँचिने क्रम सुरु हुने केन्द्रले जनाएको छ । त्यस्तै, केराको थाम ठाडो चिरेर भित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिने, जरा कालो हुने र सड्दै जाने कारण ओइलाउने रोग लगाउने ढुसी प्रवेश हुन्छ ।

केन्द्रका अनुसार पानामा रोग माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म संक्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सर्न सक्छ । साथै केरा ढुवानी गर्ने गाडीको टायर, मान्छेको जुत्ताचप्पलमा टाँसिएको माटोमार्फत् पनि सर्न सक्छ । संक्रमित माटो, पानी र औजार रोगका मुख्य स्रोत हुन् ।

टीकापुरका नौजना कृषकको केराखेतीमध्ये चारवटा खेतीमा चारदेखि ५० प्रतिशतसम्म बोटमा पानामा संक्रमण देखिएको केन्द्रले जनाएको छ । खासगरी भारतबाट आयातित जी ९ बिरुवामा रोगको प्रकोप बढी देखिएको बताइएको छ । त्यस्तै, चितवन र नवलपरासीबाट आयातित मालभोग केरामा पनि पानामा रोगको लक्षण देखिएको छ । कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले रोग प्रारम्भिक अवस्थामा रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले रोग नियन्त्रणका लागि सरकारले आवश्यक पहल सुरु गरिसकेको पनि बताउनुभयो । कार्यक्रममा कैलालीका संसाद र स्थानीय तहका जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?