कमल थापाको ‘युटर्न’

‘अबको एजेण्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था अपरिहार्य भएको प्रतिवेदनसहित केन्द्रीय समितिमा आफ्नो राय राखेर पुरानै एजेण्डामा फर्किनुभएको छ । अभिभावक संस्था चाहिने स्पष्ट खुलाउनुभएका उहाँले केही समय पहिला राजसंस्थाको एजेण्डा त्याग गर्नुभएको थियो । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तिका लागि आन्दोलनमा जाने पनि घोषणा गर्नुभयो ।

उहाँले पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रूपमा प्रस्तुत गरेको जानकारी गराउनुभयो । अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरूले राजसंस्थासहितको प्र्जातन्त्रको कार्यनीतिलाई छोड्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही समयको निमित्त हामीले राजसंस्था पुनःस्थापनाको एजेण्डालाई छोडेका थियौँ । पार्टीको आन्तरिक मामिलामा पटक-पटक निर्मलनिवास र दरबारबाट हस्तक्षेप भएको कारणले गर्दा राजसंस्थाप्रति आस्था राख्दाराख्दै यसको पुनःस्थापनालाई कार्यनीति बनाएनौँ ।’

राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिएको उहाँको भनाइ थियो । यसका लागि आ-आफ्नो स्थानमा गएर संघर्षको मैदानमा उत्रिन कार्यकर्तालाई निर्देशन दिँदै उहाँले ६ महिनाभित्र आफूहरूको लक्ष्य प्राप्त हुने दाबी पनि गर्नुभयो ।

काठमाडौंसहित देशका विभिन्न भागमा सभाको आयोजना गर्ने भन्दै उहाँले यसलाई तेस्रो जनआन्दोलनमा रूपमा अगाडि बढाउने जिकिर गर्नुभयो । आन्दोलनमा सबैलाई सहभागी हुन उहाँको अपिल थियो । बेलैमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना नभएपछि पछुताउनुपर्ने भन्दै उहाँले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिनुभयो । राजसंस्था पुनःस्थापना गर्न आफूहरू सफल हुने र पार्टीको मूल एजेण्डा रहने भन्दै उहाँले यसका लागि आन्दोलन घोषणा गरिएको बताउनुभयो ।

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकै स्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारीपूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरूलाई आग्रह गर्नुभयो । निर्वाचनबाट निर्वाचित हुनेहरूले राष्ट्रलाई अभिभावकत्व दिन नसक्ने भएकाले पनि नेपालमा राजसंस्थाको विकल्प नभएको उहाँको जिकिर थियो ।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उहाँले राप्रपा परित्याग गर्दै राप्रपा नेपाललाई जीवित गराई अध्यक्ष बन्नुभएको थियो । त्यसबेला उहाँले आफूलाई पराजित गर्नका लागि दरबार सक्रिय भएको आरोप लगाउनुभएको थियो ।

राप्रपा महाधिवेशमा आफूले जित्ने आत्मविश्वासमा रहनुभएका उहाँले त्यसबेलासम्म राजसंस्थाको एजेण्डालाई छोड्नुभएको थिएन । तर, लिङ्देनले महाधिवेशनमा जित निकालेपछि भने आवेगका उहाँले दरबारलाई पराजयको दोष थोपर्नुभएको राप्रपाका केही नेताको भनाइ छ । ‘निर्मल निवासका कारण म पराजित भएको हो, राप्रपाभित्रको राजनीतिमा यसरी हस्तक्षेप गर्ने राजसंस्थाको औचित्य अब रहेको छैन’, थापाले त्यसबेला भन्नुभएको थियो ।

थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपिल गर्नुभएको छ थापाको यो ‘युटर्न’ फेरि राप्रपासँग एकीकरणका निम्ति एउटा प्रस्ताव हुनसक्ने राप्रपा नेपालका नेताको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?