स्तरोन्नतिको पर्खाइमा महेशपुर भन्सार कार्यालय

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । महेशपुर भन्सारले मूल भन्सार बनेको चार वर्ष बितिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । भन्सारको भौतिक पूर्वाधार विकास र प्लान्ट क्वारेन्टिन, विषादी परीक्षणका लागि प्रयोगशाला व्यवस्थापन नहुँदा भन्सारमा व्यापारीको चाप बढ्न नसकेको हो ।

व्यापारीले मालसामान ठूलो मात्रामा निकासी पैठारी गर्न खोज्दा सडक विस्तारदेखि पार्किङलगायतका पूर्वाधार अभावमा उक्त नाकाबाट कारोबार गर्न सकेका छैनन् । त्यस्तै, भन्सारमा प्लान्ट क्वारेन्टिनको व्यवस्थापन पनि नहुँदा फलफूल र तरकारी, चामल, चिनी, गहुँ, बरनजस्ता स–साना कारोबार गर्न पनि निकै झन्झट हुने गरेको व्यवसायीले गुनासो गर्ने गरेका छन् ।

२०७५ साउन १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मूल भन्सारका रूपमा घोषणा गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराजमन्त्री देवेन्द्रराज कँडेलका नेता कार्यकर्ताले आफ्ना नेता कँडेलको पहलबाट भएको भन्दै प्रचारबाजी गरेका थिए । त्यसैगरी पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका नेता कार्यकर्ताले पनि हृदयेश त्रिपाठीको पहलबाट भएको भन्दै प्रचारबाजी गरेका थिए भने नेकपा एमालेका लुम्बिनी प्रदेश सह–इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीका नेता कार्यकर्ताले पनि चौधरीको पहलबाट भएको प्रचारबाजी गरेका थिए । तर, हाल कसैले पनि यसको स्तरोन्नतिमा ध्यान दिएको देखिँदैन ।

यहाँ भन्सार कारोबार गर्न एक्जिम कोडको व्यवस्था छैन भने क्वारेन्टाइन, विषादी परीक्षण, गुणस्तर परीक्षणलगायतका कार्यका लागि भैरहवा भन्सार कार्यालयमै धाउनुपर्र्ने भएकाले व्यापारीले महेशपुर नाका प्रयोग गर्न छाडेका हुन् । विषादी परीक्षणका लागि भैरहवाको बेलहिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका प्रमुख बुद्धिराम चुडालले भारतबाट आयात हुने चिनी, चामल, तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्नुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ३६ किलोमिटर टाढा भैरहवा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँका अनुसार विषादी परीक्षणका लागि नमुना पठाए पनि रिपोर्ट आउन एक/दुर्ई दिनसम्म समय लाग्ने गरेको छ ।

चुडालले भन्नुभयो, ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ, न प्राविधिक नै छन्, रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ, छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।’

भैरहवा प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको व्यवसायीको गुनासो छ । कार्यालय प्रमुख चुडाल भन्नुहुन्छ, ‘परीक्षण गर्न टाढा पठाउनुपर्दा समय लाग्छ, त्यसैले सेवाग्राहीले गुनासो गर्ने गरेका छन्, रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक/दुर्ई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।’

भन्सार एजेन्ट मनिष निगम भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ, विषादी परीक्षण नगरी खाद्यान्न, भुस, चिनी र केही कस्मेटिक सामान आयात हुन दिनुहुँदैन ।

परीक्षणकै लागि नाकामा लामो समय चामल, मकै, भुस, गाडी रोकेर राख्नुपर्ने बाध्यता छ ।’ भन्सारलाई आवश्यक जग्गा अधिग्रहण, कर्मचारी दरबन्दी, बाटोघाटो, गोदाम, पार्किङ, भवन, पशु तथा प्लान्ट क्वारेन्टिन चेकपोष्ट निर्माणजस्ता मुख्य कार्यमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यापारीको चाप र कारोबार घट्दै गएको हो ।

भन्सारको ५.५ कठ्ठा जग्गा भए पनि हाल करिब दुई कठ्ठामा रहेको उक्त भन्सारलाई ठूलो क्षेत्रफल अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउन्टर क्वारेन्टाइनजस्ता महत्वपूर्ण कार्य जरुरी रहेको भन्सारका प्रमुख बुद्धिराम चुडाल बताउनुहुन्छ । भन्सार स्तरोन्नतिका लागि नेपाल सरकार तथा जिल्ला नेता, उद्योग वाणिज्य महासंघजस्ता उद्योगी संस्थाले नै ध्यान नदिँदा जस्ताको तस्तै अवस्था रहेको स्थानीय व्यापारीको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?